काठमाडौं । चालु आर्थिक वर्ष २०८२–८३ को फागुन महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति (मूल्य वृद्धि) ३.६२ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको तथ्यांक अनुसार मूल्य वृद्धि गत आर्थिक वर्षको फागुन महिनासम्म ३.७५ प्रतिशत रहेको थियो ।
फागुन महिनासम्म खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ३.६० प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.६३ प्रतिशत रहेको छ । गत वर्षको सोही अवधिमा यी समूहहरूको मुद्रास्फीति क्रमशः ३.३४ प्रतिशत र ३.९७ प्रतिशत रहेको थियो ।
चालु आर्थिक वर्षको आठ महिनाको औसत मुद्रास्फीति २.१३ प्रतिशत रहेको छ, जुन गत आव वर्षको सोही अवधिको ४.७२ प्रतिशतको तुलनामा न्यून हो ।
खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत तरकारी उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ११.४९ प्रतिशत, घ्यू तथा तेलको ९.८६ प्रतिशत र फलफूलको ९.६३ प्रतिशतले वृद्धि भएको छ । त्यसैगरी, दाल तथा गेडागुडी उप–समूहको ३.६६ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको २.१८ प्रतिशत र मरमसलाको २.०३ प्रतिशतले घटेको छ ।
गैर–खाद्य तथा सेवा समूहतर्फ विविध वस्तु तथा सेवा उप–समूहको मूल्य २२.८१ प्रतिशतले बढेको छ । शिक्षामा ७.४६ प्रतिशत, मदिराजन्य पेय पदार्थमा ४.७७ प्रतिशत, कपडाजन्य तथा जुत्ताचप्पलमा ४.७३ प्रतिशत र सुर्तीजन्य पदार्थमा ३.५७ प्रतिशत वृद्धि भएको छ । बीमा तथा वित्तीय सेवाहरू भने ०.०३ प्रतिशतले घटेका छन् ।
क्षेत्रगत रूपमा समीक्षा महिनामा ग्रामीण क्षेत्रको मुद्रास्फीति ३।०६ प्रतिशत र सहरी क्षेत्रको ३.८२ प्रतिशत रहेको छ । प्रदेशगत रूपमा कोशी प्रदेशमा ३.९६ प्रतिशत, मधेश प्रदेशमा ४.९५ प्रतिशत, बागमती प्रदेशमा ३.३१ प्रतिशत, गण्डकी प्रदेशमा २.८७ प्रतिशत, लुम्बिनी प्रदेशमा ४.२१ प्रतिशत, कर्णाली प्रदेशमा २.२१ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा २.२५ प्रतिशत मुद्रास्फीति रहेको छ ।
भौगोलिक क्षेत्रअनुसार काठमाडौं उपत्यकामा ३.६४ प्रतिशत, तराईमा ४.११ प्रतिशत, पहाडमा ३.११ प्रतिशत र हिमालमा २.८३ प्रतिशत मुद्रास्फीति कायम रहेको छ ।












प्रतिक्रिया दिनुहोस्