Skip to content

कुशासन र भ्रष्टाचार विरुद्ध मेरो प्रतिस्पर्धा हुन्छ: उपसभापति अर्याल

nabil bank

काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ९ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति तथा संघीय निर्वाचन सम्पादन समितिका संयोजक डोलप्रसाद (डीपी) अर्यालले आफ्नो प्रतिस्पर्धा कुशासन र भ्रष्टाचारसँग हुने बताएका छन्।

निर्वाचन कार्यालयबाट विजयको प्रमाणपत्र लिएपछि मतदातालाई सम्बोधन गर्दै अर्यालले अब मुलुक समृद्धितर्फ अगाडि बढ्ने विश्वास व्यक्त गरे। उनले यो जित क्षेत्रका सम्पूर्ण मतदाताको भएको भन्दै धन्यवाद व्यक्त गरे। साथै चुनावी प्रतिस्पर्धामा रहेका सबै उम्मेदवारलाई सहयात्रीको रूपमा सम्मान गर्दै आफ्नो मुख्य प्रतिस्पर्धा भ्रष्टाचारसँग मात्र हुने बताए।

अर्यालले यसपटकको निर्वाचन हालसम्मकै विशेष भएको उल्लेख गर्दै जनताले सुशासनको पक्षमा मत दिएको बताए। उनका अनुसार जनताले मतमार्फत मुलुकमा सुशासनको आवश्यकता स्पष्ट रूपमा व्यक्त गरेका छन्। ‘हामी केवल राजनीति गर्न आएका होइनौँ। प्रधानमन्त्री, मन्त्री वा नेता बन्न मात्रै आएका होइनौँ। हाम्रो उद्देश्य मुलुकलाई समृद्ध, सुशासनयुक्त र भ्रष्टाचारमुक्त बनाउनु हो,’ उनले भने।

उनले काठमाडौं–९ का जनताले अनुभूति गर्ने गरी न्यायपूर्ण र प्रभावकारी काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरे। ‘गोर्खालीले हार्न जान्दैन। म पनि हार्न नजान्ने गोर्खाली हुँ। हाम्रो जित भनेकै भ्रष्टाचारको अन्त्य र सुशासनको स्थापना हो,’ अर्यालले भने। निर्वाचन परिणामअनुसार अर्यालले ३५ हजार ९३ मत प्राप्त गर्दै काठमाडौं–९ बाट विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी नानुमैया बास्तोलाले ५ हजार ४६० मत प्राप्त गरेकी छन्।

यस परिणामसँगै अर्याल काठमाडौं उपत्यकामा सबैभन्दा ठूलो मतान्तरले विजयी हुने उम्मेदवार बनेका छन्। उनले २९ हजार ६३३ मतान्तरले जित हासिल गरेका हुन्। अर्यालले निर्वाचन सम्पन्न गराउन खटिएका निर्वाचन अधिकृत, कर्मचारी तथा सुरक्षाकर्मीलाई धन्यवाद दिँदै समानुपातिकतर्फको मतगणनामा पनि सहकार्य गर्न सबैसँग आग्रह गरेका छन्।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi