Skip to content

गैरआवासीय नेपाली संघको १७औँ युरोप क्षेत्रीय सम्मेलन आजदेखि सुरु

काठमाडाैं । गैरआवासीय नेपाली संघको १७औँ युरोप क्षेत्रीय सम्मेलन सन् २०२६ आयरल्याण्डको राजधानी डब्लिनस्थित रेडिसन ब्लु रोयल होटलमा आजदेखि सुरु भएको छ। सम्मेलनको मुख्य भाव ‘संकल्प’ रहेको छ भने यसको सन्देश “पहिचानमा एकता, लगानीमा अग्रसरता र समृद्धिप्रति प्रतिबद्धता” रहेको छ।

गैरआवासीय नेपाली संघको विस्तारसँगै युरोप क्षेत्रीय बैठक तथा सम्मेलनहरू युरोपमा रहेका नेपाली समुदायबीच समन्वय, साझा नीति निर्माण, संगठनात्मक सुदृढीकरण तथा नेपालसँगको सम्बन्ध विस्तार गर्ने महत्वपूर्ण मञ्चका रूपमा विकसित हुँदै आएका छन्।

यस वर्षको सम्मेलनमा युरोपसहित विश्वका विभिन्न क्षेत्रबाट गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय समन्वय परिषद् तथा राष्ट्रिय समन्वय परिषद्का पदाधिकारी, उद्यमी, पेशाकर्मी, विज्ञ, महिला तथा युवा नेतृत्व, दोस्रो पुस्ताका गैरआवासीय नेपाली तथा समुदायका प्रतिनिधिहरू सहभागी हुँदैछन्। हालसम्म ३५ देशबाट २०० भन्दा बढी सहभागीको सहभागिता सुनिश्चित भएको छ भने सम्मेलनमा कुल सहभागिता करिब २५० जनासम्म पुग्ने अपेक्षा गरिएको छ।

सम्मेलनमा राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका उपनेता तथा प्रतिनिधिसभा सदस्य माननीय गणेश पराजुली प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको छ। साथै, बेलायतका लागि नेपालका कार्यवाहक राजदूत बिपिन दुवाडी, परराष्ट्र मन्त्रालयअन्तर्गत श्रम आप्रवासन तथा डायस्पोरा महाशाखाका उपसचिव कृष्णकुमार सुबेदी, डब्लिन सिटी काउन्सिलकी काउन्सिलर सुप्रिया सिंगा, गैरआवासीय नेपाली संघका नेतृत्व तथा विभिन्न क्षेत्रका विज्ञहरूको सहभागिता रहेको छ।

दुई दिनसम्म अर्थात् आज र भोलि सञ्चालन हुने सम्मेलनमा १० वटा प्रमुख विषयगत सत्र रहनेछन्। सम्मेलनमा गैरआवासीय नेपाली नागरिकता र अधिकार, नेपालमा लगानी, सुरक्षित आप्रवासन, श्रम तथा आर्थिक कूटनीति, महिला सशक्तीकरण, युवा तथा दोस्रो पुस्ताको सहभागिता, ज्ञान–सीप तथा प्रविधि हस्तान्तरण, राष्ट्रिय समन्वय परिषद्हरूको सबलीकरण, अन्तरदेशीय विषय तथा गैरआवासीय नेपाली संघको संस्थागत पुनर्संरचना र नयाँ पहिचान निर्माणलगायतका विषयमा गहन छलफल हुनेछ।

यस वर्षको सम्मेलनले विशेष रूपमा गैरआवासीय नेपाली नागरिकता र अधिकार, नेपालमा लगानी तथा महिला, युवा र दोस्रो पुस्ताको सहभागितालाई प्राथमिकता दिएको छ। महिला केन्द्रित छलफलमा उद्यमशीलता, आर्थिक सशक्तीकरण, सुरक्षित आप्रवासन, स्वास्थ्य तथा कानुनी पहुँचलाई जोड दिइनेछ। त्यस्तै, युवा तथा दोस्रो पुस्तासम्बन्धी सत्रमा नेतृत्व विकास, सूचना प्रविधि, उद्यमशीलता, पहिचान, भाषा–संस्कृति तथा नेपालसँगको दीर्घकालीन सम्बन्धलाई केन्द्रमा राखिनेछ।

सम्मेलनले सन् २०३० र त्यसपछिका वर्षका लागि विश्वभर रहेका प्रवासी नेपालीको भूमिका तथा नेपालको विकासमा उनीहरूको साझेदारीसम्बन्धी साझा मार्गचित्र निर्माण गर्ने लक्ष्यसमेत लिएको छ।

आयोजकले सम्मेलनलाई गैरआवासीय नेपालीका अधिकार तथा सरोकारका विषय नेपाल सरकार र राजनीतिक नेतृत्वसमक्ष प्रत्यक्ष रूपमा प्रस्तुत गर्ने, युरोपस्थित नेपाली समुदायबीच सहकार्यलाई थप सुदृढ गर्ने तथा नेपाल र प्रवासी नेपाली समुदायबीच आर्थिक, सामाजिक र ज्ञानमा आधारित साझेदारी विस्तार गर्ने महत्वपूर्ण अवसरका रूपमा लिएको छ।

सम्मेलनमार्फत विश्वभर रहेका नेपाली समुदायको अनुभव, ज्ञान, सीप, पुँजी र प्रविधिलाई नेपालको विकाससँग जोड्ने वातावरण निर्माण गर्नुका साथै गैरआवासीय नेपालीका अधिकार र उनीहरूको नेपालसँगको सम्बन्धलाई थप प्रभावकारी बनाउने विषयमा समेत ठोस छलफल हुने अपेक्षा गरिएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T