काठमाडौं । एशियामा नेपालको शैक्षिक तथा नीतिगत संलग्नताका लागि एक महत्वपूर्ण क्षणका रूपमा, एशियन इन्स्टिच्युट अफ डिप्लोमेसी एन्ड इन्टरनेशनल अफेयर्स (आइडा) का संस्थापक तथा नेपाल–भारत उद्योग वाणिज्य महासंघ (निक्की)का अध्यक्ष सुनिल केसी जापानमा आयोजित प्रतिष्ठित आइडीइ–जेट्रोे गोष्ठीमा प्रस्तुति दिन निमन्त्रणा पाउने पहिलो नेपाली बनेका छन्। जापान एक्स्टर्नल ट्रेड अर्गनाइजेसनअन्तर्गतको इन्स्टिच्युट अफ डेभलपिङ इकोनोमीज (आइडीइ–जेट्रोे) द्वारा आयोजित उक्त गोष्ठी माघ २६ गते टोकियोमा सम्पन्न भएको थियो।
यस सहभागिताले आइडीइ–जेट्रोको अनुसन्धान तथा संवाद कार्यक्रमहरूमा नेपाललाई औपचारिक रूपमा समावेश गरिएको पहिलो अवसरसमेत जनाएको छ। यसले जापानी र नेपाली संस्थाहरूबीच दिगो शैक्षिक तथा नीतिगत सहकार्यका लागि ढोका पनि खोलेको छ। विकासोन्मुख अर्थतन्त्र र क्षेत्रीय सहकार्यसम्बन्धी अनुसन्धानका लागि आइडीइ–जेट्रो विश्वभर परिचित संस्था हो। गोष्ठीमा केसीले ‘बे अफ बंगाल अपडेट्सः क्षेत्रीय आर्थिक सहकार्य’ शीर्षकमा प्रस्तुति दिएका थिए। उनले विश्व शक्ति सन्तुलनमा भइरहेका परिवर्तनबीच बे अफ बंगाल क्षेत्रमा नेपालको विकसित हुँदै गएको रणनीतिक तथा आर्थिक भूमिकामाथि प्रकाश पारे।
केसीले द्विपक्षीय संरचनाबाट त्रिपक्षीय र व्यापक क्षेत्रीय संरचनातर्फ उन्मुख हुँदै गहिरो क्षेत्रीय सहकार्य आर्थिक सुदृढता र साझा समृद्धिका लागि झन् अपरिहार्य बन्दै गएको उल्लेख गरे। उनले क्षेत्रीय एकीकरणका मुख्य आधारका रूपमा आर्थिक वृद्धि र व्यापार विस्तारलाई औँल्याउँद नेपालजस्ता भूपरिवेस्ठित देशलाई समेत बे अफ बंगालसँग जोड्ने बहु–माध्यमीय यातायात तथा लजिस्टिक्सको विकास आवश्यक रहेको बताए।
उनको प्रस्तुतिमा स्रोत व्यवस्थापनमा सहकार्य, ऊर्जा सहकार्य, डिजिटल एकीकरण, समुद्री सुरक्षा तथा भू–राजनीतिक स्थायित्वको महत्वसमेत समेटिएको थियो। साथै, तटीय र स्थलरुद्ध अर्थतन्त्रहरूबीच सहज पहुँचमार्फत क्षेत्रीय असमानता घटाउने प्रयास, पर्यटन प्रवद्र्धन तथा सांस्कृतिक आदान–प्रदानको भूमिकामाथि पनि उनले जोड दिए।
कार्यक्रममा जापान, भारत, बंगलादेश र भुटानका प्रख्यात विद्वान तथा नीतिगत विज्ञहरू सहभागी थिए, जसले बे अफ बंगाल क्षेत्रमा क्षेत्रीय आर्थिक सहकार्य र रणनीतिक सम्बन्धबारे भविष्यउन्मुख संवादका लागि साझा मञ्च प्रदान गरेको थियो।
आइडाका संस्थापक केसीको सहभागिताले क्षेत्रीय आर्थिक तथा रणनीतिक छलफलमा नेपालको बढ्दो उपस्थितिलाई संकेत गर्दछ र नेपाल तथा जापानबीच बौद्धिक तथा संस्थागत सम्बन्धहरू थप सुदृढ हुँदै गएको झल्काउँछ। आईडीई–जेट्रो र आइडाले क्षेत्रीय संवाद र अनुसन्धान परियोजनाहरूका लागि नियमित रूपमा सहकार्य गर्ने पनि जनाएका छन्। आइडीइ–जेट्रोेसँगको निरन्तर सहकार्यले आगामी वर्षहरूमा प्रमाण–आधारित नीतिनिर्माण र सुदृढ क्षेत्रीय सहकार्यलाई टेवा पु¥याउने अपेक्षा गरिएको छ।
एशियन इन्स्टिच्युट अफ डिप्लोमेसी एन्ड इन्टरनेशनल अफेयर्स (आइडा) काठमाडौँस्थीत एक थिंक ट्यांक हो, जसले नेपालको वैदेशिक नीति, क्षेत्रीय सहकार्य र विश्व मामिलासम्बन्धी स्वतन्त्र अनुसन्धान र संवाद प्रवद्र्धन गर्ने कार्य गर्दछ।












प्रतिक्रिया दिनुहोस्