काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको वैदेशिक हुलाक भन्सार शाखामा कार्यरत अधिकृतसहित तीन जनालाई घुस रकमसहित पक्राउ गरेको छ ।
आयोगले वैदेशिक हुलाक भन्सार शाखामा कार्यरत भन्सार अधिकृत ईन्द्र न्यौपाने, सोही कार्यालयका कार्यालय सहयोगी गणेश प्रसाद पुडासैनी र संचार तथा सूचना प्रविधि मन्त्रालय, हुलाक सेवा बिभाग गोश्वरा हुलाक कार्यालय, पार्सल (निकासी) शाखाका नायब सुब्बा छवि प्रसाद रिजाललाई पक्राउ गरेको हो ।
उनीहरुले विदेश पार्सल पठाउने क्रममा कर्मचारीहरूले सेवाग्राहीलाई दुःख दिने र रकम असुल्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
आयोगले वैदेशिक हुलाक भन्सार शाखामा कार्यरत भन्सार अधिकृत ईन्द्र न्यौपानेसमेत ३ जनालाई घुससहित पक्राउ गरेको हो । आयोगले उनीहरुसँगबाट २ लाख ६८ हजार २८८ नगद तथा बिभिन्न व्यक्तिहरुबाट २३ थान मोबाइल नियन्त्रणमा लिइएको जनाएको छ ।
आयोगका अनुसार पुडासैनीको कार्यकक्षबाट घुसबापत लिइसकेको १० हजार र स्रोत नखुलेको ४० हजार ३५० रुपैयाँका साथै थप ९६ हजार ७० रुपैयाँसहित १ लाख ४६ हजार ४२० रुपैयाँ बरामद गरिएको छ ।
नासु रिजालको साथबाट घुसबापतको २० हजार र स्रोत नखुलेको १८ हजार ८४८ सहित ३८ हजार ८४८ रुपैयाँ बरामद गरेको छ ।
अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार पक्राउ परेका तीनै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।












प्रतिक्रिया दिनुहोस्