काठमाडौं । ऊर्जा क्षेत्रका चर्चित व्यक्ति ज्ञानेन्द्रलाल प्रधान, स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) का अध्यक्ष गणेश कार्कीको ठूलो सेयर स्वामित्व रहेको सुपर खुदी हाइड्रोपावर कम्पनीले आजदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ ।
कम्पनीले सर्वसाधारणका लागि १२ लाख ८६ हजार ५ सय कित्ता सेयर निष्कासन गरेको छ । कम्पनीले लमजुङ जिल्ला मस्र्याङ्दी गाउँपालिकामा २६ मेगावाट क्षमताको माथिल्लो खुदी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । आयोजनाको कुल लागत ५ अर्ब ३८ करोड ४ लाख ११ हजार रुपैयाँ रहेको छ । आयोजनाको लागत प्रतिमेगावाट लागत २० करोड ६९ लाख ३८ हजार रुपैयाँ छ ।
आयोजनाको विद्युत अनुमतिपत्र २७ वर्ष ५ महिना बाँकी छ । आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ७.२१ वर्ष छ । यस्तै आयोजनाका अनुसार डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १३.४२ वर्ष छ । असोज मसान्तसम्म कम्पनीको प्रतिसेयर नेटवर्थ १३७.५३ रुपैयाँ छ । यस्तै प्रतिसेयर आम्दानी ४.४५ रुपैयाँ रहेको छ भने ४६ करोड ५३ लाख ५० हजार रुपैयाँ कमाएको छ ।
कम्पनीले आव २०८२/०८३ मा प्रतिसेयर नेटवर्थ १५१.८७ रुपैयाँ, प्रति सेयर आम्दानी २५.७३ रुपैयाँ र नाफा ८० करोड ३९ लाख ६३ हजार रुपैयाँ पुग्ने प्रक्षेपण गरेको छ । यस्तै आव २०८३/८४ मा प्रतिसेयर नेटवर्थ १६१.९३ रुपैयाँ, प्रतिसेयर आम्दानी १०.०६ रुपैयाँ र नाफा ९५ करोड ९९ लाख ६० हजार रुपैयाँ पुग्ने प्रक्षेपण रहेको छ ।
यस्तै आर्थिक वर्ष २०८४/८५ मा प्रतिसेयर नेटवर्थ १७४.६५ रुपैयाँ, प्रतिसेयर आम्दानी १२.७२ रुपैयाँ र नाफा १ अर्ब १५ करोड ७१ लाख १९ हजार रुपैयाँ पुग्ने प्रक्षेपण रहेको छ ।
कम्पनीले आईपीओ निष्कासनको लागि गराएको रेटिङमा रेटिङ एजेन्सी केयर नेपालले ‘केयर–एनपी डबल बी’ इस्युअर रेटिङ दिएको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ ।
कम्पनीमा सबैभन्दा ठूलो हिस्सा ज्ञानेन्द्रलाल प्रधानको रहेको छ । कम्पनीमा प्रधानको २६ करोड ५२ लाख ४२ हजार ६०० रुपैयाँ लगानी रहेको छ । कुल लगानीमा उनको हिस्सा २१.३९ प्रतिशत छ ।
यस्तै कम्पनीमा नेपाल हाइड्रो डेभलपरको ८.०६ प्रतिशत स्वामित्व छ भने बैदिक हाइड्रो इन्भेष्टमेन्टको ७.१३ प्रतिशत, सुपर खुदी इन्भेष्टमेन्टको ५.९३ प्रतिशत स्वामित्व छ ।
यस्तै कम्पनीमा इप्पानका अध्यक्ष गणेश कार्कीको ५ करोड ८९ लाख १७ हजार ८०० रुपैयाँ अर्थात ४.७५ प्रतिशत, विमला श्रेष्ठ प्रधानको ४ करोड ७१ लाख ७५ हजार ९०० रुपैयाँ अर्थात ३.८० प्रतिशत, बटु लामिछानेको २ करोड ८९ लाख १७ हजार ८०० रुपैयाँ अर्थात२.३३ प्रतिशत, कविता लामिछानेको २ करोड ८५ लाख रुपैयाँ अर्थात २.३० प्रतिशत, एन महर्जनको २ करोड ७० लाख रुपैयाँ अर्थात २.१८ प्रतिशत, युगजंग कार्कीको २ करोड ६९ लाख ६८ हजार ८०० रुपैयाँ अर्थात २.१७ प्रतिशत, वर्णन लामिछानेको २ करोड ६९ लाख १८ हजार ८०० रुपैयाँ अर्थात २.१७ प्रतिशत सेयर स्वामित्व रहेको छ ।
यस्तै बीजी ग्रुप प्रालिको २.११ प्रतिशत, जिज्ञासा लामिछानेको २ करोड ६१ लाख ५० हजार अर्थात २.११ प्रतिशत, विवेना लामिछानेको २ करोड ६१ लाख ५० हजार रुपैयाँ अर्थात २.११ प्रतिशत, शंकर प्रसाद शर्माको २ करोड ५० लाख रुपैयाँ अर्थात २.०२ प्रतिशत, कल्पना अर्यालको २ करोड ५० लाख रुपैयाँ अर्थात २.०२ प्रतिशत र र युग होल्डिङ प्रालिको २.०१ प्रतिशत सेयर स्वामित्व रहेको छ ।
हाल कम्पनीको अध्यक्षमा चेतन प्रधान रहेका छन् । कम्पनीमा उनको १ करोड २२ लाख ८७ हजार रुपैयाँ अर्थात ०.९९ प्रतिशत सेयर स्वामित्व रहेको छ । कम्पनीको प्रबन्ध सञ्चालकमा गणेश कार्की रहेका छन् । यस्तै सञ्चालकमा बटु लामिछाने, निभिता प्रधान र स्वतन्त्र सञ्चालकमा दल बहादुर बिष्ट रहेका छन् ।
आयोजनामा संस्थागत लगानीकर्ता रहेको सुपर खुदी इन्भेष्टमन्टको अध्यक्ष तथा सञ्चालकमा ज्ञानेन्द्र लाल प्रधान र बिमला श्रेष्ठ प्रधान रहेका छन् ।
बीजी गु्रपको सञ्चालकमा बटु लामिछाने र गणेश कार्की रहेका छन् । बैदिक हाइड्रो इन्भेष्टमेन्ट कम्पनीको सञ्चालकमा युएन महर्जन र कविता लामिछाने रहेका छन् ।
यस्तै युग होल्डिङ्स प्रालिको सञ्चालक युग जंग कार्की, नेपाल हाइड्रो डेभलपरका अध्यक्षमा कुमुद कुमार दुगड रहेका छन् भने हाइड्रो सोलुसन्स प्रालिको अध्यक्षमा ज्ञानेन्द्रलाल प्रधान रहेका छन् । यो आयोजनामा प्रधान र कार्की समूहको ठूलो लगानी रहेको छ ।










प्रतिक्रिया दिनुहोस्