Skip to content

बाढी प्रभावित क्षेत्रका लघुवित्तका शाखा राष्ट्र बैंकको पूर्वस्वीकृतिबिनै स्थानान्तरण गर्न सकिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार लघुवित्त वित्तीय संस्थाका लागि नयाँ व्यवस्था जारी गरेको छ । भदौ १० गते आएको बाढीका कारण प्रभावित लघुवित्त वित्तीय संस्थालाई सेवा सञ्चालन गर्न सहज बनाउने उद्देश्यले राष्ट्र बैंकले शाखा तथा कार्यालय स्थानान्तरण गर्न सहज व्यवस्था गरेको हो।

नेपाल राष्ट्र बैंकले संशोधन गरेको व्यवस्थाअनुसार भदौ १० गते आएको प्राकृतिक विपद्का कारण रसुवालगायत प्रभावित क्षेत्रमा क्षति पुगेका वा सञ्चालन गर्न असहज भएका इजाजतपत्रप्राप्त लघुवित्त वित्तीय संस्थाका शाखा तथा कार्यालयले सेवा सुचारु गर्ने प्रयोजनका लागि राष्ट्र बैंकको पूर्वस्वीकृति लिनुपर्ने छैन।

सम्बन्धित लघुवित्त वित्तीय संस्थाले आफ्नो आवश्यकता र अवस्थाअनुसार त्यस्ता शाखा वा कार्यालयलाई अन्य स्थानमा स्थानान्तरण गर्न वा नजिकको अर्को शाखामा समायोजन गर्न सक्नेछन्।

यसरी शाखा स्थानान्तरण वा समायोजन गरेपछि भने सम्बन्धित संस्थाले नेपाल राष्ट्र बैंकलाई जानकारी गराउनुपर्नेछ। संशोधित व्यवस्थाअनुसार शाखा स्थानान्तरण वा समायोजन भएको सात दिनभित्र राष्ट्र बैंकलाई जानकारी दिनुपर्ने व्यवस्था गरिएको छ।

प्राकृतिक विपद्का कारण प्रभावित क्षेत्रमा लघुवित्त संस्थाको सेवा प्रवाहमा आएको अवरोध हटाउँदै सेवाग्राहीलाई वित्तीय सेवा निरन्तर उपलब्ध गराउन यस्तो व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T