काठमाडौं । आज बसेको मन्त्रिपरिषदको बैठकले विभिन्न ७ वटा निर्णय गरेको छ ।
सरकारका प्रवक्ता एवम् शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार आज बसेको बैठकले सातामा २ दिने बिदा दिने, सहुलियतपूर्ण ऋण स्वीकार गर्ने, डिजेल तथा पेट्रोल गाडीलाई विद्युतीय गाडीमा परिवर्तन गर्नका लागि आवश्यक कानुनी व्यवस्था मिलाउने लगायत निर्णय भएका छन् ।
यस्ता छन् ७ निर्णय
अर्थ मन्त्रालयबाट डिजिटल नेपाल ट्रान्सफर्मेशन प्रोजेक्टका लागि क्रमश: एसियाली विकास बैंक तथा विश्व बैंकले प्रदान गर्ने ४० मिलियन अमेरिकी डलर र ५० मिलियन अमेरिकी डलर गरी जम्मा ९० मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने,
अर्थ मन्त्रालयकै दिगो र समावेशी वित्त परियोजनाका लागि विश्व बैंकबाट प्राप्त हुने ९५ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने,
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट नेपाल सरकारका सबै मन्त्रालय, सचिवालय, आयोग र अन्तर्गतका निकायहरूको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति दिने,
राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष श्री धर्मेन्द्र झाले दिएको राजीनामा स्वीकृत गर्ने,
पेट्रोलियम आपूर्तिमा उत्पन्न असहजताका कारण ८२ चैत २३ गतेबाट लागू हुने गरी सरकारी कार्यालय तथा सम्पूर्ण शैक्षिक संस्थाहरूमा शनिबार र आइतबार बिदा दिने तथा शैक्षिक संस्था बाहेक उल्लेखित कार्यालयहरूको कार्यालय समय ९ देखि ५ बजे कायम गर्ने,
अन्तिममा आगामी शैक्षिक सत्र २०८३ वैशाख १५ गतेबाट सुरु गर्ने,
डिजेल तथा पेट्रोल गाडीलाई विद्युतीय गाडीमा परिवर्तन गर्नका लागि आवश्यक कानुनी व्यवस्था मिलाउने निर्णय भएको छ ।












प्रतिक्रिया दिनुहोस्