काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सेयर बजारलाई विकास गर्न भन्दै ल्याउन लागेको ‘नेप्से–३०’ लामो समयदेखि नेप्से भित्रै गायब भएको छ । नेप्सेले प्रकाशनमा ल्याउन लागेको ‘नेप्से ३०’ को काम अन्तिम चरणमा पुगेको थियो । नेप्सेको अध्यक्षबाट शोभाकान्त पौडेल बाहिरिएसँगै यो काम पनि रोकिएको छ ।
पौडेलको कार्यकालमा नै ‘नेप्से ३०’ प्रकाशन गर्ने अन्तिम तयारी भएको थियो । यो काम पौडेलकै कारण रोकिएको हो । ‘नेप्से ३०’ कार्यान्वयका लागि सञ्चालक समितिबाट स्वीकृत गर्ने अन्तिम बैठक हुनुअघि अध्यक्ष पौडेलले रोकेका थिए ।
स्रोतका अनुसार सबै काम सकिएर अन्तिममा यो स्वीकृत गर्दा, आफुलाई वा नेप्सेलाई के फाइदा हुने भन्ने प्रश्न गर्दै उनले त्यो फाइल अन्तिम बैठकमा ल्याउन रोकेका थिए । उनी ‘नेप्से ३०’ कार्यान्वयमा ल्याउँदा ३० कम्पनीको मूल्य बढाउन खोजेको हो की भन्ने आशय बजारमा जाने र त्यसबाट आफू आलोचित हुनुपर्छ की भनेर फाइल रोकेको स्रोतको भनाइ छ ।
उनी डराउनुको कारण भनेको सचिवमा बढुवा हुने तयारीमा रहेको र धितोपत्र बोर्डका तत्कालिन अध्यक्ष भिष्मराज ढुंगानाले ५२ कम्पनीको नाम सार्वजनिक गर्दा पौडेल बोर्डमा सञ्चालकमा थिए । त्यो बेला आफु आलोचित भएको र ‘नेप्से ३०’ ल्याउँदा पनि आलोचित हुनुपर्ने भन्दै अन्तिम समयमा फाइल रोकेका थिए । यसले बजार विकास हुन्छ भन्दा उनले बजार विकास गर्ने ठेक्का नेप्सेको मात्रै हो र भन्दै सन्चालक सिमितमा ठूलो स्वर समेत गरेको तत्कालिन एक सन्चालकले बताए । त्यसपछि आएका अध्यक्ष र तथा सीईओले यो विषयमा चासो दिएका छैनन् ।
अहिले नेप्सेमा नेप्से ३० ल्याउने भन्दा पनि इन्डेक्सलाई नयाँ तरिकाले व्यवस्थापन गर्ने विषयमा छलफल भएको बताइएको छ । त्यो नयाँ तरिका के हो भनेर जानकारी भने गराइएको छैन । तत्कालिन समयमा नेप्से सञ्चालक समितिले प्रस्तावित ‘नेप्से–३०’ इन्डेक्स प्रकाशनका लागि ‘इन्डेक्स व्यवस्थापन समिति’ बनाउन स्वीकृत समेत दिएको थियो ।
नेप्सेका सीईओ, विभागीय प्रमुख, अनुसन्धान शाखा प्रमुख लगायत रहने गरी समिति गठन गर्ने निर्णय भएको थियो । समिति छनोट बिना नेप्से–३० प्रकाशनमा ल्याउन सम्भव थिएन । त्यो समितिले ‘नेप्से–३०’ का लागि आवश्यक कानून, व्यवहारिक तथा प्राविधिक पक्षलाई समावेश गरेर सुझावसहित सिफारिस गर्ने कार्यक्षेत्र थियो । समितिले गरेको सिफारिसका आधारमा ‘नेप्से ३०’ प्रकाशन गर्ने तयारी थियो । त्यो सुझाव ग्रहण गरेर नेप्से ३० प्रकाशनका लागि बोर्ड बैठकले स्वीकृत गर्ने समयमा पौडेलले रोकेका हुन ।
नेप्सेले ‘नेप्से ३०’ का बारेमा धितोपत्र बोर्डलाई समेत जानकारी गराइसकेको थियो । ‘नेप्से ३०’ प्रकाशनका लागि सूचकांक (इन्डेक्स) विकास, सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कार्यविधि–२०७९ स्वीकृत भएको थियो । नेप्सेले ‘नेप्से ३०’ मा पर्ने कम्पनीको सूची समेत तयार पारिसकेको थियो । जसमा तत्कालिन समयमा ८ वटा वाणिज्य बैंक, ४ वटा जलविद्युत कम्पनी, ५ वटा बिमा कम्पनी, उत्पादन तथा प्रशोधन समूहका २ वटा, माइक्रोफाइनान्स ८ वटा अन्यमा ८ वटा कम्पनी थिए ।
नेप्सेका अनुसार इन्डेक्स गणना विधिलाई वास्तविक बनाउन तथा ‘नेप्से ३०’ प्रकाशनमा आएपछि बजारको उतार चढाबलाई वास्तविक बनाउने छ । नेप्सेले दोस्रो बजार कारोबारलाई थप प्रभावकारी बनाउने गरी सूचकांकहरुको विकास, सञ्चालन तथा व्यवस्थापन गर्ने उद्देश्यले तत्काल कारोबारयोग्य सेयरहरुलाई समावेश गरी बजार पुँजीकरणमा आधारित सूचकांकको रुपमा ‘नेप्से ३०’ इन्डेक्स ल्याउने जनाएको छ ।
उक्त सूचकांकले बजार कारोबार तथा उतारचढावलाई प्रतिबिम्बित गर्नुका साथै डेरिभेटिभ प्रकृतिको निश्चित अवधिको कारोबार उपकरण सञ्चालन, पोर्टफोलियो व्यवस्थापन, एक्सचेन्ज ट्रेडेड फण्ड सञ्चालन लगायतमा सघाउ पुर्याउने अपेक्षा नेप्सेको छ । ‘नेप्से ३०’ इन्डेक्समा समावेश हुने कम्पनीको प्रतिसेयर चुक्ता मूल्यभन्दा प्रतिसेयर किताबी मूल्य बढी हुनु पर्छ । विगत ५ आर्थिक वर्षमध्ये पछिल्लो आर्थिक वर्षसहित कम्तिमा ३ वर्ष नाफामा रहेको, अघिल्लो आर्थिक वर्षमा प्रतिसेयर आम्दानी चुक्ता मूल्यको न्यूनतम १० प्रतिशत रही सोही वर्षको वार्षिक मुद्रास्फीति दर भन्दा बढी रहेको हुनुपर्ने शर्त छ ।
कम्पनीको कम्तिमा २५ प्रतिशत सेयर सर्वसाधारणमा जारी भएको वा कुल फ्रि–फ्लोट बजार पुँजीकरणमा सम्बन्धित कम्पनीको फ्रि–फ्लोट बजार पुँजीकरण एक प्रतिशत भन्दा बढी रहेको हुनुपर्ने छ । ‘नेप्से ३०’ को सूचीमा पर्नका लागि सेयरधनीको संख्या कम्तिमा २० हजार हुनुपर्ने, पछिल्लो ६ महिनामा दैनिक औसत २५ लाख वा सोभन्दा बढी रकमको कारोबार भई दैनिक औसत ५ हजार कित्ता वा सोभन्दा बढी कित्ता सेयर कारोबार भएको, दैनिक औसत ४० वा सोभन्दा बढी पटक कारोबार भएको हुनुपर्ने, पछिल्लो ६ महिनाको अवधिमा उपलब्ध कारोवार दिनहरु मध्ये न्यूनतम ७५ प्रतिशत दिनहरुमा कारोबार भएको हुनुपर्ने शर्त छ ।
नेप्सेले ‘नेप्से ३०’ इन्डेक्सको गणना विधि पनि तयार पारिसकेको छ । क सूचीमा समावेश भएका सूचीकृत संस्थाको फ्रिफ्लोट बजार पुँजीकरण, पछिल्लो बर्षको प्रति सेयर आम्दानी, कारोबार रकम, कारोबार संख्या तथा कारोबार कित्ताका आधारमा सबैलाई भार प्रदान गरी कुल भार गणना गरिने छ । संगठित संस्थाहरुको संख्या ३० भन्दा बढि भएमा कुल भारमा कम भार भएका कम्पनीहरुलाई हटाई ३० कम्पनी कायम गर्ने र यसरी कम्पनी हटाउदा प्रत्येक समूहबाट कम्तीमा एक संगठित संस्था कायम गर्ने प्रस्ताव रहेको छ ।
यो इन्डेक्स गणना गर्नका लागि आधार बजार पुँजीकरण २०७९ पुस ३० गतेको फ्रिफ्लोट बजार पुँजीकरणलाई लिईने गणना विधिमा उल्लेख छ । इन्डेक्सलाई प्रत्येक वर्ष भदौ महिनाको अन्तिम शुक्रबार र फागुन महिनाको अन्तिम शुक्रबार रिब्यलेन्सिङ गरी कम्पनी थपघट गरिने उल्लेख छ ।
नेप्सेका तत्कालिन अध्यक्ष पौडेल गत वैशाख ३१ गते सचिवमा बढुवा भए । सचिवमा बढुवा भएपछि उनले नेप्से छोडे । त्यसपछि सरकारले हेमन्त बस्याललाई गत भदौमा अध्यक्षमा नियुक्त गरेको छ । नेप्सेमा अध्यक्ष पौडेल भएको समयमा प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा चुडामणी चापागाई रहेका थिए । उनीहरुले पनि नेप्से ३० प्रकाशनका लागि कुनै काम गरेका छैनन् ।
नेप्सेका प्रवक्ता मुराहरी पराजुली नेप्से ३० को विषयमा अहिले केही पनि काम नभएको बताउँछन् । यसलाई अब नयाँ सिराबाट छलफल गर्न बाँकी रहेको उनको भनाई ।












प्रतिक्रिया दिनुहोस्