काठमाडौं । सांसद विदुषी राणाले सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेटलाई निजी क्षेत्रमैत्री, लगानी प्रोत्साहन गर्ने तथा रोजगारी सिर्जनामा केन्द्रित बजेटको रूपमा व्याख्या गरेकी छन्।
बिहीबार प्रतिनिधि सभामा बजेटमाथिको छलफलमा भाग लिँदै उनले बजेटले निजी क्षेत्रको मनोबल उकास्ने काम गरेको बताइन्। उनले सरकारले ल्याएको बजेट साहसिक, दूरदर्शी तथा आर्थिक गतिविधि चलायमान बनाउन सहयोगी रहेको धारणा राखिन्।
“सरकारले ल्याएको बजेट अत्यन्तै साहसिक, दूरगामी र निजी क्षेत्रमैत्री छ,” उनले भनिन्।
राणाले बजेटले औद्योगिकीकरण, लगानी विस्तार र रोजगारी सिर्जनाका लागि आवश्यक आधार तयार गरेको उल्लेख गरिन्। उनका अनुसार हाल बजारमा व्यापारिक सटरहरू खाली छन्, बैंकहरूको भल्टमा ठूलो परिमाणमा रकम थुप्रिएको छ र लगानीको वातावरण कमजोर बनेको छ। साथै, उद्योगहरूको उत्पादन क्षमता पनि घट्दै गएको उनको भनाइ थियो।
“यस्तो निराशाजनक अवस्थाबिच यो बजेटले माग, उत्पादन, लगानी र रोजगारीलाई एउटै चक्रमा जोड्ने प्रयास गरेको छ,” उनले भनिन्।
उनले उद्योगी व्यवसायीहरूले केवल ब्याजदर मात्र नभई बजारको अवस्था र सरकारको सहयोगलाई पनि महत्व दिने गरेको उल्लेख गर्दै सरकारले निजी क्षेत्रप्रति सकारात्मक सन्देश दिएको बताइन्। राज्य अब बिचौलियाको नभई उत्पादकको पक्षमा उभिएको उनको दाबी थियो।
कच्चा पदार्थमा भन्सार दर घटाउने, केही शुल्क खारेज गर्ने लगायतका व्यवस्थाले औद्योगिक विकास र उत्पादनमूलक अर्थतन्त्र निर्माणतर्फ महत्त्वपूर्ण नीतिगत कदम चालेको उनको भनाइ छ।
राणाले बजेटले कर प्रशासनलाई पनि सुधारको दिशामा अघि बढाएको बताइन्। “उद्योगी व्यवसायीलाई करको दुहुनो गाई बनाउने प्रवृत्तिको अन्त्य गर्ने प्रयास यो बजेटले गरेको छ,” उनले भनिन्। उनका अनुसार बजेटले कर पालनालाई दण्डको विषय नभई राज्य र निजी क्षेत्रबीचको सहकार्यका रूपमा स्थापित गर्ने नयाँ सोच अघि सारेको छ।
प्रतिक्रिया दिनुहोस्