काठमाडौं । नेपाली उत्पादनलाई ओमनको बजारमा स्थापित गर्ने उद्देश्यका साथ निर्यात व्यवसायीहरूको उच्चस्तरीय प्रतिनिधिमण्डल सोमबार ओमन भ्रमणमा गएको छ ।
पराराष्ट्र मन्त्रालय तथा ओमनस्थित नेपाली दूतावासको पहलमा आयोजना गरिएको यस भ्रमणले नेपाली वस्तुको बजारीकरण, व्यापार विस्तार तथा नेपाल–ओमनबीच प्रत्यक्ष व्यावसायिक साझेदारी (बिजनेस टु बिजनेस (बीटूबी) प्रवद्र्धन गर्ने लक्ष्य राखेको छ ।
निर्यात व्यवसायी महासंघ नेपालको नेतृत्वमा गएको प्रतिनिधिमण्डलमा महासंघका अध्यक्ष गोविन्द प्रसाद घिमिरे, नेपाल हस्तकला महासंघका अध्यक्ष रविन्द्र शाक्य, महासंघका उपाध्यक्ष तथा नेपाल ह्यान्डमेड पेपर एसोसिएसनका अध्यक्ष किरणकुमार डंगोल, नेपाल पानी उद्योग महासंघका अध्यक्ष विक्रम चेम्जोङ, महासंघका सल्लाहकार स्वयम्भुरत्न तुलाधर, नेपाल डेरी एसोसिएसनका उपाध्यक्ष मनोजकुमार यादवसहित विभिन्न निर्यातमुखी उद्योग तथा वस्तुगत संघ संस्थाका गरी १५ जना व्यवसायी सहभागी छन् ।
चारदिने भ्रमणका क्रममा प्रतिनिधिमण्डलले ओमनस्थित नेपाली दूतावासमा व्यावसायिक अन्तरक्रिया तथा नेटवर्किङ कार्यक्रम, ओमन चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजसँग द्विपक्षीय व्यापार सहकर्य गर्ने विषयमा सम्झौता र लगानीका विषयमा छलफल, ओमन इन्भेष्टमेन्ट अथोरिटीसँग लगानी सम्भावना तथा व्यापारिक सहकार्यबारे बैठक गर्ने कार्यक्रम रहेको छ ।
साथै ओमनका प्रमुख खुद्रा व्यापारिक सञ्जालहरू नेस्टो हाइपरमार्केट, लुलु हाइपरमार्केट तथा हाइपरम्याक्सका खरिद विभागसँग प्रत्यक्ष बीटूबी बैठक, उत्पादन प्रदर्शन (स्याम्पल शोकेसिङ) तथा बजार अवलोकन गरिनेदेखि ओमनमा रहेका नेपाली समुदाय तथा व्यवसायीहरूसँग समेत निर्यात प्रवद्र्धन र लगानी विस्तारका विषयमा अन्तरक्रिया गर्ने कार्यक्रम तय गरिएको ओमनस्थित नेपाली दुतावासका प्रथम सचिव विशेषकुमार शाहले बताए ।
महासंघका अध्यक्ष गोविन्द प्रसाद घिमिरेले यो भ्रमण नेपाली उत्पादनहरुलाई ओमनको बजारमा विस्तार गर्ने दिशामा महत्वपूर्ण सुरुआत हुने विश्वास व्यक्त गर्नुभयो । उहाँका अनुसार ओमन खाडी क्षेत्रको महत्वपूर्ण व्यापारिक केन्द्र भएकाले त्यहाँ नेपाली कृषि (तरकारी) तथा जडिबुटीका उपत्दान, हस्तकला, हस्तनिर्मित कागज, प्रशोधित खाद्यवस्तु, डेरीजन्य उत्पादन, प्राकृतिक पेयपानी तथा अन्य मूल्य अभिवृद्धि भएका नेपाली उत्पादनको बजार विस्तारको राम्रो सम्भावना रहेको छ ।
नेपाल र ओमनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको लामो समय बितिसकेको भए पनि द्विपक्षीय व्यापार अझै अपेक्षाकृत न्यून छ । नेपालले ओमनमा मुख्यत: गलैंचा, पश्मिना, हस्तकला, चिया, कफी, मसला, हस्तनिर्मित कागज तथा केही कृषि उत्पादन निर्यात गर्दै आएको छ भने ओमनबाट मल, रसायन तथा औद्योगिक कच्चा पदार्थ आयात हुने गरेको छ । व्यापार सन्तुलन नेपालका पक्षमा नभए पनि पछिल्ला वर्षहरूमा नेपाली उत्पादनलाई खाडी बजारमा प्रवद्र्धन गर्ने प्रयास तीव्र बन्दै गएको छ । विशेषगरी ओमनमार्फत संयुक्त अरब इमिरेट्स, साउदी अरेबिया, कतार, बहराइन र कुवेतलगायत खाडी मुलुकमा समेत नेपाली उत्पादनको पहुँच विस्तार गर्न सकिने सम्भावना रहेको छ ।





प्रतिक्रिया दिनुहोस्