काठमाडौं । भोटेकोशी क्षेत्रमा आएको बाढीका कारण विभिन्न जलविद्युत् आयोजना तथा संरचनामा कार्यरत ८ सयभन्दा बढी व्यक्ति अझै सम्पर्कविहीन रहेका छन् । सम्पर्कविहीनमध्ये नेपाल विद्युत् प्राधिकरणका ४७ जना कर्मचारी रहेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले बताए ।
बुधबार प्रतिनिधि सभाको बैठकमा उनले माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा बाढी आउनुअघि १ हजार ४३३ जना कार्यरत रहेको जानकारी दिए । त्यसमध्ये ९५५ जनाको सकुशल उद्धार तथा केही व्यक्ति आफैँ सम्पर्कमा आए पनि ४३९ जना अझै सम्पर्कविहीन रहेको उनले बताए ।
बाढी आएको १२औँ दिनमा सो आयोजनाबाट एक चिनियाँ नागरिकको सकुशल उद्धार गरिएको थियो । आयोजनाबाट हालसम्म ३९ वटा शव फेला परिसकेको छ ।
त्यस्तै, माथिल्लो त्रिशूली–३ ‘ए’ बाट ३९ जना सम्पर्कविहीन छन् । निरन्तर खोज तथा उद्धारका क्रममा बाढी आएको १०औँ दिनमा कर्मचारी सञ्जय साह र कविर महर्जनको सकुशल उद्धार गरिएको थियो। उक्त आयोजनाबाट एक जनाको शव फेला परेको छ ।
माथिल्लो त्रिशूली–३ ‘बी’ बाट १७८ जना, रसुवागढी जलविद्युत् आयोजनाबाट ९३ जना, मैलुङ खोला जलविद्युत् आयोजनाबाट ७ जना र रसुवा–भोटेकोशी जलविद्युत् आयोजनाबाट ३ जना सम्पर्कविहीन रहेको विवरण छ ।
यसैगरी लाङटाङ खोला जलविद्युत् आयोजनाबाट ३९ जना सम्पर्कविहीन छन् । सो आयोजनाबाट १९ जनाको सकुशल उद्धार गरिएको छ भने २ वटा शव निकालिएको छ । चिलिमे जलविद्युत् केन्द्रको विद्युत् गृहमा खोज तथा उद्धारका क्रममा ५ जना कर्मचारीको शव फेला परेको छ भने अझै एक जना सम्पर्कविहीन छन् ।
त्यस्तै, मिडिल त्रिशूली गंगा जलविद्युत् आयोजनाबाट २ जना, त्रिशूली जलविद्युत् केन्द्रबाट ३ जना तथा देवीघाट जलविद्युत् केन्द्र, त्रिशूली–३ ‘बी’ हब, रसुवा वितरण केन्द्र र चिलिमे–त्रिशूली प्रसारण लाइनमा कार्यरत कर्मचारीसमेत सम्पर्कविहीन रहेका थिए ।








प्रतिक्रिया दिनुहोस्