काठमाडौं । आर्थिक वर्ष २०८१÷८२ मा देशका सार्वजनिक संस्थानहरूको वित्तीय अवस्था कमजोर बन्दै गएको देखिएको छ । समीक्षा अवधिमा व्यावसायिक कारोबार सञ्चालन गरेका संस्थानमध्ये पाँच सार्वजनिक संस्थान उच्च नोक्सानीमा देखिएकाे अर्थमन्त्रालयले जानकारी दिएकाे छ।
पाँच संस्थानले कुल नोक्सानको ५१.३८ प्रतिशतभन्दा बढी भार वहन गरेका छन् । गत समीक्षा अवधिमा यिनको नोक्सान हिस्सा ६३.६३ प्रतिशत रहेको थियो ।
यस अवधिमा सबैभन्दा धेरै नोक्सानमा रहेको संस्थान नेपाल वायुसेवा निगम कम्पनी रहेको छ । यो कम्पनी १ अर्ब २३ करोड ३८ लाख २६ हजार रुपैयाँ नोक्शानीमा रहेको छ । यसैगरी, नेपाल खानेपानी संस्थान ८० करोड ७९ लाख, नेपाल दुग्ध विकास संस्थान ४० करोड २१ लाख, हेटौंडा सिमेन्ट उद्योग ३१ करोड २४ लाख रुपैयाँ र उदयपुर सिमेन्ट उद्योग रहेको छ ।
विगत वर्षझैँ यस वर्ष पनि नेपाल वायुसेवा निगम सर्वाधिक खुद नोक्सानमा परेको छ । जहाज खरिदका लागि लिइएको ऋणको साँवा–ब्याज भुक्तानीमा समस्या, उच्च प्रशासनिक खर्च, जहाजको न्यून उपयोग तथा व्यावसायिक योजनाको कमजोर कार्यान्वयनका कारण निगमको वित्तीय अवस्था झन् कमजोर बन्दै गएको जनाइएको छ ।
त्यस्तै, अन्य संस्थानहरूमा उच्च महसुल बक्यौता, कमजोर समन्वय, उत्पादन क्षमताको न्यून उपयोग, बढ्दो प्रशासनिक खर्च तथा बदलिँदो बजार प्रतिस्पर्धामा कमजोर उपस्थिति नोक्सानका मुख्य कारणका रूपमा देखिएको छ ।
ऋणको साँवा–ब्याज भुक्तानीमा बढ्दो कठिनाइ र प्रभावकारी व्यावसायिक योजना कार्यान्वयन हुन नसक्दा सार्वजनिक संस्थानहरूको खुद तथा सञ्चित नोक्सान निरन्तर बढ्दै गएको र यसले समग्र वित्तीय जोखिमसमेत बढाएको देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्