Skip to content

रसुवागढी भन्सार कार्यालयद्वारा १३ अर्ब ६४ करोड ६० लाख राजस्व संकलन 

काठमाडौं । रसुवा भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८२/८३ मा रु १३ अर्ब ६४ करोड ६० लाख राजस्व सङ्कलन गरेको छ। गत वर्ष ल्हेन्दे खोलामा आएको बाढीले नेपाल र चीन जोड्ने मितेरी पुल बगाएपछि लामो समय आवतजावत ठप्प हुँदा निर्धारित लक्ष्यको करिब एक तिहाइ मात्र राजस्व सङ्कलन भएको प्रमुख भन्सार अधिकृत राजेन्द्र ढुङ्गानाले जानकारी दिए।
उनका अनुसार गत वर्ष रु ४० अर्ब राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा मितेरी पुल बगेपछि दुईतर्फ हुने सामन आयात–निर्यात ठप्प भएपछि निर्धारित लक्ष्यबमोजिम  राजस्व सङ्कलन गर्न नसकिएको हो।  सङ्घीय राजधानी काठमाडौँबाट नजिक पर्ने सो व्यापारिक नाकाबाट चालु आर्थिक वर्षका लागि रु २५ अर्ब ५० करोड राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको उनले जानकारी दिए ।
सो व्यापारिक नाकाबाट गत आव २०८२/८३ मा रु ४३ अर्ब ७३ करोड बराबरका विभिन्न मालसामान नेपाल भित्रिएको  थियो । त्यस्तै अघिल्लो आव २०८१/८२ मा रु ८५ अर्ब २३ करोड बराबरका सामग्री आयात भएको थियो ।
चीनको तिब्बत स्वायत्त क्षेत्रस्थित केरुङ सहरबाट नेपालमा दैनिक उपभोग्य वस्तु, तयारी पोसाक, विद्युतीय सामग्री, जलविद्युत् आयोजनाका उपकरण, विद्युतीय सवारीसाधन तथा अन्य औद्योगिक सामग्री यही नाका हुँदै नेपाल भित्रिने गरेको छ ।
रसुवा भन्सार कार्यालय टिमुरेका अनुसार रोल कपडा, तयारी पोसाक, जुत्ता–चप्पल, थर्मस, बालबालिकाका खेलौना, अदुवा, लसुन, अङ्गुर, ओखर, स्याउ, कुकर, विद्युतीय सवारीसाधन तथा बालबालिकाका पोसाकलगायत विविध सामग्री यही नाकाबाट नेपाल भित्रिने गरेको छ ।
भन्सार कार्यालयका सूचना अधिकारी करवीर गैह्रेका अनुसार प्राकृतिक विपद्का कारण सडक सञ्जाल कहिले र कहाँ अवरुद्ध हुन्छ भन्ने अनिश्चितता रहे पनि चालु आर्थिक वर्षका लागि रु २५ अर्ब ५० करोड राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरिएको छ ।
वर्षायाममा हुने अवरोध हटाउन यसअघि रसुवागढी हाइड्रोपावरले काम गरे पनि मितेरी पुल बग्दा सडक ठप्प भएको थियो । यस वर्ष सडक सुधारका लागि चिनियाँ ठेकेदार कम्पनी उपकरणसहित तैनाथी अवस्थामा रहेको र रसुवागढी नाकामा ‘बेली ब्रिज’समेत बनेकाले लामो समयसम्म सो सडकखण्ड अवरुद्ध नहुने अपेक्षा गरिएको छ ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T