झापा । मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्ममा अलैँची निर्यात ५९.८० प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्क अनुसार उक्त अवधिमा आठ अर्ब ६१ करोड २० लाख सात हजार बराबरको अलैँची निर्यात भएको हो ।
चालु आवको ७ महिनाको अवधिमा चार हजार १५३.१५ मेट्रिकटन अलैँची निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंले जानकारी दिए । अघिल्लो आव २०८१/८२ को सोही अवधिमा पाँच अर्ब ३८ करोड ८० लाख २० हजार बराबरको अलैँची निर्यात भएको उनले बताए ।
कार्यालयको तथ्याङ्क अनुसार चालु आवको ७ महिनामा चियाको निर्यात २६.७० प्रतिशतले घटेको छ । उक्त अवधिमा दुई अर्ब ३२ करोड १२ लाख ५६ हजार मूल्य बराबरको चिया निर्यात भएको छ । आव २०८१र८२ को सोही अवधिमा तीन अर्ब १६ करोड ६२ लाख १३ हजार बराबरको चिया निर्यात भएको सूचना अधिकारी हुमागाईंले जानकारी दिए ।
कार्यालयको तथ्याङ्क अनुसार निर्यात हुने मुख्य वस्तुमा भेनियर सिट ९१.१० प्रतिशत, छुर्पी ६३.३० प्रतिशत, अदुवा, सुठो एक सय १.८० प्रतिशत, काउली, ब्रोकाउली र बन्दागोपी ३६.१० र मुसुरो दाल ३१६.२० प्रतिशत, जडीबुटी ९२.९ प्रतिशतले वृद्धि भएको छ ।
यसैगरी प्लाउड ४०.९० प्रतिशत, अम्रिसो २४.९० प्रतिशतले कमी आएको छ । मेची भन्साबाट चालु आर्थिक वर्ष २०८२/८३ को माघ मसान्त सम्ममा १६ अर्ब तीन करोड १५ लाख ८३ हजार बराबरको मालवस्तु निर्यात भएको छ ।










प्रतिक्रिया दिनुहोस्