काठमाडौं । भदौ १० गते रसुवा जिल्लाको भोटेकोशीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, मकवानपुर र चितवनमा ठूलो जनधनको क्षति भएको छ ।
बाढीबाट बैंक तथा वित्तीय क्षेत्रसमेत प्रभावित भएको छ भने लघुवित्त वित्तीय संस्थाहरूले पनि ठूलो भौतिक तथा वित्तीय क्षति व्यहोर्नुपरेको छ ।
नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष रामबहादुर यादवका अनुसार बाढी प्रभावित क्षेत्रमा ३७ लघुवित्त वित्तीय संस्थाका शाखा रहेका छन् । त्यसमध्ये १३ वटा शाखा प्रभावित भएका छन् । उक्त स्थानमा रहेका ७ वटा शाखा पूर्णरूपमा क्षतिग्रस्त भएका छन् ।
बाढीका कारण प्रभावित क्षेत्रमा लघुवित्त संस्थाले प्रवाह गरेको करिब ५ अर्ब रुपैयाँ बराबरको कर्जा प्रभावित भएको यादवले बताए । यद्यपि, क्षतिको वास्तविक विवरण भने अझै संकलनकै क्रममा रहेको उनले जानकारी दिए ।
बाढीबाट लघुवित्तका करिब ३० हजार ग्राहक प्रभावित भएको प्रारम्भिक विवरण छ । बाढीका कारण लघुवित्त संस्थाका ६ जना कर्मचारीसमेत सम्पर्कविहीन रहेको उनले बताए । प्रारम्भिक विवरणअनुसार स्वावलम्बन लघुवित्तका दुई जना, एनएमबी माइक्रोफाइनान्सका दुई जना र सामुदायिक लघुवित्तका दुई जना कर्मचारी सम्पर्कविहीन छन् ।
त्यस्तै, बाढीबाट केही कर्मचारीका परिवारका सदस्यसमेत प्रभावित भएका छन् । प्रभावित ग्राहकको मृत्यु, घरबारविहीन परिवारको संख्या तथा अन्य भौतिक क्षतिको यकिन विवरण संकलन हुन बाँकी रहेको संघले जनाएको छ ।
अध्यक्ष यादवका अनुसार अहिले लघुवित्त संस्थाहरूको प्राथमिकता प्रभावित ग्राहकलाई तत्काल राहत उपलब्ध गराउनु रहेको छ । प्रभावित क्षेत्रमा खाद्यान्न, लत्ताकपडा तथा आवश्यकताअनुसार नगद सहयोग उपलब्ध गराउने काम भइरहेको उनले बताए ।
व्यक्तिगत प्रयासले मात्र राहत पर्याप्त नहुने अवस्था देखिएमा सबै लघुवित्त संस्थाहरूको संयुक्त पहलमा प्रभावित ग्राहकलाई राहत उपलब्ध गराउने विषयमा समेत छलफल भइरहेको यादवले जानकारी दिए ।
बाढीबाट स्वावलम्बन लघुवित्त, एनएमबी माइक्रोफाइनान्स र सामुदायिक लघुवित्तका शाखा तथा कर्मचारी धेरै प्रभावित भएका छन् । यसैगरी हिमालयन लघुवित्त र एनआईसी एशिया लघुवित्तका शाखासमेत प्रभावित भएको प्रारम्भिक विवरणमा उल्लेख छ ।






प्रतिक्रिया दिनुहोस्