काठमाडौं । कीर्तिपुरमा बस्ने धर्मराज बुढा आइतबार कलङकीको श्रीकृष्ण ग्यास डिपोमा ग्यास लिनका लागि दिनभर लाईन बसे । उक्त स्थानमा ग्यास बाँड्ने भनेका कारण उनी त्यहाँ ग्यास लिनका लागि लाईनमा बसेका थिए ।
उनीसंगै उक्त ठाउँमा करिब ६०० जनाको लाइन थियो । बिहानदेखी लाईन बसेका उनीहरुमध्ये ४८ जनाले मात्रै ग्यास पाए । बाँकीलाई भोलि आउँनु भन्दै डिपोले हातमा टोकन थमाएर खाली हात फर्कायो ।
भोलि पनि ग्यास पाउने होकि हैन भन्ने निश्चित नभएको उनी बताउँछन् ।
अर्का उपभोक्ता विष्णु खतिवडाले ४ दिनदेखि ग्यासका लागि डिपो धाइरहेको बताए । डिपोमा थोरै मात्रामा ग्यास आउने र वितरण पनि सीमित हुने भएकाले आफू हरेक दिन ग्यास नपाई रित्तै फर्किनुपरेको उनको गुनासो छ ।
डिपोमा ग्यास नपाउनेको लाइन यो एउटा उदारणमात्र हो । बुढा र खतिवडा जस्तै अहिले हजारौं मानिस ग्यासको डिपोमा लाईनमा बसेका छन् । अहिले अधिकांश ग्यास डिपोहरुमा उपभोक्ताको लाईन छ । उपभोक्ताले एक हप्तादेखि ग्यासको सिलिन्डर लाईनमा राख्दा पनि भरेको ग्यास पाएका छैनन् ।
अमेरिका इरान र इजरायलमा सुरुभएको द्धन्द्धदेखि सुरुभएको ग्यास पाइदैन भन्ने भाष्यको समाधान अहिलेसम्म पनि पूर्ण रुपमा समाधान हुन सकेको छैन । तर, यसबिचमा सरकारले भने मागभन्दा धेरै ग्यास आयात भएको दावी गरिरेको थियो ।
भदौ १० गतेपछि भने ग्यास अभावको नयाँ अध्याय सुरु भएको छ । रसुवाको भोटेकोशीमा आएको बाढीको कारण कृष्णभिरमा आएको पहिरो लगायतका समस्याको कारण सहज सडक व्यवस्था नहुँदा हाल बजारमा ग्यास अभाव भएको निगमका महाप्रबन्धक नागेन्द्र शाहले लगानीन्यूजसंग बताए ।
आयल निगमका अनुसार भदौ १८, १९ र २० गते गरेर काठमाडौं उपत्यकामा ८७ हजार ८७७ सिलिन्डर ग्यास भित्र्याएको उल्लेख गरेको छ । निगमले आइतबार प्रेस विज्ञप्ती जारी गर्दै पृथ्वीराजमार्गको कृष्णभीर खण्डमा पहिरो गएर सडक अवरुद्ध भएपछि पनि काठमाडौंमा एलपी ग्यासको आपूर्ति नरोकिएको र बजारमा ग्यासको अभाव नभएको जानकारी दिएको छ ।
नेपाल आयल निगमले वैकल्पिक मार्ग प्रयोग गरी तराईका विभिन्न उद्योगबाट ग्यास रिफिल गरेर काठमाडौं ल्याउने व्यवस्था मिलाएपछि तीन दिनमा ८७ हजार ८७७ सिलिण्डर ग्यास काठमाडौं भित्रिएको जानकारी दिएको छ । निगमका अनुसार भदौ १८ गते २४ हजार ४९४ सिलिण्डर, भदौ १९ गते ३४ हजार १३४ सिलिण्डर र भदौ २० गते २९ हजार २४९ सिलिण्डर काठमाडौं ल्याइएको हो ।
