काठमाडौं। राष्ट्रिय विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि शंकर ग्रुपले प्रधानमन्त्री राहत कोषमा ४ करोड रुपैयाँ सहयोग गरेको छ।
शंकर ग्रुपका निर्देशक दीपा अग्रवाल तथा वरिष्ठ व्यवस्थापन टोलीले अर्थमन्त्रीलाई भेटेर प्रधानमन्त्री राहत कोषका लागि ४ करोड रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्।
यसअघि पनि शंकर ग्रुपले विपद्को तेस्रो दिनमै गृह मन्त्रालयको समन्वयमा भैरहवाका प्रमुख जिल्ला अधिकारीमार्फत विस्थापित नागरिकका लागि अस्थायी आश्रयको व्यवस्था गर्न २५ लाख रुपैयाँ बराबरका २ हजार ५ सय थान त्रिपाल उपलब्ध गराएको जनाएको छ।
ग्रुपले विपद्मा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ। साथै, बेपत्ता भएकाहरूको सकुशल उद्धारको कामना गर्दै उद्धार तथा राहत कार्यमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्वयंसेवक तथा सरकारी अधिकारीहरूप्रति आभार व्यक्त गरेको छ।
राष्ट्रिय संकटका बेला सरकार र नागरिकसँग काँधमा काँध मिलाएर उभिनु आफ्नो दायित्व भएको उल्लेख गर्दै शंकर ग्रुपले आगामी दिनमा पनि राहत तथा पुनर्स्थापनाका कार्यमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।






प्रतिक्रिया दिनुहोस्