काठमाडौं । नेपाली काँग्रेस काभ्रेपलान्चोक जिल्ला समितिले रसुवा बाढी प्रभावितका लागि आर्थिक सहयोग जुटाएको छ । भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटलगायतका जिल्लामा भएको जनधनको क्षति भएपछि राहतका लागि काँग्रेस ११ लाख रुपैयाँ सहयोगको सङ्कलन गरेको हो ।
मानवीय सेवाका लागि सङ्कलित उक्त रकम पार्टीको केन्द्रीय विपद् व्यवस्थापन कोषमार्फत सम्बन्धित निकायमा पठाइने पार्टीका जिल्ला सभापति तीर्थ लामाले बताए । उनका अनुसार बाढी प्रभावित नागरिकको राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउने उद्देश्यले पार्टीका जिल्लास्थित नेताकार्यकर्तासँग उक्त रकम सङ्कलन गरिएको हो ।
यसअघि रोशी गाउँपालिकाले बाढीपीडितको जनधनको क्षतिको राहतका लागि १० लाख रुपैयाँ प्रधानमन्त्री–दैवीप्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको छ । गाउँपालिकाद्वारा जारी विज्ञप्तिअनुसार गाउँपालिकाका जनप्रतिनिधिद्वारा सात दिनको बराबरको सेवा सुविधा तथा सम्पूर्ण कर्मचारी÷शिक्षकको एक दिनको पारिश्रमिक बराबरको नौ लाख ७० हजार ७०० रुपैयाँ तथा गाउँपालिकाको विपद् प्रकोप व्यवस्थापन कोषबाट रु २९ हजार २०० व्यवस्थापन गरी रु १० लाख प्रधानमन्त्री–दैवीप्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष दिनेश लामाले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्