काठमाडौं । नेपालमा लघुवित्तका पिता डा हरिहरदेव पन्तको स्मृतिमा स्थापित ‘डा हरिहरदेव पन्त आर्थिक पत्रकारिता पुरस्कार’ यस वर्ष लगानी न्यूज डटकमका सम्पादक आशीष ज्ञवालीलाई प्रदान गरिने भएको छ ।
पन्त फाउन्डेशनद्घारा स्थापना गरिएको उक्त पुरस्कार डा. पन्तको ११औं वार्षिक पुण्य स्मृति दिवशका अवसरमा भदौ २१ गते आइतबार सम्पादक ज्ञवालीलाई प्रदान गरिने बताइएको छ ।
जीवनका अधिकांश सयम देशमा आर्थिक विकास तथा गरिबी न्यूनीकरण गर्नका लागि समर्पित लघुवित्तका प्रथम प्रवद्र्धक डा. हरिहरदेव पन्तको स्मृतिमा उक्त पुरस्कार स्थापना गरिएको थियो । फाउन्डेशनले प्रत्येक वर्ष एक जना उत्कृष्ट आर्थिक पत्रकार वा संघ, संस्थालाई आर्थिक पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ ।
यसअघि उक्त पुरस्कार नेपाल आर्थिक पत्रकार समाज (सेजन) पूर्वअध्यक्ष गोकर्ण अवस्थी तथा सदस्य विष्णु बेल्वासे, एलिजा उप्रेती, ममता थापा, बिजय राज खनाल, यज्ञ बञ्जाडे, कृष्ण रिजाल र यादव हुमागाई लाई प्रदान गरिएको थियो ।
पत्रकारिता मार्फत देशको सर्वाङ्गीण विकासका साथै आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्याउने विभिन्न पत्रपत्रिका, रेडियो, टेलिभिजन, अनलाइन समाचार तथा पत्रकारलाई सम्मान गरिदै आएको फाउन्डेसनले जनाएको छ ।
पुरस्कारको राशी १ लाख रुपैयाँको रहेको छ । फाउण्डेशनले २०७४ साल देखि आर्थिक पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ ।






प्रतिक्रिया दिनुहोस्