काठमाडौं । नेपाल स्टक एक्चेञ्ज (नेप्से)मा सूचीकृत जलविद्युत कम्पनीले नेपाल विद्युत प्राधिकरणका कारण उचित मुनाफा आर्जन गर्न नसकेको गुनासो गरेका छन् ।
विद्युत उत्पादन सुरु गरिसकेका कम्पनीहरुले यस्तो गुनासो गरेका हुन् । सूचीकृत जलविद्युत कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गर्दै यस्तो गुनासो गरेका छन् ।
विद्युत प्राधिकरणले समयमा प्रशारण लाइन निर्माण नगर्दा, आयोजनाको क्षमता भन्दा कम क्षमतामा विद्युत उत्पादन गर्न निर्देशन दिएको, विद्युत बिक्री आयको सुनिश्चितता नभएका जस्ता कारण उचित नाफा आर्जन गर्न नसकेको जनाएका छन् । क्षमता अनुसार विद्युत उत्पादन नगर्दा विद्युत बिक्रीबाट हुने आय घट्नुका साथै सेयरधनीले पाउने लाभांशमा समेत त्यसको असर पर्ने गरेको कम्पनीहरुको दाबी छ ।
वित्तीय विवरण प्रकाशित गरेको दोर्दीखोला जलविद्युत कम्पनीले ‘वर्षायाममा नदीमा प्रशस्त पानी भएतापनी नेपाल विद्युत प्राधिकरणले जडित क्षमता भन्दा कम विद्युत उत्पादन गर्न निर्देशन दिएकाले आयोजनाले १२ मेगावाट भन्दा कम विद्युत उत्पादन गर्न कम्पनी बाध्य भएको छ । जसको असर आम्दानीमा पर्न गएको देखिन्छ’ भनेको छ ।
यस्तै हिमालयन पावर पार्टनर कम्पनीले पनि सोही खालको समस्या देखाएको छ । ‘यस कम्पनीद्वारा संचालित दोर्दी खोला जलबिद्युत आयोजनाको शत प्रतिशत क्षमतामा बिद्युत उत्पादन गर्न सक्षम भएतापनि व्यापारिक उत्पादन शुरु गरेको मिति १४ आश्विन २०७९ देखि नै नेपाल बिद्युत प्राधिकरणको निर्देशन बमोजिम कम क्षमतामा संचालन गर्नु परेकाले कम्पनीले ठूलो नोक्सानी व्यहोर्नु पर्यो’ कम्पनीले भनेको छ ‘कम्पनीको निरन्तरको प्रयास पछि २०८१ जेठ १ देखि मात्र बैकल्पिक व्यवस्था परिमार्जन गरी डिस्प्याच इन्स्ट्रक्सन हटाउने व्यवस्था गरिएको भएतापनि नेपाल बिद्युत प्राधिकरणबाट डिस्प्याच इन्स्ट्रक्सन जारी छ ।’
यस्तै राप्ती हाइड्रो एण्ड जनरल कन्ट्रक्सनले ‘नेपाल विद्युत प्राधिकरण अन्तर्गतको रूकुम पश्चिम–सल्यान–दाङ्गको विभिन्न खण्डको ३२ के.भी. प्रसारण लाइनमा बारम्बार आइराख्ने समस्याका कारण प्रत्यक्ष असर विद्युत उत्पादनमा परेको छ’ भनेको छ ।
रावा इनर्जी डेभलपमेन्ट कम्पनी, न्यादी हाइड्रोपावरले नेपाल विद्युत प्राधिकरणको विद्युत प्रशारण लाइनमा बारम्बार आउने अवरोधलाई जनाएको छ । सुपरमाई हाइड्रोपावर कम्पनीले नाफा अपेक्षाकृत नबढ्नुमा बर्षायाममा उत्पादित अधिक विद्युतको भुक्तानी नदिने र बेला बेला लोड घटाउनु पर्ने र सुख्खा याममा उत्पादन कम हुने जनाएको छ ।
यस्तै अप्पर साङ्गे हाइड्रोपावर कम्पनीबाट उत्पादित विद्युतलाई टारिकुना सब स्टेशन (खुदीहब) निर्माण सम्पन्न नहुँदासम्म बर्षायाममा पूर्ण क्षमतामा विद्युत प्रशारण गर्न अस्थायी प्रवृतिको समस्या देखिएको जनाएको छ ।
यस्तै अप्पर तामाकोशी हाइड्रोपावर कम्पनीले विद्युत बिक्री आयको सुनिश्चितता हुनुपर्ने जनाएको छ । बलेफी हाइड्रोपावर पनि प्राधिकरणका कारण उल्लेख्य नाफा कमाउन नसकेको जनाएको छ ।
यता विद्युत प्राधिकरणका प्रवक्ता राजन ढकालले प्राधिकरणले सम्झौता अनुसार विद्युत खरिद गर्ने गरेको बताए । प्राविधिक कारणबस केही घन्टाका लागि अवरोध हुने गरेको भएपनि कम्पनीहरुले भने जस्तो समस्या नरहेको बताए । सम्झौता अनुसार विद्युत खरिद नभएमा कम्पनीहरुले दाबी गर्न सक्ने प्रवक्ता ढकालको भनाइ छ ।










प्रतिक्रिया दिनुहोस्