काठमाडौं । नेपालको वैदेशिक व्यापारमा उच्च व्यापार घाटा देखिएको छ। चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म आउँदा नेपाल ३४ वटा देशसंगमात्र व्यापार सन्तुलनमा देखिएको छ । बाँकी १२० देशसँग नेपालको व्यापार घाटामा रहेको देखिएको छ।
भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको १० महिनाको तथ्यांक अनुसार नेपालले विभिन्न देशबाट १६ खर्ब ९२ अर्ब ६४ करोड २६ लाख ४० हजार रुपैयाँ बराबरको वस्तु आयात गरेको छ भने २ खर्ब ४८ अर्ब ९६ करोड २६ लाख ७० हजार रुपैयाँ बराबरको मात्रै निर्यात गरेको छ।
यससँगै नेपालको कुल व्यापार घाटा १४ खर्ब ४३ अर्ब ६७ करोड ९९ लाख ७० हजार रुपैयाँ पुगेको छ। नेपालको सबैभन्दा ठुलो व्यापारिक साझेदार देश भारत हो।
भन्सार विभागका अनुसार भारतबाट ९ खर्ब ७४ अर्ब २९ करोड ७७ लाख ५६ हजार रुपैयाँ बराबरको वस्तु आयात हुँदा २ खर्ब ४ अर्ब ३७ करोड ७ लाख ४० हजार रुपैयाँ बराबरको मात्रै निर्यात भएको छ। भारतसँग नेपालको व्यापार घाटा ७ खर्ब ६९ अर्ब ९२ करोड ७० लाख ५२ हजार रुपैयाँ पुगेको छ।
भारत पछि नेपालको दोस्रो ठुलो व्यापार साझेदार देश चीन हो । चीनसँग पनि नेपालको व्यापार घाटामा रहेको छ । चालु आर्थिक वर्षको १० महिनामा चीनबाट ३ खर्ब ३६ अर्ब ४० करोड ९१ लाख ९४ हजार रुपैयाँ बराबरको आयात हुँदा १३ करोड ९३ लाख ६५ हजार रुपैयाँ बराबरको मात्रै निर्यात भएको छ।
चीनसँग नेपालको व्यापार घाटा ३ खर्ब ३५ अर्ब १ करोड ५५ लाख ३७ हजार रुपैयाँ रहेको विभागले जनाएको छ।
त्यसैगरी अर्जेन्टिना, संयुक्त राज्य अमेरिका, इन्डोनेसिया, थाइल्याण्ड, ब्राजिल, मलेसिया, युक्रेन, साउदी अरेबिया, जापान, बंगलादेश, फ्रान्स, सिंगापुर, दक्षिण कोरिया, क्यानडा, रुस र इटालीसँग पनि नेपालको व्यापार घाटा रहेको छ ।
चालु आवको १० महिनामा नेपालले सबैभन्दा धेरै निर्यात भारतमा गरेको छ। त्यसपछि संयुक्त राज्य अमेरिका, टर्की, सिंगापुर, भुटान, फ्रान्स, चीन, बंगलादेश, जापान र साउदी अरेबियामा नेपाली वस्तु निर्यात भएको छ।
यस अवधिमा नेपालको व्यापार फाइदा भएका देशहरू डेनमार्कसँग ६ करोड ३२ लाख २३ हजार रुपैयाँ, नर्वेसँग ५ करोड ९० लाख ९० हजार रुपैयाँ, रोमानियासँग ४ करोड ६८ लाख ४ हजार रुपैयाँ र आइसल्याण्डसँग २ करोड ४६ लाख ९३ हजार रुपैयाँ व्यापार फाइदामा रहेको छ ।












प्रतिक्रिया दिनुहोस्