काठमाडौं । नेपाल सरकारले मध्यपूर्व क्षेत्रमा पछिल्लो विकसित घटनाक्रमपछि त्यहाँ रहेका १७ लाख बढी नेपालीलाई सम्बन्धित मुलुकको सुरक्षा निर्देशन पालना गरी सुरक्षित रहन आग्रह गरेको छ ।
परराष्ट्र मन्त्रालयमार्फत सरकारले त्यस क्षेत्रमा रहेका नेपाली नागरिकको सुरक्षा उच्च प्राथमिकतामा रहेको जनाउँदै सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको हो । संयुक्त राज्य अमेरिका र इजरायलले इरानमाथि शनिबार संयुक्त रूपमा सैन्य आक्रमण गरेपछि र इरानले त्यसको प्रत्याक्रमण गरेपछि मध्यपूर्वको स्थिति तनावपूर्ण बनेको छ ।
सो सम्बन्धमा जानकारी दिन मन्त्रालयले आज यहाँ आयोजना पत्रकार सम्मेलनमा सहसचिव कृष्णप्रसाद ढकालले भने, “हालसम्म त्यस क्षेत्रमा नेपाली नागरिक सुरक्षित छन् । नेपाल सरकारले घटनाक्रम नजिकबाट हेरिरहेको छ । सम्बन्धित मुलुकले जारी गरेको सुरक्षासम्बन्धी सूचना जानकारी लिई त्यसको पालना गर्न आग्रह गर्दछौं ।”
यस्ता घट्नाक्रमलाई सम्बोधन गर्न मन्त्रालयले ‘र्यापिड एक्सन टिम’ गठन गर्न लागेको सहसचिव ढाललले जानकारी दिए ।
मध्यपूर्व र आसपासका इरानमा ६ जना, इजरायलमा ६ हजार ५००, इजिप्टमा ५००, ओमानमा २५ हजार, कतारमा ३ लाख ५७ हजार, कुवेतमा १ लाख ७५ हजार, जोर्डनमा ३ हजार, बहराइन २८ हजार, साउदी अरबमा ३ लाख ८४ हजार ८६५, संयुक्त अरब इमिरेट्समा ४ लाख ७८ हजार १४४, लेबनानमा १ हजार ५००, इराकमा ३० हजार र साइप्रसमा १७ हजार गरी हाल कुल १७ लाख २९ हजार २८८ जना नेपाली नागरिक रहेको जनाइएको छ ।
पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले त्यस क्षेत्रका नेपालीको सुरक्षाका लागि सरकारले आवश्यक काम र पहल गरिरहेको बताए । उनले त्यहाँ नेपाली नागरिकलाई घरभित्रै सुरक्षित रहन, सूचना पालना गर्न, अफ्ठ्यारो परेमा दूतावास र मन्त्रालयसँग सम्पर्कमा रहन आग्रह गरे ।
मध्य एसिया, पश्चिम एसिया तथा अफ्रिका महाशाखाका प्रमुख रामकाजी श्रेष्ठले नेपाली नागरिकको सरक्षाका लागि त्यस क्षेत्रका आठ दूतावास र दुई कन्सुलर सेवाबाट सूचना जारी गरी समन्वय भइरहेको प्रवक्ता क्षेत्रीले बताए । यसैगरी मन्त्रालयले ‘एडभाइजरी’ जारी गर्दै सुरक्षासम्बन्धी निर्देशन तथा सूचना कडाइका साथ पालना गर्न आग्रह गरेको हो ।
“सकेसम्म घरभित्रै बस्नुहोस्, सतर्क रहनुहोस्, आवश्यक सावधानी अपनाउनुहोस् र आफू रहेको स्थानका नेपाली समुदायसँग नियमित सम्पर्कमा रहनुहोस् । सम्बन्धित निकायको पूर्वस्वीकृतिबिना अनावश्यक यात्रा नगर्नुहोस् । काठमाडौंस्थित परराष्ट्र मन्त्रालय, तेल अविवस्थित नेपाली दूतावास तथा दोहास्थित नेपाली राजदूतावाससँग नियमित सम्पर्कमा रहनुहोस्”, मन्त्रालयले जारी गरेको एडभाइजरीमा उल्लेख छ ।
मध्यपूर्वको घट्नाक्रमपछि हाल भिसा र टिकट लिई गन्तव्य मुलुक जाने तयारीमा रहेका, गन्तव्य मुलुक जानका लागि विमानस्थल पुगेका र युरोप तथा अमेरिका जानका लागि ट्रान्जिट विमानस्थलमा अलपत्र परेका नेपाली नागरिकले सास्ती भोग्नुपरेको पनि जनाइएको छ ।











प्रतिक्रिया दिनुहोस्