Skip to content

भैरहवाको चार मदिरा पसल सिल, निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने ११ जना पक्राउ

nabil bank

भैरहवा । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष तथा भयरहित वातावरणमा शान्तिपूर्ण रूपमा सम्पन्न गराउने उद्देश्यले मदिरा बिक्रीवितरणमा लगाइएको निषेधाज्ञा उल्लङ्घन गरेको आरोपमा रुपन्देही प्रहरीले ११ जनालाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कृष्णकुमार चन्दका अनुसार अनुगमनका क्रममा जिल्लाका विभिन्न स्थानबाट मङ्गलबार रातिसम्म ४ वटा मदिरा पसल सिल गर्नुका साथै मदिरा बिक्रीवितरण तथा ओसारपसारमा संलग्न ११ जना व्यक्तिलाई पक्राउ गरिएको छ ।

प्रहरीले सिद्धार्थनगर नगरपालिका–६ बुद्धचोकस्थित एक रेष्टुरेन्टबाट सञ्चालकसहित नौ जनालाई नियन्त्रणमा लिएको जनाएको छ । त्यसैगरी मायादेवी गाउँपालिका–५ गोनाहा चोकस्थित मदिरा पसलबाट ‘दामी’ र ‘इश्क’ नाम लेखिएका ११० बोतल मदिरा बरामद गरिएको सूचना अधिकारी चन्दले बताए ।

यस्तै शुद्धोधन गाउँपालिका–७ भगलापुर र वडा नं ३ सियाभारस्थित रेष्टुरेन्टबाट दुई जना सञ्चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । निषेधित अवधिमा मदिराको कारोबार गरेको पाइएपछि सम्बन्धित पसललाई सिल गरिएको हो । जिल्लाभर मदिरा नियन्त्रणका लागि विशेष टोली परिचालन गरी अनुगमनलाई कडा पारिएको सूचना अधिकारी चन्दले जानकारी दिए ।

स्थानीय प्रशासनले निर्वाचन अवधिभर सबै प्रकारका मदिराजन्य पदार्थको बिक्रीवितरण तथा सार्वजनिक स्थानमा सेवन पूर्ण रूपमा निषेध गरेको जनाएको छ । निषेध आदेश उल्लङ्घन गर्ने व्यक्तिलाई प्रचलित कानुनबमोजिम कारबाही गरिने प्रहरीले चेतावनी दिएको छ ।

निर्वाचन आचारसंहिताविपरीत गतिविधिमा संलग्न व्यक्तिहरूको निरन्तर निगरानी भइरहेको जनाउँदै प्रहरीले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गराउन आवश्यक कदम सशक्त रूपमा अघि बढाइने जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi