काठमाडौं । मध्यपूर्वी मुलुकहरूमा बढ्दो तनावका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा उतारचढाव देखिन थालेपछि नेपालका उपभोक्तामा पनि त्रास देखिएको छ । मध्यपूर्वी मुलुकहरूमा बढ्दो तनावको प्रभाव विश्व बजार हुँदै नेपालसम्म आइपुग्ने भएको कारण उपभोक्तामा त्रासको अवस्था सिर्जना भएको हो ।
नेपाल इन्धनमा पूर्ण रूपमा आयातमा निर्भर छ । जसको कारण अन्तर्राष्ट्रिय तनावले आर्थिक तथा आपूर्ति व्यवस्थामा दबाब सिर्जना गर्न सक्ने उपभोक्ताहरुको बुझाई छ । यद्यपि नेपाल आयल निगम ले हाल देशमा इन्धन आपूर्तिमा कुनै समस्या नरहेको स्पष्ट पारेको छ ।
नेपाल आयल निगमका प्रवक्ता मनोजकुमार ठाकुरले वर्तमान अवस्थामा आपूर्ति प्रणाली नियमित रूपमा सञ्चालन भइरहेको जानकारी दिए । उनले भने, ‘अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा सामान्य उतारचढाव देखिएको छ, तर त्यसको तत्काल प्रभाव नेपालमा पर्दैन । हाम्रो आपूर्ति प्रणाली नियमित छ । तत्काल पेट्रोल, ग्यास लगायत कुनै पनि कुराको अभावको अवस्था छैन ।’
उनका अनुसार नेपालले पेट्रोलियम पदार्थ प्रत्यक्ष रूपमा युद्धग्रस्त मध्यपूर्वी क्षेत्रबाट आयात गर्दैन । नेपालले आवश्यक पेट्रोलियम पदार्थ भारतमार्फत आयात गर्दै आएको छ । ‘हामीले इण्डियन आयल कर्पोरेसनसंग दीर्घकालीन सम्झौतामार्फत पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यास खरिद गर्दै आएका छौं । सो सम्झौताअनुसार नियमित रूपमा आपूर्ति भइरहेको छ,’ ठाकुरले भने ।
उनका अनुसार हाल देशभर पर्याप्त इन्धन मौज्दात रहेको छ । कम्तीमा १५ दिनसम्मको माग धान्ने मौज्दात सुरक्षित रहेको र तत्काल मूल्यवृद्धि नहुने निगमको दाबी छ । ‘यदि अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्यो भने पनि त्यसको असर तत्काल पर्दैन । १५ दिनपछि मात्र मूल्य समायोजन प्रक्रियामार्फत असर देखिन सक्छ,’ उनले ।
मध्यपूर्वी क्षेत्र विश्वकै प्रमुख तेल उत्पादक क्षेत्र भएकाले त्यहाँको अस्थिरताले अन्तर्राष्ट्रिय बजारमा प्रत्यक्ष प्रभाव पार्ने गर्छ । पछिल्ला दिनहरूमा कच्चा तेलको मूल्यमा केही वृद्धि देखिए पनि आपूर्ति पूर्ण रूपमा अवरुद्ध भइसकेको अवस्था छैन । यद्यपि तनाव लम्बिएमा मूल्य थप बढ्न सक्ने सम्भावना रहेको रहेको छ।
नेपालमा भने हल्ला फैलिन थालेसँगै केही स्थानमा पेट्रोल पम्पहरूमा सवारीसाधनको चाप बढेको देखि छ। सम्भावित मूल्यवृद्धिको डरले उपभोक्ताले आवश्यकताभन्दा बढी इन्धन भर्न थालेको कारण भिड बढेको निगमले जनाएको छ । निगमका प्रवक्ता ठाकुरले सर्वसाधारणलाई हल्लाको पछि लागेर आवश्यकताभन्दा बढी इन्धन भर्ने काम नगर्न अनुरोध गरेका छन् ।
मध्यपूर्वी मुलुकहरूमा बढ्दो तनावका कारण नेपालमा असर गर्ने उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष तिमल्सिना बताए। उनले दीर्घकालीन रूपमा नेपालमा यसको असर पर्ने बताएका हुन्। ‘नेपालमा यस्तो घटनाहरुको असरको पूर्वतयारी कमजोर छ।’ तिमल्सिनाले भने, ‘नेपाल पूर्ण रूपमा आयातमा निर्भर मुलुक हो । हाम्रो आफ्नै उत्पादन छैन । भण्डारण क्षमता पनि सीमित छ । यदि अन्तर्राष्ट्रिय संकट लम्बियो भने त्यसको प्रत्यक्ष असर नेपाली बजारमा पर्छ ।’











प्रतिक्रिया दिनुहोस्