Skip to content

आयात रोकिँदा नेपाली केराले मूल्य पाउन थाले, घरघरमै लिन आउँछन् व्यापारी

nabil bank

काठमाडौं । बागलुङ नगरपालिका–१३ नयाँपुलका लीलाधर जैसीको केरा बारीमा हिजोआज दिनकै बजारका व्यापारीको बास हुन्छ । स्थानीय जातका केराको खोजीमा बागलुङ र कुश्मा बजारका व्यापारी दिनदिनै उनको बारी धाउँछन् ।

पछिल्लो छ महिनायता लीलाधर र उनको गाउँका किसानले केरा बेच्नका लागि बजार जानु परेको छैन । घरघरमै दिनदिनै आउने व्यापारीले केरा आफैँ खोज्छन्, आफैँले काट्छन् र गन्ती गरेपछि केराकै बोटको फेदमा पैसा बुझाउँछन् । यो देखेर यहाँका किसान दङ्ग छन् । भारतीय केराको आयात रोकिएपछि यहाँका स्थानीय केराको मूल्य बढेको छ ।

जाडो मौसममा प्रतिदर्जन रु ६० र गर्मी मौसममा प्रतिदर्जन रु ७० देखि ८० मा बिक्री हुँदै आएको केरा आजभोलि दर्जनको रु १०० पर्न थालेको छ । बजार जाने झन्झट नहुने र बारीमै केराको मूल्य बढी पाउँदा निकै खुसी लागेको जैसी बताउनुहुन्छ । दर्जनमा हिसाब हुने गाउँघरमा व्यापारीले किसानको बारीबाट नै केरा उठाएर थैलो भर्छन् । यहाँका किसानको दैनिकी धान्ने अर्को स्रोत केरा हो । नयाँ पुल आसपासका क्षेत्रमा केराखेती विस्तार हुँदै गइरहेको छ ।

बागलुङको जैमिनी नगरपालिका–४ सर्कुवाका किसान ईश्वरीप्रसाद शर्माले पनि पछिल्लो समय केराले राम्रो मूल्य पाएको बताए । बजारमा भारतीय केरा र नेपालको तराईको केरा आउँदा स्थानीय जातका केरा बिक्री गर्न कठिन हुने गरेको भए पनि पछिल्लो समय केराको माग उच्च रहेको उनले बताए । ‘योबेला केरा फलाउन सकेको भए निकै राम्रो मूल्यमा बिक्री हुने रहेछ’, जैमिनी नगरपालिका–१ कुश्मीशेराका किसान मोतीप्रसाद शर्माले भने, ‘अघिल्ला वर्षको तुलनामा यो वर्ष केराको माग उच्च छ ।’ माग र मूल्य दुवै बढेकाले केराखेती गरेका किसानले राहतको महसुस गरेको उनले बताए ।

वर्षात्को समयमा मात्रै कोदो र मकै फल्ने बारीलाई सदुपयोग गरेर यहाँका किसानले केराखेती गर्दै आएका छन् । ‘मकै र कोदोको मूल्य हिसाब गर्दा वर्षमा १८ हजार कमाई हुन्थ्यो, लगाउने गोड्ने दुःख त कति हो कति’, शर्माले भने, ‘समयमा पानी र मल दिएपछि राम्रो फल्ने केराले अहिले मेरो दैनिकी नै बदलिएको छ ।’ पछिल्लो समय गाउँका किसानले परम्परागत खेतीलाई परिवर्तन गरेर केराखेती गरेका छन् । मोतीप्रसाद शर्माले जस्तै जैमिनीका किसानले बाँझो जग्गा र खेतीयोग्य जमिनमा केराखेती गरेका छन् । किसानले केराका लागि आवश्यक मलको जोहो गर्न गाईभैँसी पालेका छन् । खानेपानीका लागि प्रयोग भइरहेको पानीलाई बचत गरेर केरामा सिँचाइ गर्छन् ।

यहाँका किसानले स्थानीय रामरेखे लोकल, मालबोक, मुङ्ग्रे, ध्रुसे, फुस्रे, जहाजी, चिनीकेरालगायत केराखेती गरेको जैमिनी नगरपालिकाका कृषि प्राविधिक रविन्द्र शर्मा बताए । कसैले व्यावसायिक खेती गरेका छन् भने केहीले आफ्नो धेरैथोरै जग्गामा दुई चार बोट मात्रै केरा लगाएरै अम्दानीसँग जोडिएका छन् ।

बजारमा पनि पछिल्लो समय स्थानीय केराकै माग धेरै छ । स्थानीय जातको केरा पकाउनका लागि कुनै विषाधीको प्रयोग गर्न नपर्ने र खाँदा स्वादिलो भएकाले केराको माग उच्च रहेको बागलुङ बजारका व्यवसायी सागर सुवेदीले बताए। ‘यहाँको केरा पाकेपछि पनि लामो समय टिक्छ, घाटा हुँदैन’, सुवेदीले भने, ‘तराई र भारतको केराभन्दा व्यवसायी र उपभोक्ता दुवैलाई यो केरा फाईदा हुनेखालको छ ।’ पछिल्लो समय केराको मूल्य बढाएरै किसानलाई भुक्तानी दिने गरिएको सुवेदीले बताए। उनका अनुसार पछिल्लो एक वर्षयता बागलुङ बजारमा केराको माग स्थानीय केराले नै धानेको छ ।

बजारमा स्थानीय केराको मूल्यप्रति दर्जन रु १२० देखि १८० सम्ममा बिक्री हुने गरेको छ । एकद रुपमा तराईबाट आउने केराको मूल्य भने प्रतिदर्जन २५० भन्दा धेरै छ । बागलुङ बजारमा दर्जन बढी होलसेल व्यपारीमार्फत दैनिक १०० कार्टुनभन्दा धेरै भारतीय केरा भित्रिने गरेको थियो ।

एक हजार ३०० देखि एक हजार ६०० प्रतिकार्टुन तिरेर यहाँका व्यवसायीले केरा खरिद गर्ने गरेका थिए । तर अहिले त्यो सबै माग स्थानीय केराले धानेको स्थाय थोक व्यवसायी खिमबहादुर केसीले बताए। ‘यति नै भनेर तथ्याङ्क राखिएको त छैन तर दैनिक दुई लाख माथि केराको खरिदमा बाहिरिने गरेको थियो’, केसीले भने, ‘मागेजति त पुगेको छैन, तर अहिले लोकल केराले अभाव हुन भने दिएको छैन ।’

बागलुङका स्थानीय सरकारले पनि केराखेतीको प्रवद्र्धनका लागि विभिन्न कार्यक्रम बनाएका छन् । जैमिनी नगरपालिकाले ‘शेरा जाउँ केरा खाउ’ अभियान नै घोषणा गरेको छ । किसानलाई बीउ मल र बजारीकरणमा स्थानीय सरकारले सहयोग गर्ने गरेको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले बताए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi