काठमाडौं । फिसटेल डेरी प्रालि अन्तर्गतको प्रिमियम आइसक्रिम ब्रान्ड बेनेभिस आइसक्रिमले मिस नेपाल अर्थ २०२२ डा. सरिशा श्रेष्ठलाई आफ्नो ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ। ब्रान्ड र डा. श्रेष्ठबीच औपचारिक सम्झौतामा हस्ताक्षर भएसँगै सहकार्य सुरु भएको हो।
सम्झौतामा डा. सरिशा श्रेष्ठ र फिसटेल डेरी प्रालि अन्तर्गत बेनेभिस आइसक्रिमका वरिष्ठ ब्रान्ड अधिकृत नारायण प्रधानले हस्ताक्षर गरेका छन्।
चिकित्सक, टेलिभिजन प्रस्तोता तथा सौन्दर्य प्रतियोगिताकी विजेता डा. श्रेष्ठले विभिन्न क्षेत्रमा आफ्नो पहिचान बनाउँदै आएकी छन्। उनले मिस अर्थ २०२२ मा नेपालको प्रतिनिधित्व गरेकी थिइन्। प्रतियोगिताका क्रममा वातावरणीय सचेतना तथा वातावरणसम्बन्धी सञ्चारमा सक्रिय भूमिका निर्वाह गरेकी उनले एसिया तथा ओसिनिया क्षेत्रको ‘बेस्ट इको भिडियो’ अवार्डसमेत प्राप्त गरेकी थिइन्।
बेनेभिसका वरिष्ठ ब्रान्ड अधिकृत नारायण प्रधानले डा. श्रेष्ठको व्यावसायिक पृष्ठभूमि, सञ्चार क्षमता, व्यक्तित्व तथा युवा पुस्तामाझको प्रभाव ब्रान्डको मूल्यसँग मेल खाने भएकाले उनलाई ब्रान्ड एम्बेसडरका रूपमा चयन गरिएको बताए।
“डा. सरिशा श्रेष्ठलाई हाम्रो ब्रान्ड एम्बेसडरका रूपमा बेनेभिस परिवारमा स्वागत गर्न पाउँदा हामी खुसी छौँ। उहाँको व्यावसायिकता, सञ्चार क्षमता र जनअपिलले बेनेभिसको ब्रान्ड पहिचानलाई थप मजबुत बनाउन सहयोग गर्नेछ,” प्रधानले भने।
ब्रान्ड एम्बेसडर नियुक्त भएपछि डा. श्रेष्ठले बेनेभिसका विभिन्न ब्रान्ड अभियान, फोटोसुट, डिजिटल सामग्री, प्रवद्र्धनात्मक गतिविधि तथा उपभोक्ता संलग्नता कार्यक्रमहरूमा सहभागिता जनाउनेछिन्।
डा. श्रेष्ठले पनि बेनेभिससँग जोडिन पाउँदा खुसी लागेको बताइन्। स्वाद, गुणस्तर र खुसीका क्षण सिर्जना गर्ने उद्देश्यसहित अघि बढिरहेको नेपाली ब्रान्डसँग सहकार्य गर्न पाउनु उत्साहजनक अवसर भएको उनको भनाइ छ।
बेनेभिस आइसक्रिम फिसटेल डेरी प्रालि अन्तर्गतको प्रिमियम आइसक्रिम ब्रान्ड हो। कम्पनीका अनुसार ब्रान्डले गुणस्तरीय उत्पादन, सिर्जनशील मार्केटिङ अभियान तथा उपभोक्ता केन्द्रित गतिविधिमार्फत नेपाली बजारमा आफ्नो उपस्थिति विस्तार गर्दै आएको छ।
डा. श्रेष्ठसँगको सहकार्यबाट ब्रान्डले आफ्नो युवा केन्द्रित पहिचानलाई थप बलियो बनाउँदै उपभोक्तासँगको सम्बन्ध विस्तार गर्ने तथा नयाँ र आकर्षक ब्रान्ड अनुभव सिर्जना गर्ने लक्ष्य लिएको जनाएको छ।





प्रतिक्रिया दिनुहोस्