कृष्णभीर खण्डको सडक अवरुद्ध भएपछि काठमाडौं, धादिङ र काभ्रेपलाञ्चोकमा रहेका ग्यास उद्योगका सिलिण्डरहरू बारा, पर्सा, मकवानपुर, चितवन, नवलपरासी, धनुषा तथा महोत्तरीमा रहेका उद्योगमा रिफिल गरी वैकल्पिक मार्गबाट काठमाडौं ल्याउने काम भइरहेको निगमको शाह बताउँछन् ।
तीन दिनमा सबैभन्दा धेरै ग्यास भदौ १९ गते काठमाडौं भित्रिएको छ । उक्त दिन मात्रै ३४ हजार १३४ सिलिण्डर ल्याइएको थियो । निगमका अनुसार कृष्णभीर खण्डको सडक नियमित सञ्चालनमा नआएसम्म यही वैकल्पिक प्रक्रियाबाट एलपी ग्यास ल्याएर बिक्री–वितरण गर्ने व्यवस्था निरन्तर रहनेछ । यसरी सडक अवरोधका कारण काठमाडौंमा ग्यासको आपूर्ति प्रभावित हुन नदिन निगमले तराईका उद्योग र वैकल्पिक सडकमार्ग प्रयोग गरेर आपूर्ति व्यवस्थापन गरिरहेको शाहले बताए ।
निगममा महाप्रबन्धक शाहका अनुसार हाल उपत्यकामा दैकिन ४० हजार सिलिन्डर ग्यासको माग रहेको छ । मागभन्दा १० हजार सिलिन्डर कम ग्यास काठमाडौं छिरेको छ । ‘कृष्ण भिरमा गएको पहिरोको कारण बाटो अवरुद्ध भएको छ । जसको कारण काठमाडौंमा ग्यासको आपूर्ति सहज हुन नसकेको हो । ’ उनी भन्छन्, ‘बाटो सहज हुने वित्तिकै माग अनुसारको ग्यास आपूर्ती हुन्छ । अहिले आत्तिएर ग्यास स्टोर गर्न नलाग्नुस । ’
उपभोक्ताले आवश्यकताभन्दा धेरै ग्यास स्टोर गरको कारण बजारमा आवश्यक हुनेले ग्यास पाउँन नसकेको उनले बताए । ‘नेपालमा १६ वटा पलान्टहरु काठमाडौं भ्यालिमा रहेको थियो । काठमाडौंबाट आपूर्ति भएका अधिकांश सप्लायर्समा कृष्णभिरको पहिरोको कारण ग्यास आउन सकेको छैन ।’ शाह भन्छन्, ‘बुलेटमा ग्यास आउन सकेको छैन । एउटा बुलेट काठमाडौं आउनु भनेको १ हजार २५० सिलिन्डर ग्यास आउनु हो ।’
यसरी बुलेटमा ग्यास ल्याउन नसकेर यहाँबाट उता खाली सिलिन्डर पठाएर उताबाट भरेको सिलिन्डर ल्याउनु पर्ने अवस्थाले माग अनुसार ग्यास ल्याउन नसकेको उनले बताए ।
हाल ग्यास ल्याउने गरेको हेटौंडा लगायतका बाटोमा पनि लामो सवारी जामको कारण बजारमा माग अनुसारको ग्यास आउन समस्या रहेको उनले बताए । अहिले आधी घण्टाको बाटो १४–१५ घण्टा लाग्ने भएको कारण पनि बजारमा समस्या भएको उनले बताए ।
‘यस्तो अप्ठारो अवस्थामा पनि हामीले ३ दीनमा करिब ८८ हजार सिलिन्डर ग्यास ल्याउन सफल भएका छौं । यो नै हाम्रो लागि खुशिको कुरा हो । हामीले सोच्या भन्दा बढि आएको छ ।’ शाह भन्छन् । आयल निगक श्रोतका अनुसार अहिलेको समयमा ग्यासको लाईन बस्नुभन्दा विद्युतलाई विकल्प बनाउनु पर्ने उचित समय हो ।






प्रतिक्रिया दिनुहोस्