Skip to content

जेनजी आन्दोलनको कारण खस्कियो भाटभटेनीको व्यवसायः ९ अर्बभन्दा धेरैको क्षति, बीमा कम्पनीले दिएनन् दाबी भुक्तानी

काठमाडौं । गत भदौ २३ र२४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको तोडफोड तथा आगजनीका कारण भाटभटेनी सुपरमार्केट एन्ड डिपार्टमेन्टल स्टोरको व्यवसायमा ठूलो धक्का पुगेको छ । आन्दोलनका कारण कम्पनीको व्यापारमा ठूलो गिरावट आएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार सन् अघिल्लो आर्थिक वर्ष २०२५ मा ३४ अर्ब १५ करोड ६० लाख रुपैयाँ रहेको कम्पनीको व्यापार गत आवसम्म आउँदा घटेर २७ अर्ब ४७ करोड ६० लाख रुपैयाँमा सीमित भएको छ । एक वर्षमै कम्पनीको कारोबार ६ अर्ब ६८ करोड रुपैयाँभन्दा बढीले घटेको हो ।

यसअघि कम्पनीले सन् २०२४ मा ३० अर्ब ६२ करोड रुपैयाँ, सन् २०२३ मा २९ अर्ब ७९ करोड ४० लाख रुपैयाँ र सन् २०२२ मा २६ अर्ब ८८ करोड ६० लाख रुपैयाँको कारोबार गरेको थियो । पछिल्ला वर्षमा निरन्तर बढिरहेको कारोबारमा जेनजी आन्दोलनले ब्रेक लगाएको छ ।

आन्दोलनका क्रममा भाटभटेनीका २७ वटा स्टोरमध्ये ११ वटा स्टोर र एउटा गोदाममा पूर्ण क्षति पुगेको थियो । कुल १२ वटा स्टोरमा क्षति पुगेकामा हाल ४ वटा स्टोर पुनर्निर्माणको क्रममा रहेका कम्पनीले जानकारी दिएको छ । क्षतिका कारण केही शाखा अस्थायी रूपमा बन्द हुँदा कारोबारमा प्रत्यक्ष असर परेको कम्पनीले जानकारी दिएको छ ।

आन्दोलनका क्रममा कम्पनीको करिब ९ अर्ब रुपैयाँ बराबरको सम्पत्तिमा क्षति पुगेको थियो । त्यसमध्ये करिब ६ अर्ब रुपैयाँको मौज्दात र ३ अर्ब रुपैयाँ बराबरको सम्पत्तिमा क्षति भएको थियो ।

क्षतिपछि कम्पनीले बीमा दाबी गरे पनि त्यसको पूर्ण भुक्तानी अझै प्राप्त गर्न सकेको छैन । कम्पनीले मौज्दात क्षतिसम्बन्धी दाबीको करिब ३८ प्रतिशत र सम्पत्ति क्षतिसम्बन्धी दाबीको करिब ६ प्रतिशत रकम मात्र अग्रिम भुक्तानीका रूपमा प्राप्त गरेको छ । बीमा दाबीको बाँकी रकम प्राप्त हुन नसक्दा पुनर्निर्माण तथा व्यवसाय पुनः सञ्चालनमा समेत दबाब परेको कम्पनीले जानकारी दिएको छ ।

भाटभटेनीले पछिल्ला वर्षमा शाखा विस्तारका लागि ठूलो पुँजीगत खर्च गर्दै आएको थियो । सन् २०२५ देखि ऋणको भुक्तानी सुरु भएपछि कम्पनीको कर्जा सेवा क्षमतामा दबाब देखिएको थियो । तर, गत आवमा कम्पनीले दीर्घकालीन ऋण पुनर्संरचना गरी सावाँ भुक्तानी दुई वर्षका लागि स्थगित गरेको छ ।

पुनर्निर्माणका लागि थप ऋण लिए पनि कम्पनीको गियरिङ अनुपात १.५ गुणामा सीमित छ । सन् २०२४ मा यस्तो अनुपात १.८ गुणा थियो । यसले कम्पनीको ऋणमा निर्भरता केही घटेको देखाउँछ । कम्पनीले सहायक तथा सम्बद्ध कम्पनीमा १ अर्ब ३३ करोड ९० लाख रुपैयाँ लगानी गरेको छ । उक्त लगानी कम्पनीको कुल नेटवर्थको करिब १३ प्रतिशत हो ।

लिज दायित्वसमेत समावेश गर्दा कम्पनीको एड्जस्टेड गियरिङ अनुपात २.१ गुणा रहेको छ भने कुल बाह्य दायित्व तथा ट्यान्जिबल नेटवर्थ अनुपात २.८ गुणा रहेको छ ।

भाटभटेनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि कुल १७ अर्ब २४ करोड ६६ लाख रुपैयाँको रेटिङ गराएको छ । यसमध्ये ९ अर्ब १४ करोड ४९ लाख रुपैयाँ दीर्घकालीन र ८ अर्ब १० करोड १७ लाख रुपैयाँ अल्पकालीन कर्जा रहेको छ ।

रेटिङ एजेन्सी इक्रा नेपालले कम्पनीलाई ‘वाच विथ नेगेटिभ इम्प्लिकेसन’बाट हटाएको छ । कम्पनीको दीर्घकालीन कर्जालाई डबल बी प्लस र अल्पकालीन कर्जालाई ए फोर प्लस रेटिङ दिएको छ ।

भाटभटेनीमा मिनबहादुर गुरुङको करिब ६० प्रतिशत र उनकी श्रीमती सावित्री घले गुरुङको करिब ४० प्रतिशत स्वामित्व रहेको छ । बाँकी हिस्सा परिवारका अन्य सदस्यको सामूहिक स्वामित्वमा रहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T