काठमाडौं । नेपालमा सौन्दर्य तथा प्रसाधन सामग्री (कस्मेटिक) को आयात निरन्तर बढ्दो क्रममा रहेको छ। चालु आर्थिक वर्षको पछिल्लो अवधिसम्म विभिन्न प्रकारका कस्मेटिक सामग्री आयात गर्दा करिब पौने ४ अर्ब रुपैयाँ बाहिरिएको छ ।
भन्सार विभागको तथ्यांक अनुसार ३ अर्ब ८१ करोड १ लाख ७८ हजार रुपैयाँ बराबरको विदेशी मुद्रा बाहिरिएको छ । भन्सार विभागको तथ्यांकअनुसार नेपालमा फेस क्रिम, पाउडर, लिपस्टिक, मेकअप सामग्री, नेल पालिस, हेयर केयर सामग्री, परफ्युम तथा अन्य सौन्दर्य प्रसाधनका वस्तुहरू ठुलो परिमाणमा आयात भएका छन्।
विशेषगरी महिलाले प्रयोग गर्ने मेकअप सामग्री, छाला तथा कपालको हेरचाहसम्बन्धी उत्पादनहरूको आयात भएको छ। विभागको तथ्यांकअनुसार फेस क्रिम सबैभन्दा बढी आयात हुने कस्मेटिक वस्तु बनेको छ। भारतबाट मात्रै चालु आर्थिक वर्षको ११ महिनामा ५६ करोड १२ लाख रुपैयाँभन्दा बढी बराबरको सामग्री भित्रिएको छ। चीनबाट ९ करोड ५७ लाख रुपैयाँ, दक्षिण कोरियाबाट ८ करोड १७ लाख रुपैयाँ तथा फिलिपिन्सबाट ४ करोड ९३ लाख रुपैयाँ बराबरको फेस क्रिम आयात भएको छ।
चालु आवको ११ महिनामा सबैभन्दा धेरै बडी लोसन पनि भारत अग्रस्थानमा रहेको छ। भारतबाट २५ करोड ४८ लाख रुपैयाँ बराबरको बडी लोसन आयात भएको छ भने चीनबाट ३ करोड २९ लाख रुपैयाँ र थाइल्याण्डबाट २ करोड ६७ लाख रुपैयाँ बराबरको आयात भएको तथ्यांकले देखाएको छ।
लिप मेकअप सामग्रीमा चीन पहिलो स्थानमा रहेको छ। चीनबाट १५ करोड ४१ लाख रुपैयाँ बराबरको लिप मेकअप सामग्री आयात हुँदा भारतबाट १५ करोड ३३ लाख रुपैयाँ बराबरको आयात भएको छ। यसैगरी कोरिया, ताइवान, टर्की र थाइल्याण्डबाट पनि उल्लेख्य परिमाणमा यस्ता सामग्री भित्रिएका छन्।
आँखा मेकअप सामग्री आयातमा पनि चीन अग्रस्थानमा छ। चीनबाट ७ करोड ५४ लाख रुपैयाँ बराबरको सामग्री आयात भएको छ भने भारतबाट ३ करोड २ लाख रुपैयाँ बराबरको आयात भएको छ। जर्मनी, कोरिया, इटाली र अमेरिकाबाट समेत उल्लेख्य मात्रामा आँखा मेकअप सामग्री नेपाल भित्रिएको छ।
फेस पाउडर आयातमा भारत पहिलो स्थानमा रहेको छ। भारतबाट ७ करोड २३ लाख रुपैयाँ बराबरको फेस पाउडर आयात भएको छ भने चीनबाट ३ करोड ४६ लाख रुपैयाँ बराबरको आयात भएको छ। यसैगरी, नेल पोलिस आयातमा चीनको हिस्सा सबैभन्दा ठुलो देखिएको छ। चीनबाट २ करोड ११ लाख रुपैयाँ बराबरको नेल पोलिस आयात हुँदा भारतबाट ७० लाख रुपैयाँभन्दा कम मूल्यको आयात भएको छ।









प्रतिक्रिया दिनुहोस्