काठमाडौं । सरकारले डिजिटल सुशासनलाई सुदृढ बनाउने दीर्घकालीन लक्ष्यअनुसार नागरिक सेवाहरूलाई अनलाइनमार्फत उपलब्ध गराउने अभियानलाई योजनाबद्ध रूपमा अघि बढाएको छ ।
यसै क्रममा अब निजामती कर्मचारीको व्यक्तिगत विवरण, लोक सेवा आयोगका परीक्षार्थीको प्रवेशपत्र तथा वैदेशिक अध्ययनका लागि आवश्यक ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) नागरिक एपमार्फतै प्राप्त गर्न सकिने व्यवस्था अन्तिम चरणमा पुगेको छ । सूचना प्रविधि विभागका महानिर्देशक चन्द्र साहले हाल उक्त प्रणाली परीक्षणको चरणमा रहेको र आगामी एक हप्ताभित्र पूर्ण रूपमा कार्यान्वयनमा आइसक्ने जानकारी दिए ।
यहि चैत १३ गते मन्त्रिपरिषद्बाट स्वीकृत ‘शासकीय सुधार सम्बन्धी एक सय कार्यसूची’ अन्तर्गत बुँदा नंम्बर ३५ मा यो विषय उल्लेख थियो । सो बुँदा कार्यान्वयनका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले समयसीमा सहितको कार्यायोजना तयार पारी सम्बन्धित निकायलाई तोकिएको अवधिभित्रै काम सकिसक्न भनेको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले मातहतका सम्बन्धित निकायहरूलाई नागरिक एपमार्फत थप सेवा एकीकृत गर्न तथा डिजिटल प्लेटफर्ममार्फत सेवा विस्तारलाई तीव्रता निर्देशनसमेत दिए । मन्त्रीस्तरीय निर्देशनपछि सूचना प्रविधि विभागले विभिन्न सरकारी तथा प्राविधिक निकायहरूसँग समन्वय सुरु गरिसकेको छ ।
सोही क्रममा नेपाल इन्जिनियरिङ्ग परिषद्सँग सम्झौता गरी व्यवसायिक इन्जिनियरहरुको प्रमाणपत्र पनि नागरिक एपबाटै उपलब्ध हुने गरी प्रक्रिया अघि बढिसकेको विभागका महानिर्देशक साहले जानकारी दिए ।
नयाँ प्रणाली कार्यान्वयनमा आएपछि नागरिकहरूले नागरिक एपमार्फतै विभिन्न महत्वपूर्ण सेवा प्राप्त गर्न सक्नेछन् । यसअन्तर्गत लोक सेवा आयोगका परीक्षार्थीहरूले प्रवेशपत्र, वैदेशिक अध्ययनका लागि आवश्यक ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी), तथा निजामती कर्मचारीहरूले आफ्नो व्यक्तिगत विवरण नागरिक एपबाटै प्राप्त गर्न सक्नेछन् ।
यसअघि नै नागरिक एपमार्फत प्रहरी चारित्रिक प्रमाणपत्र (पुलिस क्लियरेन्स रिपोर्ट) प्राप्त गर्ने सुविधा सञ्चालनमा आइसकेको छ । अब थप सेवाहरू एकीकृत भएसँगै नागरिक एपलाई ‘वन–स्टप डिजिटल सेवा प्लेटफर्म’ बनाउने सरकारको योजना थप सशक्त हुने अपेक्षा गरिएको छ ।












प्रतिक्रिया दिनुहोस्