Skip to content

एमालेको घोषणापत्र: एक दशकमा अर्थतन्त्रको आकार यसरी पुर्याउँदै छ २०० खर्ब 

काठमाडौं । नेकपा एमालेले आगामी निर्वाचनको घोषणापत्रमा जारी गरेको छ । घोषणा पत्रमा एमालेले आगामी एक दशकमा नेपालको अर्थतन्त्रको आकारलाई २०० खर्ब रुपैयाँसम्म पुर्याउने लक्ष्य प्रस्तुत गरेको छ।

यसअनुसार पाँच वर्षमा आर्थिक आकार १०० खर्ब र प्रतिव्यक्ति आय करिब अमेरिकी डलर ३ हजार पुर्याउने योजना रहेको घोषणा पत्रमा उल्लेख गरिएको छ । घोषणापत्रमा कृषि, ऊर्जा, उद्योग, सूचना प्रविधि, भौतिक पूर्वाधार लगायत दश क्षेत्रलाई अर्थतन्त्रका प्रमुख संवाहक क्षेत्र बनाउने र राज्यको लगानी केन्द्रित गर्ने लक्ष्य उल्लेख छ।

कृषिको आधुनिकीकरण गरी अतिरिक्त श्रमशक्ति शिक्षा, सीप र प्रविधिबाट उद्योग तथा सेवामा स्थानान्तरण गरिनेछ। समष्टिगत आर्थिक नीतिहरू लगानीमैत्री र उत्पादन सहयोगी बनाउने, वित्तीय क्षेत्रको पुँजी उत्पादक क्षेत्रमा परिचालन गर्ने, पुँजी बजार सुदृढ बनाउने र उच्च आर्थिक वृद्धिका लागि लगानी बढाउने योजना पनि घोषणापत्रमा समावेश छ।

यसैगरी, बजेट कार्यान्वयनमा अंक, समय, नतिजा र गुणस्तरका मापदण्ड पूरा नगर्ने निकायलाई कानुनी रूपमा दण्डित गर्ने व्यवस्था गर्ने भनिएको छ। राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाहरूका लागि मात्रै सार्वजनिक ऋण लिइने, मुद्रास्फीतिलाई नियन्त्रण गर्ने, खाद्य सुरक्षा कायम गर्ने, निर्यात वृद्धि गर्ने र व्यापार घाटा घटाउने योजना पनि सार्वजनिक गरिएको छ।

एमालेले निजी क्षेत्रलाई राष्ट्रिय समृद्धिको प्रमुख साझेदारको रूपमा परिचालन गर्ने, गैरसरकारी तथा सामाजिक संघसंस्थाहरूलाई रोजगारी सिर्जना र सामाजिक उद्यमशीलताको क्षेत्रमा सहयोगी बनाउने पनि प्रतिबद्धता जनाएको छ।

घोषणापत्र अनुसार आगामी पाँच वर्षमा सूचना प्रविधि क्षेत्रको योगदान कूल गार्हस्थ्य उत्पादनमा ५ प्रतिशत पुर्याउने लक्ष्य राखिएको छ। समावेशी आर्थिक वृद्धि, आय असमानता न्यूनीकरण, जीवनयापनयोग्य न्यूनतम मजदुरी सुनिश्चित गर्ने, शिक्षा र स्वास्थ्यमा समान पहुँच सुनिश्चित गर्ने, प्रगतिशील कर प्रणाली र सामाजिक उद्यमशीलताको प्रवर्द्धन गर्ने योजना समेत समावेश छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T