काठमाडौं । पूर्व अर्थमन्त्री डा. प्रकाश सरण महतले प्रतिनिधि सभा निर्वाचनको लागि आफ्नो प्रतिज्ञा पत्र सार्वजनिक गरेका छन्। डा.महतले प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो प्रतिबद्धता सार्वजनिक गर्दै सिसडोल–बञ्चरे डम्पिङ साइट प्रभावित क्षेत्रलाई वातावरणीय प्रभाव मूल्याङ्कन (इआईए) प्रतिवेदनअनुसार कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गरेका छन्।
उनले विकास निर्माणका सबै आयोजना वातावरणीय अध्ययनका आधारमा अघि बढाइनुपर्नेमा जोड दिँदै सिसडोल–बञ्चरे क्षेत्रमा दीर्घकालीन समाधानका लागि इआईए प्रतिवेदन पूर्ण रूपमा कार्यान्वयन गरिने बताएका हुन्। प्रभावित स्थानीयको स्वास्थ्य, वातावरणीय सुरक्षा र जीवनस्तर सुधारलाई ध्यानमा राखेर आवश्यक पहल गर्ने उनको भनाइ छ।
पूर्वाधार विकासलाई पहिलो प्राथमिकतामा राखेको उल्लेख गर्दै महतले सम्भाव्यता अध्ययनको चरणमा रहेको टोखा–छहरे सुरुङ मार्ग निर्माण प्रक्रिया अघि बढाउने प्रतिबद्धता गरेका छन्।
यसैगरी, निर्माणाधीन बालाजु–रानीपौवा–पिपलटार (पासाङ ल्हामु राजमार्ग) सडकका बाँकी खण्ड सम्पन्न गर्ने, ढिकुरे–समुन्द्रटार–गोल्फु भन्ज्याङ सडक तथा तिनपिप्ले–चाउँथे–कुमरी–गल्छी वैकल्पिक राजमार्ग निर्माणलाई तीव्रता दिने प्रतिबद्धता पनि उनले जनाएका छन्।
गाउँपालिका केन्द्रसँग कृषि तथा पर्यटन सम्भावना बोकेका क्षेत्र जोड्ने सडक र पुल निर्माणमा जोड दिइने तथा प्रत्येक पालिकाभित्र गाउँ–बेसी जोड्ने प्रमुख सडक विस्तार गरिने उनले बताएका छन्।
कृषि क्षेत्र सुदृढीकरणका लागि लिखु र तादी नदी कटान नियन्त्रण गरी खेतीयोग्य जमिनमा सिँचाइ सुविधा विस्तार गर्ने र शुद्ध पिउने पानीको दिगो व्यवस्था मिलाउने प्रतिबद्धता पनि महतले व्यक्त गरेका छन्।










प्रतिक्रिया दिनुहोस्