बर्दिया । ‘किसानको हात, हाइलाईफको साथ’ भन्ने मूल नाराका साथ हाइलाईफ एग्रो एण्ड फूड इन्डस्ट्रिज लिमिटेडले बर्दियाको गेरुवा गाउँपालिका-६ मा मकवानपुरे धान बीउ वितरण गरेको छ ।
आयोजित कार्यक्रममा स्थानीय ६१ जना कृषकहरूको सहभागिता रहेको थियो । बीउ वितरण प्रक्रियाका क्रममा कृषकहरूले आफूले भोग्दै आएका विभिन्न कृषिजन्य समस्या र जिज्ञासाहरू हाइलाईफका प्रतिनिधिहरू समक्ष राखेका थिए ।
कृषकहरूले गुणस्तरीय मल र बीउ नपाइने, सामान्य बीउ प्रयोग गर्दा बोट ढल्ने र उचित बजार मूल्य नपाउने गुनासा राखेका थिए ।
कार्यक्रममा हाइलाईफका सञ्चालक बासुदेव भुसालले कृषकका जिज्ञासाहरूलाई सम्बोधन गर्दै मकवानपुरे धान खेती गर्न आग्रह गरे । उनले किसानहरूलाई उत्पादित धानको उचित मूल्य र बजारको पूर्ण सुनिश्चितता दिँदै भने, “तपाईंहरू ढुक्क भएर मकवानपुरे धान लगाउनुहोस्, यसलाई खरिद गर्ने जिम्मा कम्पनीले लिनेछ” ।
कार्यक्रममा हाइलाईफ एग्रो एण्ड फूड इन्डस्ट्रिज लिमिटेडका प्रबन्ध निर्देशक पंकज ज्ञवालीले किसानहरूलाई उत्थान गर्ने र उनीहरूका समस्या समाधान गर्ने आफ्नो दृढ भावना व्यक्त गरे । उनले भने, “आज किसानहरूकै मिहिनेत र उहाँहरूले उपलब्ध गराउनुभएको गुणस्तरीय मकवानपुरे धानका कारण नै हाइलाईफले उच्च स्तरको चिउरा उत्पादन गर्न सफल भएको छ। यही कारणले गर्दा हामी नेपालभर र विकसित मुलुकहरूमा समेत निर्यात गरी एक ‘हाइ भ्यालु ब्रान्ड’ बन्न सफल भएका छौँ।”
ज्ञवालीले अगाडि थपे, “हाम्रो नजरमा किसानहरू केवल आपूर्तिकर्ता मात्र नभई हाम्रा वास्तविक साझेदार हुन्। त्यसैले किसानको सेवा गर्नु हाम्रो सामाजिक उत्तरदायित्व पनि हो ।”
कम्पनीले यसै वर्षदेखि उक्त क्षेत्रमा कृषि प्राविधिक खटाएर माटो परीक्षण, सही बीउ रोप्ने विधि र आधुनिक प्रविधिको बारेमा प्रशिक्षण दिने योजना बनाएको छ । बीउ वितरणसँगै प्राविधिक सहयोग र बजारको ग्यारेन्टी पाएपछि स्थानीय कृषकहरू निकै उत्साहित देखिएका छन् ।
यस पहलले निजी क्षेत्र र किसानबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याई कृषि क्षेत्रमा एउटा सार्थक परिवर्तन ल्याउने विश्वास गरिएको छ ।












प्रतिक्रिया दिनुहोस्