Skip to content

काल्सबर्गका नेपाल साझेदार राजबहादुर शाह एक अर्बको घोटालामा, दुई वर्षसम्म जेल सजाय सिफारिस

nabil bank

काठमाडौं । बहुराष्ट्रिय कम्पनी काल्सबर्गका नेपाल साझेदार राजबहादुर शाह चर्चित सेयर बजार घोटाला काण्डमा मुछिएका छन् ।

धितोपत्र बोर्डले गरेको अध्ययनले शाहले अर्का व्यवसायी दीपक भट्टसँग मिलेर सेयर बजारमा अनियमित कारोबार गरेको देखाएको छ ।

बोर्डको अध्ययनअनुसार शाहलाई दुई वर्षसम्म कैद सजाय हुने गरी सिफारिस गरिएको छ ।

शाह नेपालको मदिरा व्यवसायमा ठूला उद्योगीका रूपमा चिनिन्छन् । उनी राज्यलाई सबैभन्दा बढी आयकर तिर्ने व्यवसायीमध्ये पनि पर्छन् ।

शाह हालै काल्सबर्गको नेपाल उत्पादक गोर्खा ब्रुअरीमा प्रवेश गरेका छन् । गोर्खा ब्रुअरीले राज ब्रुअरीलाई अधिग्रहण गरेपछि उनी काल्सबर्गसँग जोडिएका हुन् । सुरुवातमा उनको ८ प्रतिशत सेयर स्वामित्व रहेको र पछि १५ प्रतिशतसम्म पुग्ने व्यवस्था गरिएको छ ।

हाल उनी गोर्खा ब्रुअरीका सञ्चालक समितिका अध्यक्षसमेत रहेका छन् ।

शाह उधारो कारोबारमा समेत संलग्न रहेको पाइएको छ । लगानीन्यूजले प्राप्त विवरणअनुसार उनले करोडौं रुपैयाँ बराबरको उधारो कारोबार गरेका छन् ।

प्राप्त विवरणअनुसार शाहले धितोपत्र दलाल कम्पनी भृकुटी स्टक ब्रोकिङ्ग प्रालिलाई ८९ करोड ७० लाख ९७ हजार ३४६ रुपैयाँ ७१ पैसा तिर्न बाँकी छ । उनले २०८२ साउन २१ गतेदेखि उक्त रकम भुक्तानी नगरेको देखिएको छ ।

शाहले उक्त रकम नतिरी निरन्तर उधारो कारोबार गरेको तथ्य भेटिएको छ ।

उनीले २०८२ असार २३ गतेदेखि साउन ४ गतेसम्म नेपाल रिइन्स्योरेन्स कम्पनीको १० लाख ५१ हजार २०४ कित्ता सेयर विभिन्न मूल्यमा कुल १ अर्ब ४१ करोड ८० लाख ७२ हजार ९३७ रुपैयाँ ९५ पैसामा खरिद गरेका थिए ।

जसमध्ये उनले ५२ करोड ५० लाख रुपैयाँ मात्र भृकुटी स्टक ब्रोकिङ्गलाई तिरेका छन् । बाँकी ८९ करोड ७० लाख ९७ हजार ३४६ रुपैयाँ ७१ पैसा अझै भुक्तानी हुन बाँकी रहेको छ ।

शाहले धितोपत्र खरिद गर्दा अग्रिम रकम जम्मा नगरी कारोबारको सीमा प्राप्त गरेको, भुक्तानी नगरे पनि ब्रोकरमार्फत सेयर खातामा जम्मा गरिएको पाइएको छ । यसरी नेपाल रिइन्स्योरेन्स कम्पनीको सेयर खरिद भएको देखिन्छ ।

त्यसैगरी, शाहले हिमालयन लाइफ इन्स्योरेन्सको १ लाख २५ हजार १११ कित्ता सेयर १६ करोड ५६ लाख ९२ हजार ९८२ रुपैयाँ ६० पैसामा खरिद गरेका छन् ।

यस्तै उनले शुभी अग्रवालको नाममा रहेको ३ लाख ९ हजार ९३६ कित्ता सेयर ४० करोड ७३ लाख १३ हजार ८९८ रुपैयाँ ७० पैसामा खरिद गरेको देखिएको छ ।

शाहले दीपक भट्टकै शैलीमा अग्रिम रकम नदिई कारोबार सीमा लिएर सेयर खरिद गरेको, पूर्ण भुक्तानी नगरे पनि सेयर आफ्नो खातामा प्राप्त गरेको देखिएको छ ।

यसले सेयरको मूल्य वृद्धि गराउन सहयोग पुगेको तथा लगानीकर्ता र धितोपत्र बजारलाई भ्रममा पार्ने काम भएको निष्कर्ष निकालिएको छ ।

शाहले भृकुटी स्टक ब्रोकिङ्गसँग मिलेर धितोपत्रको मूल्य कृत्रिम रूपमा बढाएको देखिएको छ । यसरी उनले धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९६ र दफा ९८ बमोजिम कसूर गरेको पाइएको छ ।

दफा ९६ मा धितोपत्र बजारलाई प्रभावित पार्ने कार्य र दफा ९८ मा जालसाजीयुक्त कारोबार सम्बन्धी व्यवस्था गरिएको छ ।

ऐनको दफा १०१ अनुसार यस्तो कसूरमा दण्ड सजायको व्यवस्था छ । दफा ९६ अनुसार कसूर गरेमा ५० हजारदेखि १ लाख ७५ हजार रुपैयाँसम्म जरिवाना वा एक वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ । साथै, कसैलाई हानी नोक्सानी पुगेको भए त्यसको क्षतिपूर्ति पनि भराउनुपर्ने हुन्छ ।

त्यसैगरी, दफा ९८ अनुसार कसूर गरेमा १ लाखदेखि ३ लाख रुपैयाँसम्म जरिवाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ । साथै, पीडितलाई भएको नोक्सानीसमेत भराउनुपर्ने उल्लेख गरिएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
national life
citizen life
MAK 4T
Arghakhachi