Skip to content

बजेटमा घोषणा भए अनुसारका रणनीति बनेनन्, अर्थतन्त्रलाई पुनर्संरचना गर्नुपर्ने समय आयो: अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले अर्थतन्त्रलाई पुनर्संरचना गर्नुपर्ने समय आएको बताएका छन् ।

मंगलबाारदेखि काठमाडौंमा शुरु भएको १८ औं नाडा अटो शो २०२६ को उद्घाटन समारोहमा सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले अहिले अर्थतन्त्र चलायमान हुन नसकेको अवस्थामा अर्थतन्त्रलाई पुनर्संरचना आवश्यक भएकोमा जोड दिए ।

उनले निजी क्षेत्रको लगानी सुरक्षित नभएसम्म र व्यावसायिक वातावरण नबनेसम्म आर्थिक समृद्धि सम्भव नभएको बताए ।

“समग्र माग बढ्न सकेको छैन, उद्योग व्यवसाय सञ्चालनमा कठिन छ, व्यवसायी कठिन अवस्थामा छन् । व्यवसायको मनोबल इतिहासकै कमजोर अवस्थामा छ” उनले भने , ”मेरो ३६ वर्षको करियरको अनुभवले अहिले सबैभन्दा कमजोर अवस्थामा पुगेको ठान्छु । अर्थतन्त्र चूनौतीपूर्ण अवस्थामा रहेको र बजार शिथिल रहेको छ । नयाँ सरकारले बजेटको प्रतिवद्धता अनुसार व्यवहारमा काम गर्न सकेको छैन् ।”

अटोमोबाइल क्षेत्रमा आयात प्रतिस्थापनका लागि स्वदेशमै उद्योग खुल्नु पर्ने भन्दै अध्यक्ष श्रेष्ठले त्यसका लागि राज्यको संरक्षण आवश्यक रहेको बताए । उनले कतिपय उद्योग खुले पनि तर सरकारले ध्यान दिन नसक्दा उद्योगी व्यवसायीहरुका समस्या नबुझ्दा औदोगिक विकास हुन नसकेको धारणा राखे ।

सरकारले बजेटमार्फत अर्थतन्त्र चलायमान बनाउने, ५ देखि ७ वर्षमा ३ हजार डलरको प्रतिव्यक्ति आय, १ सय बिलियनको अर्थतन्त्र र १२ लाख रोजगारीको प्रतिवद्धता व्यक्त गरेको भएतापनि बजेटका घोषणा अगाडि बढेन नसकेको,सो अनुसारका रणनीति नआएको उनको भनाइ छ ।

अटोमोबाइल क्षेत्रमा गत आवमा १ खर्ब ६ अर्बको आयात भएको तथ्यांक प्रस्तुत गर्दै उनले सो आयातबाट राज्यले ८१ अर्ब राजस्व संकलन गरेको तर यति ठूलो राजस्व दिने क्षेत्रलाई राज्यले हेर्ने दृष्टिकोण स्पष्ट नभएको उनको गुनासो थियो । उनले १२ खर्ब राजस्व मध्ये एक्लैले ८१ अर्ब योगदान गर्ने क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्नु पर्ने सुझाव दिए ।

वर्तमान सरकारले बन्द रहेका उद्योग खोल्ने तदारुकता देखाएकोमा टिप्पणी गर्दै अध्यक्ष श्रेष्ठले सरकारलाई दशकौंसम्म बन्द उद्योग खोल्दै गर्दा चलिरहेका उद्योगको अवस्था के छ भन्नेमा ध्यानै नदिइएको धारणा राखे । उनले अटोमोबाइल क्षेत्रका उद्योगहरूले भोगिरहेका समस्याका बारेमा सरकार मौन रहेको भन्दै उद्योगीका समस्या बुझ्न र समाधान गर्न सरकारसँग आग्रह गरे ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T