Skip to content

पर्यटन गन्तव्य सम्भावना बोकेको तोरीले पहेँलपुर काभ्रेको काफ्लेथोक (तस्बिरहरू)

काठमाडौं । काभ्रेको नमोबुद्ध नगरपालिका–४ मा अवस्थित काफ्लेथोक गाउँ यतिबेला तोरी फुलेर पहेँलपुर भएको छ । बारीभरि फुलेको तोरीले गाउँ नै सुन्दर देखिएको छ ।बिपी राजमार्गअन्तर्गतको भकुण्डेबेंसी बजारबाट करिब २० मिनेटको पैदल यात्रामा पुगिने काफ्लेथोक प्राकृतिक शान्ति र ग्रामीण सौन्दर्य खोज्नेका लागि एक सम्भावनायुक्त रमणीय गन्तव्य हो। यहाँको हरियाली, खुला आकाश र टाढाबाट देखिने हिमाली दृश्यहरूले आगन्तुकको मन लोभ्याउँछ।

यहाँ करिब दुई दशक अघिदेखि तोरीखेती सुरु भएको हो। धेरै घरधुरीमा आफ्नै बारीमा फलेको तोरीबाट तेल निकालेर वर्षदिनसम्म परिवारको आवश्यकताको पूर्ति हुने गरेको छ। स्थानीयहरूको भनाइमा बजारको तेलभन्दा आफ्नै तोरीको स्वाद बेग्लै हुन्छ, अनि स्वास्थ्यका हिसाबले पनि भरपर्दो हुन्छ।

मकै, धान र गहुँ यहाँका प्रमुख खाद्यबाली हुन्। भदौको अन्त्यदेखि असोजको सुरुवातसम्म मकै भित्र्याएर त्यसपछि तोरी लगाउने चलन छ। यो गाउँ धार्मिक दृष्टिले पनि विशेष मानिन्छ। विगत ४५ वर्षदेखि अखण्ड हरेराम भजन गुञ्जिरहने एक मन्दिरले गाउँको आध्यात्मिक महत्त्व अझ सुदृढ बनाएको छ।

गाउँकै बीच भागमा रहेको यस मन्दिरमा बिहान र साँझ घन्किने भजन र संगीतले वातावरणमा शान्तिको अनुभूति गराउँछ। औँसी, पूर्णिमा र विविध पर्वहरूमा मन्दिरमा भक्तजनहरूको बाक्लो उपस्थिति देखिन्छ।

झन्डै १०० घरधुरी रहेको काफ्लेथोकमा ‘काफ्ले’ थरको बाहुल्यता छ। साथै, गैरापिप्ली, अर्याल, न्यौपाने, अधिकारी, गिरी, भुजेललगायतका थरका समुदायहरू पनि यहाँ सँगसँगै बसोबास गर्छन्। अधिकांश परिवार शाकाहारीहुन् र सरल, आध्यात्मिक जीवनशैलीमा रमाउने गर्छन्  ।

तस्बिरहरु : प्रल्हाद गैरापिप्ली/नेपाल फोटो लाइब्रेरी

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi