Skip to content

काठमाडौंका हरेक वर्गकिमीमा करिब एक बैंक शाखा, डिजिटल कारोबारले बढायो खर्च धान्ने चुनौती

nabil bank

काठमाडौं । काठमाडौं, ललितपुर र भक्तपुरमा गरी वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीको शाखा संख्या १ हजार ५ सय ७० छन् । काठमाडौं, ललितपुर र भक्तपुरको जनसंख्या भने २९ लाख ९४ हजार ३ सय ३४ जना रहेको छ । प्रतिशाखाले दिने सेवा १ हजार ९ सय ७ जनालाई दिने हो ।

नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार काठमाडौं जिल्लाको मात्रै जनसंख्या २० लाख १७ हजार १ सय १५ जना । बैंक तथा वित्तीय संंस्थानको शाखा संख्या १ हजार १ सय ३५ छ । बैंकको प्रतिशाखाले दिने सेवा १ हजार ७ सय ७७ जनालाई ।

भक्तपुरको जनसंख्या ४ लाख २५ हजार ३ सय ९२ जना । बैंक तथा वित्तीय संस्थाको शाखा १ सय ४९ छन् । बैंक तथा वित्तीय संस्थाको प्रतिशाखाले दिने सेवा २ हजार ८ सय ५४ जनालाई । ललितपुरको जनसंख्या ५ लाख ५१ हजार ८ सय २७ जना छ । बैंक तथा वित्तीय संख्याको शाखा संख्या २ सय ८६ छन् । प्रतिशाखाले १ हजार ९ सय २९ जनालाई सेवा दिन्छ ।

यता काठमाडौं जिल्लाको काठमाडौं महानगरपालिका भित्र मात्रैको जनसंख्या ८ लाख ७४ हजार २ सय ७६ जना छन् । बैंक तथा वित्तीय संस्थाको शाखा ८ सय १ छन् । प्रतिशाखाले १ हजार ९१ जनालाई औसतमा सेवा दिने गरेका छन् ।

काठमाडौं उपत्यकाको क्षेत्रफल ७२१ वर्ग किलोमिटर रहेको छ । बैंकको शाखा संख्या ०.९०० प्रतिवर्ग किलोमिटमा एक शाखा  छन् । नेपाल राष्ट्र बैंकका अनुसार २०८२ भदौ मसान्तसम्म मोबाइल बैैंकिङ प्रयोग गर्नेको संख्या २ करोड ८२ लाख ४० हजार १०६ रहेको छ । यो संख्या साउनमा २ करोड ७९ लाख ८८ हजार ७ सय ८ रहेको थियो । साउनको तुलनामा भदौमा यो संख्या बढेको छ । इन्टरनेट बैंकिङ प्रयोग गर्नेको संख्या २२ लाख ७८ हजार २ सय ६२ रहेको छ । साउनमा २२ लाख ५० हजार ७ सय ७२ रहेको थियो ।

भदौसम्म कनेक्ट आईपीएस प्रयोगकर्ताको संख्या १४ लाख ७२ हजार ३० रहेको छ । साउनमा १४ लाख ६० हजार ८ सय ४ रहेको थियो । यस्तै भदौसम्म ब्रान्चलेस बैंकिङ सेन्टर ८ सय ७ वटा रहेका छन् । साउनमा ८ सय १६ वटा रहेका थिए । एक महिनाको अवधिमा ९ वटा बन्द भएका छन् ।

नेपालमा केही वर्षयता डिजिटल बैंकिङलाई निकै प्राथमिकतामा राखिएको छ । नेपाल राष्ट्र बैंकका निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको समयदेखि डिलिटललाई झनै धेरै प्राथमिकता दिइएको थियो । त्यो अहिले बैंक तथा वित्तीय संख्या हुँदै किराना पसलसम्म पुगेको छ ।

नेपालमा केही वर्षयता नगद कारोबारभन्दा पनि डिजिटल कारोबार निकै बढ्दै गएको छ । डिजिटल कारोबार बढ्दै जाँदा बैंक तथा वित्तीय संस्थाले विशेषत सहरी क्षेत्रमा खोलेका ०.९०० प्रतिवर्ग किलोमिटरको दूरीमा खोलेको शाखा अब घटाउँदै जाने हो कि ? ठूला शाखाको आकार घटाउँदै जाने हो कि भन्ने बहस बैंक तथा वित्तीय क्षेत्रमा चर्चा सुरु भएको छ ।

एक समयमा उपत्यकामा च्याउसरी खुलेका बैंकको शाखा अहिले न कायमै राख्नु, न बन्द गर्नु जस्तै भएको छ । कतिपय बैंकले शाखा बन्द गर्ने विषयमा अनौपचारिक छलफल राष्ट्र बैंकसँग गर्न थालेका छन् ।पछिल्लो समय डिजिटल कारोबार बढ्दै गएपछि कतिपय बैंकलाई शाखाबाट हुने आयले खर्च धान्न मात्रै पुग्ने गरेको बैंकरहरुको भनाइ छ ।

पहिले दिनभरि भिडलाग्ने बैंकका शाखामा अहिले धेरै भिड देख्न पाइँदैन । सबै कारोबार डिजिटल भए पनि सेवाग्राहीले बैंकसम्म आउने समय बचाउन थालेको एक बैंकरले बताए ।

‘डिजिटल कारोबार बढेको थिएन भने अहिले भएका शाखा सञ्चालनमा कुनै समस्या हुने थिएन । अहिले प्रायः कारोबार डिजिटल हुने गरेको छ’ एक बैंकरले भने, ‘त्यसो हुँदा अब यति धेरै शाखा किन चाहियो । भएका ठूला शाखाको आकार किन नघटाउने भन्नेमा धेरै बैंक पुगेका छन् । शाखा तत्कालै बन्द गरिहाल्न मिल्दैन । त्यो शाखाबाट ऋणीले कर्जा लिएका हुन्छन् ।’

ती बैंकरका अनुुसार राष्ट्र बैंकले अनौपचारिक रूपमा कस्तो शाखा बन्द गर्न दिने वा आकार घटाउने भनेर अध्ययन तथा बैंकरसँग छलफल गरेको छ । अहिले शाखा खोल्न वा बन्द गर्न राष्ट्र बैंकको स्वीकृत लिनुपर्ने व्यवस्था रहेको छ । बैंकका शाखा बन्द गर्ने विषयमा नेपाल राष्ट्र बैंकले गठन गरेको बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलले सुझाव दिएको छ ।

बैंकिङ क्षेत्रको समग्र सुधार र सुदृढीकरणका लागि सुझाव पेस गर्न डा. रेवतबहादुर कार्की–संयोजक, भुवनकुमार दहाल–सदस्य र नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक–सदस्य सचिव रहने गरी गठन भएको कार्यदलले बैंकको शाखा बन्द गर्ने विषयमा सुझाव दिएको थियो । कार्यदलले शाखा खोल्न वा बन्द गर्न मापदण्ड बनाउन र मापदण्डमा राष्ट्र बैंकसम्म आइनपुग्ने गरी बैंकर्स संघसँग समन्वय गर्न सकिने व्यवस्था गर्न सुझाव दिएको थियो । यद्यपि यो प्रतिवेदन करिब ५ महिनासम्म राष्ट्र बैंकले सार्वजनिक गरेको छैन ।

राष्ट्र बैंकले त्यो सुझाव कार्यान्वयनमा ल्याउने हो भने र बैंकको शाखा क्रमैसँग बन्द हुँदै जाने हो, ठूला शाखा सानो बनाउँदै जाने हो भने त्यसको लाभ बैंकको नाफासम्म पुग्नेछ । बैंकले शाखा न्यूनतम कर्मचारी राखेर सञ्चालन गर्ने हो भने पनि ४ जना कर्मचारी चाहिन्छ । शाखा प्रमुख १ जना, टेलरमा १ जना, कस्टुमर केयर सेन्टरमा १ जना, अपरेसन इन्चार्ज १ जना न्यूनतम चाहिन्छ । यो भनेको सुुरक्षाकर्मी, कार्यालय सहयोगीबाहेक हो ।

मानौ बैंकको शाखा न्युरोडमा छ भने सरदर ३ लाख मासिक घर भाडा तिर्नुपर्छ । त्यस्तै शाखा ललितपुरको गोल्फुटारमा छ भने ५० हजार भाडाले पुग्छ । शाखा कुन ठाँउमा छ त्योअनुसार भाडा लाग्ने गर्छ । खर्च पनि त्यहीअनुसार छ । यो खर्च कम गर्न सके त्यसको प्रभाव बैैंकको नाफामा पर्ने ती बैंकरले बताए । अहिले बैंकको कर्जा प्रवाह निकै निकै खुम्चिएको छ । प्रवाहित कर्जाको साँवा ब्याज उठन सकेको छैन । बैंकको निष्कृय कर्जा बढिरहेको छ । बैंकको सञ्चालन खर्च घट्न सकेको छैन । बैंकको सञ्चालन गर्न घटाउन र त्यसको प्रभाव नाफामा देखिने भएका कारण पनि बैंकहरुले शाखाको आकार घटाउनु पर्ने बैंकरहरुको भनाइ छ । अहिले बैंकको निक्षेप संकलन तथा कर्जा प्रवाह पनि डिजिटलमा नै हुने गरेको छ ।

डिजिटल बैंकिङ कारोबार बढ्दै गएका कारण अब बैंकको शाखा घटाउने तर्फ लाग्नु उत्तम विकल्प हुने पूर्व बैंकर भुवन दहाल बताउँछन् । डिजिटल कारोबार बढेसँगै बैंकका काउन्टरमा सेवाग्राही घट्दै गएको उनको बुझाइ छ । ‘अहिले प्राय बैंकमा सेवाग्राहीको भौतिक उपस्थिति कम हुँदै गएको बैंकरहरुले बताउने गरेका छन्’ उनले भने, ‘उपत्यकामा शाखा भएका बैंकहरुको खर्च घटेको छैन । सेवाग्राहरु घटिरहनु भएको छ । यो अवस्थामा शाखाको आधार घटाउनेमा प्राय बैंकर देखिनु भएको छ ।’ यसले शाखामा हुने गरेको खर्च घट्ने र त्यसको प्रभाव नाफामा देखिने दहालको भनाइ छ ।

यस्तै दहालको पुस्तक ‘रिटायरमेण्ट एट फिप्टी’ मा ‘अन्य बैंकले शाखा विस्तार गरेको देखेर मलाई सानिमा बैंकका सहकर्मीहरुले तीव्र गतिमा शाखा विस्तार गर्न दबाब दिन थाले । त्यस्तैगरी, केही सञ्चालकहरूले निरन्तर चिन्ता व्यक्त गर्थे कि हामी पछि पर्छौँ कि भन्ने । यद्यपि म उनीहरूलाई सधैं भन्दथेँ– हाम्रो उपस्थिती देशका प्रमुख स्थानहरूमा पहिले नै छ । नयाँ शाखा ठाउँ छानेर खोल्नुपर्छ, उनीहरू मेरो जवाफबाट सन्तुष्ट थिएनन् । मैले सेयरधनी र कर्मचारीहरूलाई उत्कृष्ट प्रतिफल दिलाइरहेको थिएँ ।

पछिल्ला वर्षहरूमा प्रतिस्पर्धा तीव्र भइसकेको, साना सहरहरूमा पनि प्रतिस्पर्धा बढेको, सञ्चालन खर्च बढेको र ब्याजबाहेक आम्दानी घटेको कारणले अवस्था पूर्णतः बदलिएको छ । त्यसैले हाम्रो रणनीति कठोर हुन सक्दैन । कुनै क्षेत्रमा व्यापारिक सम्भावनाभन्दा बढी शाखाहरूको उपस्थितीले अस्वस्थ प्रतिस्पर्धा सिर्जना गर्छ । पहिले नै सञ्चालनमा रहेका शाखाहरूको नाफा घटाउँछ । तर जब व्यापारिक सम्भावना पर्याप्त हुन्छ, तब हामीले त्यहाँ प्रवेश गर्नुपर्छ,  किनभने सानिमा स्थापित बैंकहरूसँग प्रतिस्पर्धा गर्न निपूर्ण छ ।

अत्यधिक शाखा विस्तारले सञ्चालन जोखिम पनि बढाउँछ, किनकी यसले कर्मचारीको गुणस्तर, निगरानी जस्ता पक्षमा सम्झौता गर्न बाध्य बनाउँछ । हामीले सामाजिक वा नियामकीय कारणले शाखा खोल्नुपर्यो । त्यो पूर्ण रूपमा फरक विषय हो । दीर्घकालीन अस्तित्व र बजारमा राम्रो प्रतिष्ठाका लागि नियामक अनुपालन अत्यावश्यक छ । हाम्रो मन्त्र हो हामी अनुपालनमुखी बैंक हुनुपर्छ, यद्यपि छोटो अवधिमा त्यसको लागत पर्न सक्छ ।’

यता नेपाल राष्ट्र बैंकका प्रवक्ता किरण पण्डित बैंकका शाखाको आकार (ठूलोबाट सानो) बनाउन कुनै समस्या नहुने बताउँछन् । तर, शाखा बन्द गर्ने विषयमा अली ध्यान दिनुपर्ने बताउँछन् । शाखा बन्द गर्दा वित्तीय पहुँच कम हुने गरी भने गर्न नहुने उनको भनाइ छ ।

बैंकको कति शाखाले कति समयमा कतिलाई सेवा दिए भनेर हेर्नुपर्ने उनको भनाइ छ । शाखाको आकार घटाउन भने समस्या नहुने पण्डितले बताए । उनले यो विषयमा मापदण्ड नै बनाउने हो भने पनि वित्तीय पहुँचलाई हेर्न छुटाउन नहुने बताए ।

राष्ट्र बैंक स्रोतका अनुसार दुई बैंक मिलेर १ शाखा सञ्चालन गर्न सकिन्छ की भनेर छलफल पनि चलेको छ ।

यता राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा ‘विद्युतीय भुक्तानी प्रणाली सुदृढ हुँदै गएको सन्दर्भमा बैंक तथा वित्तीय संस्थाहरूको विद्यमान शाखा विस्तार नीति पुनरावलोकन गरिनेछ’ भनेको छ । यो विषयमा अध्यययन भइरहेको बताइएको छ ।

 

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi