काठमाडौं । गोल्याण ग्रुपको उपाध्यक्षसमेत रहेका बासुदेव गोल्याण रोटरी इन्टरनेशनलको जोन ५ र ६ का लागि रोटरी इन्टरनेशनल निर्देशक बनेका छन् । सन् २०२७–२०२९ कार्यकालका लागि निर्वाचित भएका उनी उक्त पदमा पुग्ने पहिलो नेपाली हुन् ।
रोटरी इन्टरनेशनलको गत फेब्रुअरी १० मा सम्पन्न निर्वाचनमा गोल्याण अन्तर्राष्ट्रिय निर्देशक निर्वाचित भएका हुन् । उनले कूल १ हजार ७५५ मतमध्ये ९८१ मत प्राप्त गरेका थिए । रोटरी इन्टरनेशनल जोन ६ अन्तर्गत १० वटा डिस्ट्रिक्सहरु छन्, जसमध्ये ९ वटा भारतमा छन् । रोटरी इन्टरनेशनल निर्देशकको प्रतिस्पर्धामा भारतबाट तीनजना उम्मेदवार भए पनि गोल्याणले विजयी हासिल गरेका हुन् ।
रोटरी इन्टरनेशल निर्देशक निर्वाचित भएको अवसरमा शनिबार रोटरी नेपालसँगको सहकार्यमा गोल्याण ग्रुपले उनको सम्मान कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ का डिस्ट्रिक्ट गभर्नर विनोद कोइरालाले गोल्याणलाई सम्मान गरेका थिए । कार्यक्रममा रोटरी इन्टरनेशनलका अध्यक्ष ओलायिन्का हाकीम बाबालोलाले भिडियो कलमार्फत गोल्याणलाई बधाई र शुभकामना दिएका थिए ।
सो अवसरमा नेपाल र भारतका करिब २ सय पूर्वडिस्ट्रिक्ट गभरनर्सका साथै अन्य उद्योगी–व्यवसायी र रोटरियन सहभागी थिए । उनीहरु सबैले इन्टरनेशनल निर्देशक गोल्याणलाई सम्मानसहित बधाई दिँदै कार्यकाल सफलताको शुभकामना दिएका थिए । सम्मान ग्रहण गर्दै रोटरी इन्टरनेशनल निर्देशक गोल्याणले अझ धेरै जिम्मेवारी र इमान्दारिताका साथ सेवा गर्ने प्रतिवद्धता व्यक्त गरे । ‘आज संसारलाई पहिलेभन्दा बढी रोटरीको आवश्यकता छ, हामी केबल रोटरीका सदस्यमात्र होइन आशाका दूत बन्नेछौं,’ उनले भने, ‘यसको लागि म रोटरीको मूल्यमान्यतालाई आत्मसाथ गर्दै हाम्रो प्रभावलाई विस्तार गर्न र अझ बढी मानवताको सेवामा लाग्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’
उनले आफ्नो कार्यकालमा सदस्यता विकास र रोटरी फाउण्डेसनमा योगदान तथा सहभागिता वृद्धि गर्न ध्यान दिने जानकारी गराए । ‘तपाइँ पहुँच नभएकासम्म पुग्नुहोस्, सेवा नपाएकाहरुको सेवा गर्नुहोस् अनि प्रेरणाको स्रोत बन्नुहोस्,’ रोटरियनलाई उनले भने ।












प्रतिक्रिया दिनुहोस्