Skip to content

मालपोतको स्रेस्ता कायम गराउने सूचना अव्यावहारिकः पोखरा उद्योग वाणिज्य संघ

nabil bank

गण्डकी । पोखरा उद्योग वाणिज्य संघले जग्गाको स्रेस्ता कायम गर्नका लागि भन्दै जिल्ला मालपोत कार्यालय कास्कीले बुधबार जारी गरेको सूचना अव्यवहारिक भएको भन्दै त्यसलाई सच्याउन आग्रह गरेको छ ।

सङ्घका अध्यक्ष गोकर्ण कार्कीको नेतृत्वको प्रतिनिधिमण्डलले आज मालपोत कार्यालय कास्कीका निमित्त प्रमुख शोभाखर पौडललाई ज्ञापनपत्र बुझाउँदै उक्त आग्रह गरेको हो । मालपोत कार्यालय कास्कीले जग्गाधनीले आफ्नो जग्गाको दर्ता स्रेस्ता पुनःकायम गर्नका लागि विभिन्न ११ प्रकारका कागजातसहित उपस्थितिका लागि सार्वजनिक सूचना जारी गरेको थियो ।

सूचनामा जग्गा रहेको स्थानीय तहबाट भोगसम्बन्धी किटानी सिफारिस, स्थायी ठेगाना भएको स्थानीय तहको जग्गाधनीको तीनपुस्ते खुलेको फोटो टाँससहितको किटानी सिफारिस, स्थलगत सर्जमिन मुचुल्का, नागरिकताको प्रमाणपत्र, जग्गाधनीसँग भएको सक्कल पुर्जा, पारित लिखत (जग्गा खरिद बिक्री वा बकसपत्र आदि) पेस गर्नुपर्ने जनाइएको छ ।

त्यस्तै जग्गा रोक्का भएमा रोक्का राख्ने निकायको सहमतिपत्र, चालु आर्थिक वर्षमा मालपोत बुझाएको रसिद, प्लष्ट रजिष्टर, फिल्डबुक र नक्सा, ३५ दिने सार्वजनिक सूचना र गुठी जग्गाको हकमा गुठी संस्थानको सहमतिपत्र पनि पेस गर्नुपर्ने सूचनामा उल्लेख छ ।

सूचनाले सर्वसाधारणमा त्रास सिर्जना भएको तथा उल्लेखित कागजात र प्रमाण माग्नु अव्यावहारिक भएको भन्दै सङ्घका अध्यक्ष कार्कीद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा सरोकारवालालाई झन्झटिलो तथा अव्यावहारिक देखिएको सो व्यवस्थाको सट्टा गलत व्यक्तिले दुरुपयोग गर्न नमिल्ने गरी न्यूनतम् आधिकारिक प्रमाणहरुको आधारमा श्रेस्ता कायम गर्न माग गरिएको छ ।

प्रतिनिधिमण्डले ज्ञापनपत्रको बोधार्थ कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई पनि हस्तान्तरण गरी सहजीकरणका लागि आग्रह गरिएको महासचिव शोभा गौतमले जानकारी दिए। जिल्ला मालपोत कार्यालय जलेको अवस्थामा रहेको भन्दै झण्डै तीन लाख सेवाग्राहीको लालपुर्जा तत्काल बनाउन सम्भवसमेत नरहेको उक्त क्रममा जानकारी गराइएको थियो ।

यसअघिको व्यवस्थाअनुरुप नै सूचना जारी भएको र लालपुर्जाको सक्कल प्रति हुनेको हकमा कुनै चिन्ता मान्नु नपर्ने र त्यो ३५ दिनभित्र नै कार्यालय आउनुपर्छ भन्ने पनि नरहेको निमित्त प्रमुख पौडेलले जानकारी गराए।

कार्यालयले आजै अर्को सूचना जारी गर्दै अहिले मालपोत कार्यालय कास्कीमा भौतिक पूर्वाधार जलेको अवस्थामा रहेको तथा तत्काल सेवा प्रवाह गर्ने अवस्था नरहेकाले अर्को सूचना जारी नभएसम्म सबै प्रकारका सेवा प्रदान गर्न नसकिने जानकारी गराएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi