Skip to content

चिउरामा ‘कुरुम कुरुम’ ब्राण्ड लेख्ने अधिकार हाइलाइफलाई, उद्योग विभागको फैसला

nabil bank

काठमाडौं । चिउरामा कुरुम कुरुम ब्राण्ड लेख्ने अधिकार हाइलाइफले पाएको छ ।

उद्योग विभागले हाइलाइफ–सिक्सभिल्ला ट्रेडमार्क विवादमा कुरुम कुरुम ब्राण्डको अधिकार हाइलाइफको भएको निर्णय गरेको हो ।

हाइलाइफ उत्पादन गर्ने नेपाल एभरेष्ट फुड एण्ड स्न्याक्स प्रालि र सिक्सभिल्ला प्रालि बीच लामो समयदेखि चलिरहेको व्यापारिक चिन्ह सम्बन्धी विवादमा उद्योग विभागले अन्तिम निर्णय सुनाउँदै सिक्सभिल्ला प्रालिको दर्ता बदर गरेको हो ।

विभागको निर्णयसँगै हाइलाइफको ब्राण्ड कलर तथा चिउरा उत्पादनमा अन्य उत्पादकले पनि कुरुम कुरुम शब्द लेख्न पाउने छैनन् । बजारमा पठाइएको चिउरा समेत फिर्ता लग्नुपर्ने हुन्छ ।

विभागले दुवै पक्षका प्रमाण, तर्क र सर्वोच्च अदालतका नजिरहरूको अध्ययनपछि चिउरामा कुरुम कुरुमको ब्राण्डको अधिकार हाइलाइफकाृ भएको सुनाएको हो ।

नेपाल एभरेष्ट फुड एण्ड स्न्याक्स प्रालिले प्रयोग गर्दै आएको “हाइलाइफ” नामक व्यापारिक चिन्ह र त्यससँग सम्बन्धित लेबल, डिजाइन, रङ्ग सिक्सभिल्ला प्रालिले सोही चिन्हको रूप, बनावट र प्रस्तुति हुबहु नक्कल गरी आफ्नो नाममा दर्ता गराएको थियो ।

“हाइलाइफ” ब्रान्ड लामो समयदेखि बजारमा स्थापित भइसकेको, उपभोक्ताले चिन्ने र विश्वास गर्ने चिन्ह बनेको अवस्थामा सिक्सभिल्लाले मिल्दोजुल्दो संरचना प्रयोग गर्दा उपभोक्तामा भ्रम उत्पन्न हुने र आफ्नो व्यापारिक साखमा प्रत्यक्ष असर पर्ने अवस्था सिर्जना गरेको थियो ।

उद्योग विभागले दुवै पक्षको दाबी, पेश भएका कागजात र दृश्य प्रमाणहरूको अध्ययनपछि सिक्सभिल्लाले दर्ता गराएको व्यापारिक चिन्ह “हाइलाइफ” सँग अत्यधिक मिल्दोजुल्दो रहेको निष्कर्ष निकालेको हो ।

विशेषगरी लेबलको बनावट, रङ्ग संयोजन, अक्षरको शैली, वस्तुको प्रस्तुति र समग्र बाहिरी स्वरूपमा उल्लेखनीय समानता देखिएको विभागले जनाएको छ।

“व्यापारिक चिन्हको मुख्य विशेषता नै फरक पहिचान हुनु हो। कुनै पनि चिन्हले बजारमा अलग पहिचान बनाउन नसकेमा वा पहिले नै स्थापित चिन्हसँग मिल्दोजुल्दो देखिएमा त्यसलाई वैध मान्न सकिँदैन। यस सन्दर्भमा ‘हाइलाइफ’ पहिले नै दर्ता भई प्रयोगमा आएको र बजारमा स्थापित भएको प्रमाणित भएपछि ‘सिक्सभिल्ला’ को दर्ता मौलिक भएको देखिएन,”उद्योग विभागको फैसलामा भनिएको छ ।

सर्वोच्च अदालतका विभिन्न नजिरहरूलाई आधार बनाउँदै उद्योग विभागले व्यापारिक चिन्हलाई औद्योगिक सम्पत्तिको रूपमा व्याख्या गरेको छ। कुनै पनि उद्यमीले सिर्जना गरेको चिन्ह, डिजाइन वा पहिचानमा उसको एकाधिकार रहने र त्यसको संरक्षण गर्नु राज्यको दायित्व हुने नजिरहरूमा उल्लेख गरिएको छ ।

यस्तै, उपभोक्तालाई झुक्याउने वा भ्रममा पार्ने उद्देश्यले मिल्दोजुल्दो चिन्ह प्रयोग गर्नु व्यापारिक मर्यादाविपरीत हुने र यसले बजारमा अस्वस्थ प्रतिस्पर्धा निम्त्याउने पनि निर्णयमा लेखिएको छ ।

विभागले सिक्सभिल्ला प्रालिको दर्ता उपभोक्तामा भ्रम सिर्जना गर्ने खालको भएको, मौलिकता नदेखिएको र उजुरकर्ताको स्थापित पहिचानसँग अत्यधिक समानता रहेको ठहर गर्दै उक्त व्यापारिक चिन्हको दर्ता बदर गर्ने निर्णय सुनाएको हो।

निर्णयमा व्यापारिक चिन्ह दर्ता गर्दा केवल पहिलो निवेदन मात्र आधार नहुने, बरु चिन्हको मौलिकता, फरक पहिचान र उपभोक्तामा भ्रम नपार्ने पक्षहरू पनि समान रूपमा महत्वपूर्ण हुने उल्लेख छ ।

विभागको यो निर्णयले नेपालमा बौद्धिक सम्पत्तिको संरक्षण, मौलिक सिर्जनाको सम्मान र उपभोक्ता हितको सुरक्षा सन्देश गएको छ ।

बजारमा स्थापित चिन्हको नक्कल गरेर व्यापारिक फाइदा लिन खोज्ने प्रवृत्तिलाई निरुत्साहित भएको छ । यसले स्वस्थ प्रतिस्पर्धालाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi