Skip to content

उत्पादनमा आधारित उद्योगलाई सरकारले प्रोत्साहन गर्छः मुख्यमन्त्री बानियाँ

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले वास्तविक रूपमा श्रम र उत्पादनमा जोडिने सहकारीहरूलाई विशेष प्राथमिकताका साथ प्रोत्साहन गर्ने बताए । चितवनको भरतपुर महानगरपालिका–२९ भतेरीस्थित सफल सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडद्वारा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रदेश सरकारले रैथाने बाली तथा अदुवा, लसुन, बेसार र प्याजजस्ता विधामा उत्पादनमा आधारित अनुदानको व्यवस्था गरेको जानकारी दिए।

मुख्यमन्त्री बानियाँले भने, “अहिलेको बजेटमा हामीले एक पालिका, एक रैथाने उत्पादन, एक सङ्कलन केन्द्र नीति अघि सारेका छौँ । सोहीअनुरूप प्रशोधन, ब्रान्डिङ र बजारीकरण गर्ने पालिकालाई प्रदेश सरकारले विशेष अनुदान दिँदैछ ।”

महिला दिदीबहिनीहरू आफैँ अग्रसर भएर बिचौलियाको प्रभावविहीन सिधैँ किसानबाट उत्पादित ६५ टन बेसार सङ्कलन, प्रशोधन र ब्रान्डिङ गरी बजारमा ल्याएकामा खुसी व्यक्त गर्दै उहाँले संस्थाको प्रगतिको उच्च सम्मान गरे। बजेट पारित भएलगत्तै साउनभित्रै प्रक्रिया अगाडि बढाई यस्ता उद्यमशील महिलाहरूद्वारा सञ्चालित उद्योगलाई थप अनुदान र प्राविधिक सहयोग उपलब्ध गराउने प्रतिबद्धता उनले व्यक्त गरे।

केही सहकारीहरूमा सर्वसाधारणको रकम दुरुपयोग हुँदा समाजमा त्रास र अविश्वास बढेको तर्फ इङ्गित गर्दै उनले सफल सामाजिक उद्यमी महिला सहकारीजस्ता उत्पादन र विशुद्ध कर्ममा जोडिएका संस्थाहरूले नै सहकारी क्षेत्रको गरिमा जोगाउने दाबी गरे।

कार्यक्रममा बागमती प्रदेशका सहकारी मन्त्री बिनु रायमाझीले किसान, सहकारी, विकास साझेदार र निजी क्षेत्रको संयुक्त उत्पादन ‘चन्द्र सूर्य’ बेसार एक उत्कृष्ट उदाहरण भएको बताए। स्थानीय उत्पादनको मूल्य एवं बजार पहुँचमा लगानी गरेर कृषि समुदायलाई दीर्घकालीन फाइदा पुर्याउने उद्यमहरू निर्माण गर्नुपर्नेमा उनले जोड दिए ।

हेफर नेपालका राष्ट्रिय निर्देशक डा तीर्थराज रेग्मीले विशुद्ध किसानले बनाएको ब्रान्ड ‘चन्द्र सूर्य’ बेसारले यहाँका महिला किसान र सहकारी सदस्यहरूको नेतृत्व तथा उद्यमशीलताको भावनालाई उजागर गरेको बताए। उनले यहाँको अर्गानिक उत्पादनका कारण उपभोक्ताले शुद्ध बेसार सेवन गर्न पाउने बताउँदै किसानले आफैँ खेती, सङ्कलन, उत्पादन, ब्रान्डिङ र बजारीकरण गर्न पाउनु सुखद क्षण भएको उल्लेख गरे।

हेफर लामो समयदेखि साना किसानसँग मिलेर समावेशी, उत्थानशील र दिगो खाद्य प्रणाली निर्माणका लागि काम गर्दै आएको बताउँदै उनले नेपालका चार लाखभन्दा बढी परिवारसँग सहकार्य गर्दै कृषिलाई दिगो आम्दानी, खाद्य सुरक्षा र समृद्धिको आधार बनाउन सहयोग गरिरहेको जानकारी दिए ।
सानो प्रयासबाट सुरु भएको उद्योग आज ब्रान्ड बन्दै

भरतपुरको भतेरीमा स्थापना भएको सफल सामाजिक उद्यमी महिला सहकारी संस्था महिलाकै नेतृत्वमा सञ्चालित सहकारी हो । संस्थाले आफ्ना ३०० जना सदस्य र बाह्य चितवनकै र तनुहँका पाँच सहकारीका ७०० जना गरी कुल एक हजार किसानहरूमार्फत बेसार सङ्कलन तथा ब्रान्डिङ गरी बिक्री गर्दै आएको छ ।

संस्थाकी उपाध्यक्ष राधिका भट्टराईले सहकारी २१० जना सदस्यबाट सुरु भई हाल ९०५ जना सदस्य पुगेको जानकारी दिए। उनका अनुसार सुरुमा १०० केजी बेसार उत्पादन गरी सुरु गरिएको उद्योगबाट हाल ६५ टन सम्म उत्पादन गर्न सहकारी सफल भएको छ ।

संस्थाकी अध्यक्ष मधुमाया गुरुङले विगतका सङ्घर्षका दिनहरू स्मरण गर्दै भने, “पहिला हातले काटेर, सुकाएर नारायणगढ लगेर पाउडर बनाई सामान्य प्याकेज गरिन्थ्यो । पहिला आफैँ पसल तथा होटलमा गएर बिक्री गर्नुपथ्र्यो । आज सबैको मिहिनेतले ‘चन्द्र सूर्य’ ब्रान्ड बनेको छ, आफ्नो ब्रान्ड बजारमा देख्दा खुसी मिल्छ । अब बजार खोज्न भौँतारिनु पर्दैन ।” उनका अनुसार संस्थाको उद्योगमा अहिले आधुनिक मेसिनबाट प्रशोधन, उत्पादन, प्याकेजिङ र ब्रान्डिङ गरी बजार पठाउने गरिएको छ ।

कार्यक्रममा कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मी, इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङ, देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापामगरलगायत स्थानीय सरकारका प्रतिनिधि एवं संस्थाका सदस्यको सहभागिता थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi