Skip to content

उडान खुल्ने प्रतीक्षामा रहेका यात्रु विमानस्थलमा अलपत्र, बस्न र खान छैन ठेगान, आधिकारिक सूचना नपाउँदा थप तनाब

प्रश्न विमानस्थलमा, जवाफ न्युरोडमा

nabil bank

काठमाडौं । बर्दियाका किशोर पुन शनिबार रोजगारीका लागि कतार जाँदै छन् ।

हातमा पासपोर्ट र नेपाल एयरलाइन्सको टिकट बोकेर उनी समयमै विमानस्थल पुगे । तर उनी कतार जान भने पाएनन् । विमानस्थलमा आएपछि उनीलाई नेपाल वायुसेवा निगमले हवाई उडान स्थगित भएको सूचना दियो ।

उनी आइतबार दिउँसो विमानस्थलमा अलपत्र अवस्थामा भेटिए । आफूले बर्दियाबाट आउँदा काठमाडौँसम्म आउनका लागि भाडा र खानाका लागि मात्रै पैसा बोकेको सुनाए । उनीसँग अहिले होटलमा बस्न र खानाका लागि पैसा छैन । “हिजो विमानस्थलमै सुतेर राति बिताएँ, अब कहिले उडान हुन्छ थाहा छैन”,उनले भने ।

पुनको जस्तै अवस्था कैलालीकी सरला विकको पनि छ । रोजगारीका लागि साउदी अरब जान शनिबार विमानस्थल पुगेकी उनी आइतबारसम्म यही छन् । हवाई उडान कहिले हुन्छ भन्दै बेलाबेलामा निगमका कर्मचारीलाई सोध्छन् । तर जवाफ चित्तबुझ्दो आउँदैन । निगमका कर्मचारी केही सोध्नुपरे एयरलाइन्सको कार्यालय न्युरोड जान सुझाव दिन्छन । विक दोस्रो पटक साउदी अरब जाँदै छीन् । दुई महिनाअघि बिदामा घर आएकी उनी अब काठमाडौँबाट कैलाली फर्कने हो भने फेरि साउदी अरब जान नपाइएला भन्ने चिन्ता पनि छ ।

पुन र विकजस्ता हजारौँ नेपाली यतिबेला विमानस्थलको चक्कर काटिरहेका छन् । उनीहरु जाने मुलुकमा नेपालबाट हवाइजहाजले उडान भरेको छैन । अमेरिका र इजरायलले शनिबार इरानमाथि आक्रमण सुरु गरेपछिको असर नेपाली श्रमिकमा देखिएको हो । खासगरी खाडीमुलुकमा रोजगार गर्न जाने नेपाली बढी प्रभावित भएका छन् ।

अमेरिका र इजराइलले इरानमा गरेको आक्रमणका कारण युएई, साउदी अरब, कतार, कुवेतलगायत मुलुकका विमानस्थल अस्थायी रुपमा बन्द गरिएको छ । जसकारण विदेश उड्न भनेर आएका नेपाली यात्र अलपत्रमा प रेका हुन् ।

अलपत्र पर्नेमा मोरङका दिलीपप्रसाद राजवंशी पनि छन् । दुबईको आबुधावीमा श्रमिकका रुपमा कार्यरत उनी तीन महिनाको बिदा मनाएर आइतबार दुबई फर्कने तालिका थियो । दुबईस्थित कम्पनीको मालिकले फोन गर्दा आइतबार बिदाको दिन परेकाले उठेन । कम्पनीले दुबहीबाट नै टिकट काटिदिएको थियो । यसबारेमा अब के हुन्छ भन्ने कुनै आधिकारिक जानकारी प्राप्त भएको छैन । “दुबईको विमानस्थल बन्द छ, मात्रै भन्छन्, तर अब के गर्ने ? टिकट कसरी रिफण्ड हुन्छ ? र सस्तोमा पाएको टिकट त्यही मूल्यमा पाइन्छ कि पाइँदैन ? कतै महङ्गोमा पर्ने पो हो कि ?”, उनी भन्छन् । उनले आफूलगायत खाडीमुलुक जाने नेपाली यात्रु सही र आधिकारिक सूचना नपाउँदा अलमलमा पर्नुपरेको बताए ।

दुबई जान विमानस्थल आएका गणेश मिश्रले पनि जहाँ टिकट काटेको त्यही जानु भनेर सोधपुछ कक्षका कर्मचारीले जवाफ दिएको बताए । आफू अलपत्र र बेवारिसे जस्तै भएको उनले बताए ।

धनुषाका एमडी रोजेन्दावले आफू कतार जान विमानस्थलमा दुई दिनअघिदेखि नै आइरहेको बताए । “घर फर्किन पनि सकेको छैन, होटलमा बस्न खर्च पनि छैन, हवाई उडान कहिले खुल्छ भन्ने पनि निश्चित छैन”, उनले भने ।

नेपाल वायुसेवा निगमकी प्रवक्ता अर्चना खड्काले इरान–अमेरिका तनाव बढेपछि विभिन्न मुलुकका विमान सञ्चालनमा रोक लगाइएकाले उक्त अवस्था समान्य नहुँदासम्म उडान नहुने बताइन् । यद्यपि यात्रुहरुले टिकट रिफन्ड गर्नुपर्ने अवस्था आएमा कार्यालयमै सम्पर्क गर्न आग्रहसमेत गरिन ।

“विमानस्थलमा सबै काम गर्न सम्भव नहुने भएकाले कार्यालयमै सम्पर्क गर्न भनेका हौँ”, उनले भनिन्, “यात्रुहरुको सहजताका लागि निगमको काम विमानस्थलमै गर्न भने त्यति सम्भव छैन ।”

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता विक्रमराज गौतमले केही देशका विमानस्थल अनिश्चित रुपमा बन्द भएकाले यात्रुलाई निश्चित सूचना दिन नसकिएको बताए । यद्यपि विमान कम्पनीहरुले यात्रुलाई उडान खुल्नु तीनदेखि चार घण्टाअघि फोन गरेर सूचना दिनुपर्ने भनी सूचना प्रकाशित गरिएको उनले जानकारी दिए । मधु शाही/रासस

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi