काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको वित्तीय विवरणअनुसार वाणिज्य बैंकहरुको वित्तीय अवस्थामा समग्र सुधार देखिएको छ । समीक्षा अवधिमा संस्थाका कुल ३६ प्रमुख वित्तीय सूचकमध्ये २९ वटामा सुधार आएको छ भने ७ वटा सूचक अघिल्लो वर्षको तुलनामा घटेका छन् ।
संस्थाको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३२.२८ प्रतिशतले बढेको छ । यसैगरी, बैंकहरुको प्रतिसेयर आम्दानी (इपीएस), वितरणयोग्य नाफा, प्रतिशेयर खुद सम्पत्ति, प्रतिफल दर (आरओई) लगायतका सूचकहरूमा सुधार भएको छ।
यसैगरी, बैंकको सो अवधिसम्म बैंकहरुको व्यावसायिक आकारसमेत विस्तार भएको छ। ग्राहकबाट संकलित निक्षेप १४.९२ प्रतिशतको छ भने ६.३६ प्रतिशतले वृद्धि भएको छ । संस्थाको कुल सम्पत्ति १३.८४ प्रतिशत, चुक्ता पुँजी ६.८० प्रतिशत र कुल इक्विटी ९.४२ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा ब्याजदरमा आएको कमीको प्रभाव संस्थाको ब्याज आम्दानीमा देखिएको छ । जसको कारण बैंकहरुको ब्याज आम्दानी ८.४७ प्रतिशतले घटेको छ ।
यस अवधिमा ब्याज खर्च भने १४.३९ प्रतिशतले घटेको छ । बैंक तथा वित्तीय संस्थाले निक्षेपकर्तालाई तिर्नुपर्ने ब्याज रकमलाई ब्याज खर्च भनिन्छ । बैंकको कुल खर्चमध्ये ब्याज खर्चको हिस्सा ठूलो हुने भएकाले यसको घटबढले बैंकको नाफामा प्रत्यक्ष प्रभाव पार्ने गर्छ । बैंकको ब्याज खर्च घट्नु सामान्यतया सकारात्मक मानिन्छ । निक्षेपमा तिर्नुपर्ने ब्याज रकम कम हुँदा बैंकको फन्डिङ लागत घट्छ । ब्याज खर्चमा आएको कमीका कारण खुद ब्याज आम्दानी १.०७ प्रतिशतले बढेको छ ।
यसैगरी, वाणिज्य बैंकहरुको कोषको लागत २२.७० प्रतिशतले घटेर ३.३६ प्रतिशतमा आएको छ। त्यस्तै, आधार दर १९.४८ प्रतिशतले घटेर ४.८६ प्रतिशत कायम भएको छ भने स्प्रेड दर पनि ९.१४ प्रतिशतले घटेको छ।
संस्थाको सम्भावित कर्जा नोक्सानी व्यवस्था अर्थात् इम्पेयरमेन्ट चार्ज २७.६५ प्रतिशतले घटेको छ । तर, निष्क्रिय कर्जा भने अघिल्लो वर्षको ४.६० प्रतिशतबाट बढेर ५.४४ प्रतिशत पुगेको छ। त्यस्तै, संस्थाको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ७१.०८ प्रतिशतमा झरेको छ भने तरल सम्पत्तिको अनुपात ३८.२० प्रतिशत पुगेको छ।





प्रतिक्रिया दिनुहोस्