काठमाडौं । सञ्चालमा रहेको जीवन, निर्जीवन र पुनर्बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म बैंकको संस्थापक सेयरमा २२ अर्ब ९६ करोड १६ लाख ३० हजार रुपैयाँ लगानी गरेका छन् ।
यो लगानी गत आवको सोही अवधिको तुलनामा २७.१५ प्रतिशतले धेरै हो । गत आवको सोही कम्पनीहरुले १८ अर्ब ५ करोड ७० लाख २ हजार रुपैयाँ लगानी गरेका थिए ।
बीमा प्राधिकरणका अनुसार चालु आवको पुस मसान्तसम्म जीवन बीमा कम्पनीहरुले १९ अर्ब ३९ करोड ७३ लाख रुपैयाँ, निर्जीबन बीमा कम्पनीले २ अर्ब ७४ करोड १३ लाख ४३ हजार र पुनर्बीमा कम्पनीले ८२ करोड १५ लाख रुपैयाँ लगानी गरेका छन् ।
यस्तै गत आवको सोही अवधिमा निर्जीबन बीमा कम्पनीले संस्थापक सेयरमा १ अर्ब ५६ करोड ७४ लाख ९१ हजार, जीवन बीमा कम्पनीले १५ अर्ब ५१ करोड ३२ लाख ३० हजार र पुनर्बीमा कम्पनीले ९७ करोड ६२ लाख ८१ हजार लगानी गरेका थिए ।
सञ्चालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीमध्ये मेट लाइफ, सिटिजन लाइफ र सानिमा लाइफ ११ कम्पनीले बैंकको संस्थापक सेयर १९ अर्ब ३९ करोड ७३ लाख रुपैयाँ लगानी गरेका छन् ।
यस्तै सञ्चालनमा रहेका १४ निर्जीबन बीमा कम्पनीमा ५ वटाले लगानी गरेका छैनन् भने ९ वटा कम्पनीले २ अर्ब ७४ करोड १३ लाख रुपैयाँ लगानी गरेका छन् । लगानी नगर्ने कम्पनीमा राष्ट्रिय बीमा कम्पनी, नेको इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, सानिमा जीआईसी र सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी रहेका छन् । बाँकी कम्पनीले बैंकको संस्थापक सेयरमा लगानी गरेका छन् ।
यस्तै २ वटा पुनर्बीमा कम्पनीले ८२ करोड १५ लाख रुपैयाँ लगानी गरेका छन् । पुनर्बीमा कम्पनीमा नेपाल पुनर्बीमा कम्पनीले ५९ करोड ६५ लाख र हिमालयन रिइन्स्योरेन्सले २२ करोड ५० लाख रुपैयाँ लगानी गरेको प्राधिकरणले जनाएको छ ।
पछिल्लो समय बैंकबाट संस्थापक लगानीकर्ता बाहिरिने क्रम बढेको छ । तर, बीमा कम्पनीहरुले भने लगानी बढाउँन थालेका छन् ।
बैंकहरुको लगानी माथीको प्रतिफल (आरओई) खुम्चदै जाँदा व्यक्तिगत ठूला तथा पुराना लगानीकर्ता सेयर बिक्री गरेर बाहिरिने क्रम बढेको छ । कतिपय लगानीकर्ताले बैंकमा आफ्नो स्वामित्व घटाइ रहेका छन् । चालु आर्थिक वर्षको पुस मसाान्तसम्म बैंकहरुको आरओई औषतमा ८.२५ प्रतिशत रहेको छ ।
बीमा कम्पनीहरुले ‘क’ वर्गका वाणिज्य बैंक र पूर्वाधार बैंकको मुद्दति खातामा न्यूनतम ३० प्रतिशतसम्म लगानी गर्न पाउने व्यवस्था छ । त्यस्तै जीवन बीमा कम्पनीहरुले नेपाल सरकार, प्रदेश सरकार, स्थानीय सरकार वा नेपाल राष्ट्र बैंकको बचतपत्र वा ऋणपत्रमा न्यूनतम ३५ प्रतिशतसम्म लगानी गर्न पाउने व्यवस्था छ ।
त्यस्तै जीवन बीमा कम्पनीहरुले नेपाल राष्ट्र बैंकबाट इजाजत पत्र प्राप्त ‘ख’ वर्गका बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा बढीमा १५ प्रतिशतसम्म लागनी गर्न पाउँछन् । त्यस्तै ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा बढीमा ७ प्रतिशत, घरजग्गामा बढीमा १० प्रतिशत र सूचीकृत पब्लिक कम्पनीको साधारण सेयरमा लगानी गर्न पाउने व्यवस्था छ ।
त्यस्तै ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाको अग्राधिकार सेयर, वन्ड, डिबेन्चर र ऋणपत्रमा ३० प्रतिशतसम्म, सूचीकृत पब्लिक कम्पनीको वन्ड, डिबेन्चर र ऋणपत्रमा बढिमा २० प्रतिशत, कृषि उत्पादन तथा वितरण, शीत भण्डार गृह, पर्यटन उद्योग, जलविद्युत, सौर्य ऊर्जा लगायत नविकरणीय ऊर्जा परियोजना, केबलकार, सडक, विद्युत प्रसारण लाइन, शिक्षा र स्वास्थ्य क्षेत्रमा बढिमा १० प्रतिशत लागनी गर्न पाउने व्यवस्था छ ।
त्यस्तै नागरिक लगानी कोष र म्युचुअल फण्डमा बढिमा ५ प्रतिशत र इन्भेष्टमेन्ट कम्पनीको सेयरमा बढिमा ५ प्रतिशत लगानी गर्न पाउने व्यवस्था छ । पछिल्लो समय बैंकले मुद्दति निक्षेपमा दिने ब्याजदर ३ प्रतिशतको हाराहारी रहेको छ । घट्दो ब्याजदरका कारण पनि बीमा कम्पनीहरु सेयरमा लगानी गर्न थालेको बताइन्छ ।










प्रतिक्रिया दिनुहोस्