Skip to content

उद्योगी, व्यवसायीको मनोबल इतिहासमा पहिलोपटक यतिधेरै कमजोर भयो: महासंघ अध्यक्ष श्रेष्ठ

काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले मुलुकमा उद्योगी तथा व्यवसायीको मनोबल इतिहासमै पहिलोपटक यति कमजोर अवस्थामा पुगेको बताएका छन् ।

नाडा अटो शोको उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले आफ्नो जीवनकालमा उद्योगी–व्यवसायीमा यति धेरै निराशा पहिलोपटक देखेको बताए । उनले पछिल्लो समय उद्योगी तथा व्यवसायीको आत्मविश्वास कमजोर हुँदै गएको भन्दै सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिए ।

नेपालमा सवारीसाधनको आयात बढिरहेको उल्लेख गर्दै उनले सवारीसाधन स्वदेशमै उत्पादन गर्नेतर्फ ध्यान दिनुपर्ने बताए । “नेपालमा सवारीसाधनको आयात बढिरहेको छ, अब स्वदेशमै किन उत्पादन नगर्ने ?” उनले प्रश्न गरे ।

श्रेष्ठले नेपालमा सञ्चालनमा रहेका उद्योगहरूको अवस्थाप्रति सरकारले पर्याप्त चासो नदिएको आरोप लगाए । पुराना उद्योग पुनः सञ्चालन गर्ने विषयमा चर्चा भइरहे पनि सञ्चालनमा रहेका तथा पछिल्लो समय खुलेका नयाँ उद्योगहरूको अवस्थाबारे पनि सरकारले उत्तिकै ध्यान दिनुपर्ने उनको भनाइ थियो ।

उनले सरकारले एउटा समस्या समाधान गर्न खोज्दा अर्को समस्या सिर्जना भइरहेको टिप्पणी गरे । “सरकारले पोल्टाबाट खसेको टिप्न खोज्दा गोजीबाट के खस्यो भन्ने पत्तो पाएको छैन,” उनले भने ।

उद्योगी–व्यवसायीको मनोबल बढाउन सरकारले स्पष्ट नीति, लगानीमैत्री वातावरण र आवश्यक प्रोत्साहनका कार्यक्रम ल्याउनुपर्ने अध्यक्ष श्रेष्ठले बताए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T