Skip to content

होटल व्यवसायीलाई मन्त्री यादवको आश्वासनः ग्यास आपूर्तिमा सहजीकरण गरेर सिलिन्डरको तौल बढाउँछौँ

काठमाडौं । उद्योगमन्त्री गौरी यादवले होटल व्यवसायीका लागि ग्यास आपूर्ति सहज बनाउन सरकार तयार रहेको बताउँदै आवश्यक सहकार्यका लागि आग्रह गरेकी छन्।

बाढीका कारण पछिल्ला केही दिनदेखि काठमाडौं उपत्यकासहित बागमती प्रदेशका अधिकांश जिल्लामा ग्यास आपूर्ति प्रभावित भएपछि मन्त्रालयमा होटल व्यवसायीसँग छलफल गर्दै मन्त्री यादवले उपभोक्तालाई पहिलो प्राथमिकतामा राखेर आपूर्ति व्यवस्था सहज बनाउन सबै पक्षले सहयोग गर्नुपर्ने बताइन्।

कृष्णभीरमा बाढीका कारण सडक अवरुद्ध हुँदा ग्यास आयात तथा ढुवानी प्रभावित भएको अवस्थामा होटल व्यवसायीले आवश्यक ग्यास आफैं आयात गर्न चाहे त्यसका लागि सुरक्षा तथा अन्य आवश्यक सहजीकरण गर्न सरकार तयार रहेको मन्त्री यादवले बताइन्।

उनले होटल तथा व्यावसायिक प्रयोजन र घरायसी प्रयोजनका लागि छुट्टाछुट्टै ग्यास सिलिन्डरको व्यवस्था गर्न मन्त्रालय र नेपाल आयल निगमले काम अघि बढाइसकेको जानकारी दिइन्। होटल व्यवसायमा प्रयोग हुने ग्यास सिलिन्डरको तौल बढाउने प्रस्तावसमेत अघि बढाइएको उनको भनाइ थियो।

मन्त्री यादवले होटल व्यवसाय बन्द गराउने सरकारको कुनै उद्देश्य नरहेको स्पष्ट पार्दै अर्थतन्त्र र पर्यटन क्षेत्रलाई चलायमान बनाउन होटल व्यवसायीको महत्वपूर्ण भूमिका रहेको बताइन्। अहिलेको अवस्थामा भने ग्यास आपूर्तिलाई सहज बनाउन सबै पक्षले सहयोग गर्नुपर्नेमा उनले जोड दिइन्।

छलफलमा नेपाल आयल निगमका महाप्रबन्धक नागेन्द्र शाहले ग्यास आयात तथा ढुवानी सहज बनाउन होटल व्यवसायीलाई आवश्यक सवारीसाधनको व्यवस्थासहित ढुवानीमा सहयोग गर्न आग्रह गरे।

शाहले पछिल्लो अवस्थाका कारण कतिपय उपभोक्ताले लामो समयसम्म ग्यास नपाएको जानकारी आएको भन्दै यस्तो समस्या दोहोरिन नदिन व्यवसायीलाई समेत सहजीकरण गर्न आग्रह गरे। होटल प्रयोजनका लागि प्रयोग हुने ग्यास सिलिन्डरको तौल बढाउने विषयमा पनि थप छलफल आवश्यक रहेको उनले बताए।

भारतबाट आयात हुने ग्यासमा मात्रै निर्भर रहनुपर्ने अवस्था अन्त्य गर्न विद्युत् ऊर्जाको प्रयोग बढाउनुपर्नेमा पनि शाहले जोड दिए। होटल व्यवसायमा ग्यासको विकल्पका रूपमा विद्युतीय चुलोको प्रयोग बढाउन उनले आग्रह गरे।

होटल संघ नेपालका केन्द्रीय अध्यक्ष विनायक शाहले भने बढी रकम तिरेपछि मात्रै ग्यास पाउने अवस्था रहेको भन्दै ग्यासमा कालोबजारी भइरहेको गुनासो गरे।

उनले होटल व्यवसायी ग्यासको विकल्पका रूपमा विद्युतीय चुलोतर्फ जान तयार रहेको बताए। तर होटल व्यवसायलाई उद्योगको रूपमा नहेरी महँगो विद्युत् महसुलमा राखिएको भन्दै होटललाई पनि उद्योगसरह सहुलियत दरमा विद्युत् उपलब्ध गराउन राज्यसँग आग्रह गरे।

होटल प्रयोजनका लागि ग्यास सिलिन्डरको तौल १९ केजी बनाउने विषयमा व्यवस्थापन पक्षलाई व्यवस्थित बनाएर अघि बढे आफूहरूको साथ रहने अध्यक्ष शाहले बताए।

सरकारले घरायसी र व्यावसायिक प्रयोजनका लागि छुट्टाछुट्टै ग्यास सिलिन्डरको व्यवस्था गर्न थालेको भन्दै मन्त्री यादवले ग्यास आपूर्ति प्रणालीलाई थप व्यवस्थित बनाउने प्रतिबद्धता जनाइन्।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T