काठमाडौं । नेपालीहरूको प्रमुख चाड दशैं, तिहार, छठ लगायतका पर्व नजिकिँदै गर्दा रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले व्यापार र आपूर्ति प्रणालीमा समस्या सृजना गरेको छ ।
यो बाढीले नेपाल–चीनबीचको प्रमुख व्यापारिक रसुवाको केरुङ नाका पूर्ण रुपमा क्षति भएको छ ।
बाढीले नाका मात्रै नभएर नुवाकोट, धादिङ. मकवानपुर र चितवन लगायत जिल्लाका केही क्षेत्रमा बाढीले निकै मानविय तथा भौतिक क्षति पुर्याएको छ ।
बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको पूर्ण विवरण आउन बाँकी नै छ । तर, व्यापारिक दृष्टिले हेर्दा यसको असर तत्काल मात्रै नभएर दीर्घकालमा समेत पर्ने व्यापारीहरु बताउँछन् ।
नेपाल–चीन व्यापारमा महत्त्वपूर्ण भूमिका मानिने रसुवाको केरुङ नाका बाढीले प्रभावित हुँदा त्यसको प्रत्यक्ष असर नेपालतर्फको आपूर्ति शृङ्खलामा पर्ने देखिएको व्यापारी बताउँछन् । चीनबाट नेपालमा ठूलो परिमाणमा लत्ताकपडा, जुत्ता, इलेकट्रोनिक्स सामान, खेलौना, फलफूल, ड्राइफ्रुट्स लगायत विभिन्न प्रकारका वस्तु आयात हुने गरेको छ ।
चाडपर्वलाई लक्षित गरेर व्यवसायीहरूले यस्ता सामानको माग तथा आयात प्रक्रिया अगाडि बढाइसकेको नेपाल हिमालय सीमापार वाणिज्य संघका महासचिव रामचन्द्र पराजुली बताउँछन् । यही समयमा आएको बाढीले व्यापारीको तयारीमा समेत धक्का पुर्याएको उनले बताए ।
पराजुलीका अनुसार अहिले बाढी प्रभावित क्षेत्रमा सरकारकै संयन्त्रले क्षतिग्रस्त सामान र कन्टेनरको विवरण संकलन गरिरहेको छ । त्यसैले अहिलेसम्म कति रकम बराबरको क्षति भयो भन्ने यकिन आधारमा भन्न सक्ने अवस्था नरहेको उनी बताउँछन् ।
यद्यपी बाढीले ३०० वटा भन्दा बढी सामान सहितको कन्टेनर बगाएको भन्सार अधिकृत राजेन्द्र् ढुंगानाले बताएका छन् ।
“अहिले सरकारले नै त्यहाँको सबै सामानको विवरण संकलन गरिरहेको छ। अहिलेसम्म कति रकम बराबरको क्षति भयो भनेर यकिन तथ्यांकका आधारमा भन्न सक्ने अवस्था छैन,” पराजुली भन्छन् । रम्भिक अनुमानअनुसार बाढीका कारण ५०० भन्दा बढी कन्टेनर प्रभावित भएको हुनसक्ने उनको अनुमान छ ।
‘‘तर, यो आधिकारिक तथ्यांक भने होइन’’ उनी भन्छन्, ‘‘सबै कन्टेनर सामान बोकेर आएका थिए भन्ने होइन। कतिपय कन्टेनर चीनतर्फ सामान लोड गर्न जाने खाली कन्टेनर पनि थिए।’’ सामान बोकेर आएका कन्टेनरको तुलनामा खाली कन्टेनरको छुट्टै विवरण नराखिने भएकाले वास्तविक संख्या यकिन गर्न कठिन भएको उनी बताउँछन् ।
घटना बिहानको समयमा भएको र अघिल्लो राति ठूलो संख्यामा कन्टेनर डिपो क्षेत्रमा राखिएका कारण क्षति भएको कन्टेनरको संख्या धेरै हुन सक्ने व्यवसायीहरूको अनुमान छ । तर, आधिकारिक विवरण सार्वजनिक भएपछि मात्रै वास्तविक क्षतिको तस्बिर स्पष्ट हुनेछ ।
चाडपर्वका लागि मगाइएका सामानमै धक्का
नेपालमा दशैं, तिहार, छठलगायतका प्रमुख चाडपर्व नजिकिँदै छन् । चाडपर्वमा नयाँ कपडा, जुत्ता, इलेकट्रोनिक्स सामान, खेलौना, घरायसी सामग्रीलगायतका वस्तुको माग स्वाभाविक रूपमा बढ्छ ।
व्यवसायीहरूले पनि चाडपर्वको मागलाई ध्यानमा राखेर चीनबाट सामान आयात गर्ने तयारी पहिल्यै गरेका थिए । कतिपयले एलसी खोलेका थिए भने कतिपयले सामानको अर्डर र भुक्तानी प्रक्रियासमेत अघि बढाइसकेका थिए । तर, बाढीले व्यापारको यही चक्रमा अवरोध सिर्जना गरेको पराजुली बताउँछन् । पराजुलीका अनुसार चीनमा अर्डर गरिएका कतिपय सामान बगायो । कतिपय सामान नेपालतर्फ ल्याउन सकेको छैन ।
