काठमाडौं । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा नेपालको वस्तु आयात ३१.५८ प्रतिशतले बढ्दा निर्यात भने ६१.८६ प्रतिशतले वृद्धि भएको छ । आयातको तुलनामा निर्यातको वृद्धिदर उच्च रहे पनि व्यापार घाटा भने ३ खर्ब २४ अर्ब ९३ करोड रुपैयाँभन्दा बढी पुगेको छ ।
भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको भदौसम्ममा ४ खर्ब १ अर्ब ५१ करोड ८९ लाख ८३ हजार रुपैयाँ बराबरको वस्तु तथा सामान आयात भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा ३ खर्ब ५ अर्ब १५ करोड ५० लाख ९९ हजार रुपैयाँ बराबरको वस्तु आयात भएको थियो ।
यस्तै, चालु आर्थिक वर्षको पहिलो दुई महिनामा ७६ अर्ब ५८ करोड ७५ लाख ३९ हजार रुपैयाँ बराबरको वस्तु तथा सामान विदेशी मुलुकमा निर्यात भएको छ । गत आर्थिक वर्षको भदौसम्म ४७ अर्ब ३१ करोड ७६ लाख ६३ हजार रुपैयाँ बराबरको वस्तु निर्यात भएको थियो । यससँगै निर्यातमा ६१.८६ प्रतिशतको वृद्धि भएको हो ।
आयातको तुलनामा निर्यातको वृद्धिदर उच्च भए पनि कुल व्यापारमा आयातको हिस्सा ठूलो रहेकाले व्यापार घाटा भने बढेको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको भदौसम्म नेपालको व्यापार घाटा २६.०२ प्रतिशतले बढेर ३ खर्ब २४ अर्ब ९३ करोड १४ लाख ४३ हजार रुपैयाँ पुगेको छ ।
गत आर्थिक वर्षको सोही अवधिमा नेपालको व्यापार घाटा २ खर्ब ५७ अर्ब ८३ करोड ७४ लाख ३६ हजार रुपैयाँ रहेको थियो ।








प्रतिक्रिया दिनुहोस्