Skip to content

रेडक्रसको जग्गा खरिद गर्दा करोडौं ठगी, ५ जना पक्राउ

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीका लागि जग्गा खरिद गर्दा ठगी गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबाट प्राप्त रेडक्रस सोसाइटीसम्बन्धी अनियमितता छानबिन प्रतिवेदन अनुसार भक्तपुरमा गोदाम घर सञ्चालनका लागि जग्गा खरिद गर्ने क्रममा बोलपत्रमा उल्लेख भएको सर्तविपरीत बिचौलियामार्फत कारोबार गरिएको पाइएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले जनाएको छ ।

भक्तपुर जिल्ला अदालतबाट पक्राउ गरी अनुसन्धान गर्न अनुमति लिएपछि संलग्न पदाधिकारी, कर्मचारी तथा बिचौलियालाई पक्राउ गरिएको सीआईबीले जनाएको छ । पक्राउ पर्नेमा भक्तपुर मध्यपुर थिमि–३ का राजेश देशमरु, काठमाडौँ–२६ बस्ने उमेशप्रसाद ढकाल, भक्तपुर चाँगुनारायण–५ का मदनकृष्ण फोजु, मध्यपुर थिमि–१ का सञ्जीव थापा र काठमाडौँ–१६ बालाजुका इन्द्रबहादुर केसी रहेका छन् ।

२०७३ भदौ २२ गते प्रकाशित सूचनाअनुसार भक्तपुर–४ मा रहेका विभिन्न कित्ता नम्बरको कुल ५ रोपनी १३ आना ३ पैसा क्षेत्रफलको जग्गा खरिद गर्दा रेडक्रसले ६ करोड ३२ लाख ८१ हजार २५० रुपैयाँ भुक्तानी गरेको थियो। उक्त रकममध्ये १ करोड ९३ लाख ७५० रुपैयाँ बिचौलियाले लिएको अनुसन्धानबाट खुलेको जनाइएको छ ।

नापी कार्यालय भक्तपुरबाट जग्गाको क्षेत्रफल यकिन गराउँदा कागजमा उल्लेख भएभन्दा कम अर्थात् ५ रोपनी ६ आना २ पैसा १ दाम मात्र क्षेत्रफल रहेको खुलेको छ । बोलपत्रको सर्तविपरीत बिचौलियामार्फत जग्गा खरिद गरी रेडक्रसलाई आर्थिक नोक्सानी पुर्‍याएको आरोपमा अनुसन्धान अघि बढाइएको जनाइएको छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T