केही सामान बाटोमै प्रभावित भएका छन् भने कतिपय सामानको डेलिभरी हुन नसक्दा व्यापारीले अर्डर नै रद्द गर्नुपर्ने अवस्था आएको राष्ट्रिय व्यापार संघका अधिकारीहरु बताउँछन् ।
चीनबाट नेपालमा मुख्यगरी लत्ताकपडा, जुत्ता, इलेकट्रोनिक्स, खेलौना तथा विभिन्न गैरखाद्य वस्तु आयात हुने गर्छन् । चाडपर्वका लागि माग हुने मौसमी सामानको ठूलो हिस्सा पनि चीनबाट आयात हुने गरेको छ ।
फलफूलतर्फ स्याउ, ओखर तथा ड्राइफ्रुट्सलगायतका सामग्री पनि चीनबाट आयात हुने गरेको छ । अहिले नाकामा आइपुगेका वा ढुवानीको प्रक्रियामा रहेका त्यस्ता सामानमा क्षति पुगेकाले आगामी दिनमा बजारमा त्यसको प्रभाव देखिन सक्ने व्यापारीहरूको बुझाइ छ ।
रसुवा नाकाको विकल्प खोजिँदै
रसुवा नाकाबाट नियमित रूपमा सामान ल्याउन तत्काल कठिन हुने देखिएपछि वैकल्पिक मार्ग खोज्न थालेको पराजुली बताउँछन् । चीनबाट नेपालतर्फ आउने सामानलाई अर्को नाकाबाट ल्याउने सम्भावनाबारे अहिले छलफल भइरहेको उनले बताए । सरकारी पक्ष र निजी क्षेत्रबीचमा अन्य नाकाट सामान आयातको बारेमा छलफल भइरहेको पराजुलीले बताए ।
विकल्प नाकाको रूपमा चीनबाट सामान आयात गर्ने अर्को नाका तातोपानी पनि हो । तर, यो नाकाबाट वर्षाको समयमा सामान आयात गर्दा जोखिम रहेको उनी बताउँछन् । यस्तो अवस्थामा विकल्पको रूपमा सरकारले कोरोला नाकाबाट सामान ल्याउनको लागि पहल गर्न नेपाल हिमालय सीमापार वाणिज्य संघले परराष्ट्र मन्त्रालयलाई ज्ञापन पत्र नै बुझाई सकेको छ ।
‘‘सरकारलाई रसुवाको केरुङ नाकामा बाढीको कारण अड्किएर बसेको सामान मुस्ताङको कोरोला नाकाबाट ल्याउनको लागि केही कानुनी प्रक्रियाहरू हुन्छन्’’ पराजुली भन्छन्, ‘‘त्यो कानुनी प्रक्रिया पुरा गर्नको लागि सरकारलाई ज्ञापनपत्र बुझाएका छौँ ।’’ पराजुलीका अनुसार रुट परिवर्तन गर्दा चिनियाँ पक्षका नीति तथा नियमका कारण केही व्यवहारिक समस्या आउन सक्ने भएकाले त्यसबारे सम्बन्धित निकायसँग छलफल भइरहेको छ ।
रुट फेरिँदा बढ्छ ढुवानी खर्च
सामानलाई वैकल्पिक मार्गबाट ल्याउन सकिए पनि त्यसको लागत भने बढ्ने निश्चित छ । ‘रसुवाबाट सामान ल्याउँदा छोटो दूरीबाट सामान ढुवानी भइरहेको थियो’’ पराजुली भन्छन्, ‘‘त्यहाँ आएर अड्केको सामानलाई रुट परिवर्तन गरेर अक्रो नाकामा पुर्याउँदा १० प्रतिशतभन्दा धेरै लागत बढ्छ । यसले स्वतः मूल्य वृद्धि भइहाल्यो ।’’
उदाहरणका लागि करिब १५० किलोमिटर दूरीका लागि २ लाख रुपैयाँ लाग्ने ढुवानी भाडा अब करिब ५०० किलोमिटर दूरी पार गर्नुपर्दा लागत बढ्छ । अहिले नै बजारमा महँगीको दबाब रहेको अवस्थामा आपूर्ति शृङ्खलामा आएको अवरोध र ढुवानी तथा लागत वृद्धिले उपभोक्तालाई थप असर पार्न सक्ने देखिन्छ ।
चाडवार्डमा सामान अभावको जोखिम
चाडपर्वको समयमा माग बढ्ने तर त्यसअनुसार नयाँ सामान नेपाल भित्र्याउन नसकिएमा बजारमा अभाव सिर्जना हुन सक्छ । पराजुलीका अनुसार चीनबाट ठूलो मात्रामा खाद्यान्न आयात नहुने भएकाले चामल, दाल र तेलजस्ता आधारभूत खाद्यवस्तुमा यसको प्रत्यक्ष प्रभाव तुलनात्मक रूपमा कम हुन सक्छ । तर, गैरखाद्य वस्तु, फलफूल, ड्राइफ्रुट्स तथा चाडपर्व लक्षित सामानको आपूर्तिमा समस्या देखिन्छ ।






प्रतिक्रिया दिनुहोस्