काठमाडौं । सिन्धुलीको मरिण निर्माण हुँदै गरेको मासु प्रशोधन उद्योगमा चिनियाँ र नेपाली कामदारबीच झडप भएको छ । सिन्धुलीको मरिण गाउँपालिका ५ स्थित निर्माणाधीन साहान हिमालयन फुड कम्पनी (राँगा र भैँसीको मासु प्रशोधन उद्योग) मा सोमबार बिहान नेपाली र चिनियाँ कामदारबीच झडप भएको हो ।
चिनियाँ पक्षले एक जना नेपाली कामदारलाई कामबाट निकालेको विषयमा विवाद उत्पन्न भएपछि झडप भएको प्रहरीले जनाएको छ । चिनियाँ पक्षले मरिण गाउँपालिका ६ का नबराज बमजनलाई काम (सवारी चालक) बाट निकालेपछि दुई पक्षबिच विवाद हुँदा कुटाकुट भएको सिन्धुली प्रहरीले जनाएको छ ।
कुटाकुट हुँदा चिनियाँ र नेपाली गरी ७ जना घाइते भएका छन् । घाइते हुनेहरूमा कामबाट निकालिएका ३० वर्षीय नबराज बमजनको दायाँ आँखामा र दायाँ खुट्टामा चोट लागेको छ । उनलाई प्राथमिक उपचार केन्द्र कपिलाकोटबाट जिल्ला अस्पताल सिन्धुली पठाइएको प्रहरीले जनाएको छ ।
यस्तै, उदयपुरको कटारी नगरपालिका १२ का २२ वर्षीय गोकर्ण कटुवालको पनि टाउकोमा चोट लागेको छ । अरू घाइतेहरू सबै चिनियाँ कामदार रहेका छन् ।
सिन्धुली प्रहरीका अनुसार घटनाको सूचना पाउनासाथ इलाका प्रहरी कार्यालय कपिलाकोटबाट प्रहरी निरीक्षकको कमान्डमा प्रहरी टोली पठाइएको थियो । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । नेपालबाट चीनमा प्रशोधित भैँसीको मासु निर्यात गर्ने उद्देश्यले उक्त कारखाना निर्माण थालिएको छ ।
प्रतिक्रिया दिनुहोस्